साप्ताहिक संवाददाता
मिथिला शर्मा, अभिनेत्री
तिहार मलाई मनपर्ने चाड हो । यो पर्वमा काग, कुकुर, गाई तथा गोरुको पूजा गरिन्छ । यो पक्ष मलाई अत्यन्तै मनपर्छ । धनकी देवी लक्ष्मीको पूजाको दिनले मन थप प्रफुल्लित बनाउँछ । यो दिन हरेकका घर–आँगन सिंगारिएका हुन्छन्, सबैतिर झिलिमिली हुन्छ । फूलमाला उनेर मूलढोका तथा झ्यालहरूमा लगाउने, लक्ष्मीपूजा गरिसकेपछि भैलो खेल्ने जस्ता कुरा मलाई असाध्यै रमाइलो लाग्छ । तिहारमा यस्ता कुरा देखेपछि बाल्यकालमा रमाएका क्षण आँखै अघि तेर्सिन्छन् । लक्ष्मीपूजाका दिन आमाले पाठ गर्दै पूजा गर्नुहुन्थ्यो । म र दिदी आमालाई सघाउँथ्यौं ।
आँगनमा गाईको गोबरले लिपेर पालामा बत्ती बाल्दै लक्ष्मी भित्राइन्थ्यो । आमाले पूजा नसकुन्जेल हामी तास, लङ्गुरबुर्जा वा भैलो खेल्न जान पाउँदैनथ्यौं । त्यसैले कतिबेला आमाले पूजा सक्नुहुन्छ र प्रसाद खान पाइन्छ अनि खेल्न कुँदौला भनेर कुरेर बस्थ्यौं । आमाले पूजा गरिसकेपछि अग्रज कलाकार तथा साथीहरूसँग भैलो खेल्न हिँडिन्थ्यो । म सानैदेखि कलाकारितामा भएकाले देउसी–भैलोको आनन्द प्रशस्तै लिएकी छु ।
गोपाल योञ्जन, कल्याण शेरचन, पूर्ण नेपाली, बुद्धि परियारका साथै साथी शशि, विमला, सुवर्ण पोखरेल आदिसँग भैलो खेलेर रमाइलो गरिन्थ्यो । बाल्यकालमा तिहारको सबै काम आमाले गर्नुहुन्थ्यो जसले गर्दा खुला रूपमा देउसी–भैलो खेल्न हिँडिन्थ्यो, तर अहिले आफूमाथि जिम्मेवारी थपिएपछि भने सबै काम आफैंले गर्नुपर्छ । अहिले म पहिले आमाले निर्वाह गर्नुभएको भूमिकामा रहेर लक्ष्मीपूजा गर्छु ।
त्यसमा आमाजति पूर्ण छैन तर, आमा र दिदीले धेरै कुरा सिकाउनुभएको छ । म उहाँहरूले सिकाए अनुसार घर सफा गर्छु, गाई पूजा गर्छु र बेलुका धनकी देवी लक्ष्मीको पूजा गर्छु । लक्ष्मीपूजाको दिन कतिपयले तडकभडकपूर्ण ढंगले पूजा गरिरहेका हुन्छन्, तर मलाई त्यस्तो मनपर्दैन । मैले एकदमै सामान्य तरिकाले लक्ष्मीपूजा सम्पन्न गर्दै आएकी छु ।