साप्ताहिक संवाददाता
दिनेश डिसी, सञ्चारकर्मी
म एक्लो सन्तानका रूपमा जन्मिएकाले दिदीबहिनी नहुँदा तिहार निकै नरमाइलो लाग्थ्यो । सबैले भाइटीका लगाउँथे, तर दिदीबहिनी नभएकाले आफ्नो निधार खाली हुन्थ्यो । अर्को कुरा अरुको घरमा सबैका दिदीबहिनीले घर सफा गर्थे–सिंगार्थे, तर आफ्ना दिदीबहिनी नभएकाले सबै काम आफैंले गर्नुपथ्र्याे । मेरा बुवाका तीन जना दाजुभाइमा तीनै जनाका छोरी थिएनन् । त्यसैले तिहारमा हामी सबैको निधार खाली हुन्थ्यो ।
बुवा–काकाहरूकी एउटी दिदी हुनुहुन्थ्यो । उहाँले नै हामीलाई टीका लगाइदिन थाल्नुभयो । १२ वर्षसम्म तिहारमा खाली रहेको निधारमा फुपूको हातबाट टीका लगाएपछि भाइटीकाका दिन मेरो मुहार अलि हँसिलो भयो । मैले फुपूसँग ५ वर्ष निरन्तर टीका लगाएँ । त्यसपछि अध्ययनको सिलसिलामा काठमाडौं आएँ । कलेज अध्ययनका क्रममा कहिल्यै भाइटीका लगाइएन ।
एकदिन एउटा तिहारमा ममीले मामाघरमा केही सामान पुर्याउन लगाउनुभयो । त्यो दिन भाइटीका थियो । मामाघरमा मामाकी छोरीले भाइ आएछ टीका लगाइदिन्छु भनेर तयारी थाल्नुभयो । ममीले सामान पुर्याएर फर्किहाल भनेकाले खल्तीमा पैसा थिएन । मामाकी छोरीलाई दक्षिणा दिने पैसा नभएपछि मैले टीका लगाउन मानिन । बुवा–ममी विराटनगरमा बैंकमा जागिरे भएकाले म पनि विराटनगरमा थिएँ र मामाघर पनि नजिकै थियो । त्यसपछि घर गएर पैसा लिएर आएँ अनि मामाकी छोरीको हातबाट टीका लगाएर २ सय रुपैयाँ दक्षिणा दिएँ । त्यतिबेला म कक्षा ९ मा अध्ययनरत थिएँ ।
पछि काठमाडौं आएर बसोबास गर्न थालेपछि पनि धेरै भाइटीकामा मेरो निधार खाली रह्यो । करिब १० वर्षअघिको भाइटीकाका दिन सबैलाई भाइटीकाको शुभकामना छ, तर मेरा दिदीबहिनी नभएकाले भाइटीका छैन भनेर फेसबुकमा स्टाटस अपलोड गरें । उक्त स्टाटस गायिका कुन्ती मोक्तान दिदीले हेर्नुभएछ । उहाँले मलाई पहिलेदेखि नै निकै माया गर्नुहुन्थ्यो । उहाँले मलाई तत्कालै फोन गरेर हामी दिदीभाइको सम्बन्ध त छँदै छ, तर तपाईंका दिदीबहिनी हुनुहुन्न रहेछ त्यसैले यसपाली म तपाईंलाई भाइटीका लगाइदिन्छु भन्नुभयो । एउटी चर्चित गायिकाले आफूलाई भाइ बनाएर टीका लगाइदिन्छु भन्दा मैले नाइँ भन्ने ठाउँ थिएन । त्यसपछि मैले निरन्तर उहाँसँगै भाइटीका लगाउँदै आएको छु । यसपटक भने मैले टीका लगाउन नमिल्ने भएकाले हामी भेटघाट र खानपिन मात्र गर्नेछौं ।