
रोचक एवं घोचक किसिमका हास्यव्यंग्य प्रस्तुतिका लागि चिनिने सिस्नुपानीले तिहारको माहौलमा आफूलाई फरक रूपले प्रस्तुत गर्दै आएको छ । फरक यस अर्थमा कि तिहारको यो वातावरणमा सिस्नुपानीले प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, राजनीतिक दलका नेतादेखि सर्वसाधारणलाई एकै ठाउँ जम्मा पारेर मनोरञ्जक प्रस्तुति दिने गरेको छ ।
तिहारको देउसी–भैलो र सिस्नुपानी नेपाल पर्याय हुन् भन्दा फरक नपर्ला । रोचक एवं घोचक किसिमका हास्यव्यंग्य प्रस्तुतिका लागि चिनिने सिस्नुपानीले तिहारको माहौलमा आफूलाई फरक रूपले प्रस्तुत गर्दै आएको छ । फरक यस अर्थमा कि तिहारको यो वातावरणमा सिस्नुपानीले प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, राजनीतिक दलका नेतादेखि सर्वसाधारणलाई एकै ठाउँ जम्मा पारेर मनोरञ्जक प्रस्तुति दिने गरेको छ । सिस्नुपानी यसपटक पनि विगतको तुलनामा अलिक पृथक रूपमा कार्यक्रम गर्ने तयारी गर्दैछ । यसपटक सिस्नुपानीले २२ औं संस्करणको देउसी–भैलो कार्यक्रम कात्तिक १० गते आइतबार अर्थात् लक्ष्मीपूजाको दिन नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा प्रस्तुत गर्दैछ ।
सिस्नुपानीका संस्थापक तथा वर्तमान अध्यक्ष लक्ष्मण गाम्नागेका अनुसार यसपटकको संस्करणका लागि तीव्र तयारी भैरहेको छ । ‘यसपटक त्यस्तो ठूलो फरकपन केही छैन, तर सांगीतिक प्रस्तुतिमा केही नयाँपन दिँदैछौं । राजनीतिदेखि सामाजिक क्षेत्रमा वर्षभरि भएका घटनालाई प्रहसन, सांस्कृतिक प्रस्तुति, कविता आदिका माध्यमबाट प्रस्तुत गर्दैछौं । हाम्रो कार्यक्रममा प्रधानमन्त्री प्रमुख अतिथिका रूपमा आउदै हुनुहुन्छ’, लक्ष्मण भन्छन्, ‘यो कार्यक्रमका लागि हाम्रो संस्थाका पाँच जना सदस्यले दुई दिन–दुई रात मोबाइल स्विच अफ गरेर बुढानिलकण्ठमा बसी योजना बनाएका थियौं ।’
२०५५ सालमा स्थापना भएको सिस्नुपानी नेपालले त्यसयता नियमित रूपमा तिहारमा देउसी–भैलो कार्यक्रम गर्दै आएको छ । ‘हास्यव्यंग्यका लागि काम गर्ने भनेर संस्था स्थापना गरियो । संस्थाको आर्थिक सवलीकरणको योजना बनाउँदा त्यसको उपयुक्त माध्यम देउसी–भैलो नै सावित भयो । हामी परम्परागत रूपमा अरूले खेल्दै आएजस्तो देउसी–भैलो खेल्दैनौं’, लक्ष्मण खुल्छन्, ‘अरू देउसी–भैलोजस्तो आशिष दिएर पैसा उठाउँदैनौं । केही संस्था, बैंक तथा अन्य निकायमा कार्यक्रमको अवधारणा बुझाएपछि खुसी भएर उनीहरूले सहयोग गर्छन् । हाम्रो कार्यक्रम उच्च किसिमको भएकाले पनि यो उनीहरूका लागि आफ्नो ब्रान्ड प्रवद्र्धन गर्ने उपयुक्त प्लेटफर्म सावित हुन्छ ।’
लक्ष्मणको अनुभवमा अहिलेसम्मको कार्यक्रममा राजनीतिक नेताबाट नकारात्मक प्रतिक्रिया आएको छैन । ‘कहिलेकाहीं अलि बढी गर्नुभयो मात्र भन्छन् । सायद कार्यक्रम मन पराएरै होला, उनीहरू हरेक वर्ष दोहोर्याएर आउँछन्’, लक्ष्मण भन्छन् । लक्ष्मणका अनुसार यसपटक सबै नेपाली परम्परागत संस्कृति झल्कने ‘नेपाल नृत्य’, सांगीतिक वाद्यवादनको प्रस्तुति, कविता, प्यारोडी, समसामयिक विषयमा प्रहसन तथा देउसी–भैलो आदि प्रस्तुत हुनेछन् । सदाझैं यसपटक अर्जुन पोखरेलले कविता, मनोज गजुरेलले प्रहसन तथा यमन श्रेष्ठले गीतमार्फत मनोरञ्जन गराउनेछन् ।
सिस्नुपानीका संस्थापक सदस्य मनोज गजुरेल यसपटक ‘सरप्राइज’ प्याकेज लिएर आउँदैछन् । ‘अघिल्ला प्रहसनको तुलनामा यसपटकको मेरो प्रहसनमा सरप्राइज हुनेछ’, मनोज भन्छन्, ‘मेरो भागमा प्रहसन परेको छ । त्यसकारण प्रहसनलाई कसरी रोचक अनि घोचक बनाउने भन्ने तयारी गरिरहेको छु ।’ मनोजले देउसी–भैलो कार्यक्रममा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’सँग मिलेर गरेका प्रहसन निकै रुचाइने प्रहसनमा पर्छन् । मनोज र सितारामको डोनाल्ड ट्रम्प र शेरबहादुर देउवासम्बन्धी प्रहसन तथा प्रचण्ड र केपी ओली सम्बन्धी प्रहसन चर्चित छन् ।
मनोजझैं संस्थापक सदस्य कवि अर्जुन पराजुली देउसी–भैलो कार्यक्रमका लागि आफूहरूले १५ दिनदेखि तयारी गरिरहेको बताउँछन् । ‘यसपटक पनि एउटा हास्यव्यंग्यात्मक कविता सुनाउँछु । त्यो कविता ७ मिनेटजतिको होला’, अर्जुन भन्छन्, ‘कविता वाचनबाहेक समूहमा रहेर देउसी पनि खेल्छु । मैले हरेक वर्ष कविता नै सुनाउँदै आएको छु । कविता सुनाएपछि नेताहरूले राम्रो भनी प्रतिक्रिया दिन्छन्, तर मलाई नेताको भन्दा जनताको प्रतिक्रिया राम्रो लाग्छ ।’