साप्ताहिक संवाददाता
दीपिका प्रसाईं/अभिनेत्री
झिलीमिली
मलाई तिहारको झिलीमिली निकै रमाइलो लाग्छ । धनगढीमा तिहार मनाउने क्रममा हामी आफ्नो घर झिलीमिली पारेर गाउँको झिलीमिली हेर्न निस्कन्थ्यौं । अघिल्लो वर्ष काठमाडौंमा रहँदा पनि यहाँको झिलीमिली उज्यालो वातावरण हेर्न घरबाहिर निस्किएका थियौं । काठमाडौंको झिलीमिली मलाई निकै सुन्दर लाग्छ ।
देउसी–भैलो
मलाई देउसी, भैलो निकै मन पर्छ । धनगढी घरमा हामी परिवारका सदस्यहरू मिलेर देउसी–भैलो खेल्छौं । काठमाडौंमा चाहिँ मिल्ने साथी सर्कल नभएकाले खासै खेलिँदैन । अहिले देउसी–भैलो रमाइलोका लागि खेलिन्छ । बाल्यकालमा चाहिँ देउसी–भैलोबाट उठेको रकमबाट पिकनिक गइन्थ्यो ।
सेलरोटी
मलाई तिहारमा पकाइएको सेलरोटी असाध्यै मन पर्छ । यो चाडमा चिल्लो पनि खासै बारिन्न । तिहारमा सेलरोटी तथा अनारसाको स्वाद अन्य समयको फन्दा फरक लाग्छ । घरमा ममीले बनाएको सेलरोटी निकै मीठो लाग्छ ।
रंगोली
लक्ष्मीपूजाको दिन घरमा बनाइने रंगोली मलाई मन पर्ने अर्को पक्ष हो । मलाई अलिअलि मात्र रंगोली बनाउन आउँछ । घरमा रहँदा आमा तथा साथीभाइले रंगोली बनाउन सघाउँछन् । रंगोलीमा प्रयोग गरिने विभिन्न रंग मनमोहक मात्र देखिँदैनन्, ती रंगले विभिन्न भाव पनि प्रकट गरिरहेका हुन्छन् ।
भाइटीका
भाइटीकालाई तिहारको प्रमुख दिन मानिन्छ । मेरो भाइ अस्ट्रेलियामा भएकाले अघिल्ला दुई वर्षझैं यो वर्ष पनि भाइटीका लगाउन पाउँदिन । यो दिन मलाई नरमाइलो लाग्छ । भाइबाहेक अरूलाई भाइटीका नलगाउने भएकाले पनि मलाई केही खल्लो लाग्छ । यद्यपि घरमा गेटटुगेदर गरिने भएकाले त्यो खल्लोपन केही हदसम्म घट्छ ।