चिच्याएर वर माग्दा मनले चिताएको पुग्छ भन्ने धार्मिक विश्वास सत्यवती तालमा छ । चुरे र महाभारत क्षेत्रको सिमानामा पर्ने यहाँ सानो ताल छ । यति मात्र होइन, सत्यवती बाजेबज्यैको मन्दिर पनि छ । तालक्षेत्रमा तीन पटकसम्म कराउँदै वर माग्दै चिच्याएर घुम्ने गरिन्छ । तिनाउ गाउँपालिका–४, कोलडाँडा सत्यवती जंगलको बीच तालमा कात्तिकमै पूर्णिमा परेका बेला बढी भीड लाग्छ ।
यहाँ दिउँसोभन्दा मध्यरातमा भीड लाग्छ । राति चिच्याएर वर माग्दा पाइने जनविश्वास छ । मध्यरातमा जोग परेका बेला सत्यवती बज्यैले मागेको वर पुर्याइदिने भएकाले नै आफू आएको कास्की पोखराबाट आएकी रन्जना क्षेत्रीले बताइन् । ‘मागेको कुरा पुर्याउने भएकाले नै आएका हौं,’ उनले भनिन्— ‘गाउँका धेरै जना आएर मनोकामना पूरा भएको बताएपछि म पनि आएकी हुँ ।’ कसरी वर माग्ने भन्ने अन्योलमा रहेकी उनले चिच्याउन लाज लाग्ने बताइन् ।
मन्दिर व्यवस्थापन समितिका अनुसार विगतमा भन्दा यस वर्ष दुई रात अत्यधिक भीड बढ्यो । सत्यवती ताल र मन्दिर दर्शन गर्न झन्डै तीन घण्टा उकालो चढ्नुपर्छ । मेला भर्न त्यहाँ पुगेकी रुपन्देहीकी विष्णु डुम्रेले रातभर भीड लागेको बताइन् । ‘दिउँसोभन्दा बेलुकी र राति थामिनसक्नु भीड देखियो,’ उनले भनिन्— ‘राति र बिहानसम्मै भीड लाग्दो रहेछ ।’
पूर्णिमा कात्तिकमै परेकाले ‘जोग परेको’ भनिन्छ । मेलामा सत्यवती देवीको मन्दिरमा पूजा र दर्शन गर्ने गरिन्छ । नजिकै रहेको सत्यवती तालमा पाती, बाँसको लिंगो गाडेर पूजा गर्ने चलन छ । ‘ताल र मन्दिर वरपर बिजुली बत्ती जडान, सरसफाइ र बाटोको बीचबीचमा सूचनामूलक बोर्डसमेत राखिएको छ,’ समितिका सचिव लालबहादुर दर्लामीले भने । विगतमा भन्दा यस वर्ष धेरै श्रद्धालुले सत्यवती बज्यैको दर्शन गरेका छन् । आयोजकले ३ लाख अनुमान गरे पनि १ लाख बढी नै श्रद्धालु तालमा पुगेका थिए ।
धार्मिक महत्त्वकै कारण पाल्पा, रुपन्देही, स्याङ्जा गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, दाङ, कास्की, काठमाडौंलगायत भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट समेत यहाँ मेला भर्न आएका थिए । सत्यवती माईले कान नसुन्ने भन्ने जनविश्वास रहेको हुँदा त्यहाँ गई बेस्सरी चिच्याएर वर माग्नुपर्ने स्थानीयको बुझाई छ । चिच्याई–चिच्याई वर मागेर पछाडि नफर्की घरतिर लाग्ने चलन रहेको समितिका पूर्वअध्यक्ष तथा पूजा व्यवस्थापन समितिका संयोजक सुनवीर गाहाले बताए ।
जनुश्रुतिअनुसार कान नसुन्ने एउटी बहिरी वृद्ध आईमाई जगप्रन्चदेखि वाक्क भएर सत्यवती डाँडाको घनघोर जंगलमा तपस्या गरी बस्थिन् । नियम–निष्ठामा अटल वृद्धले एक दिन भगवान्को दया, अनुग्रहले सिद्ध शक्ति प्राप्त गर्न सफल भइन् । वृद्ध शरीर सोही तालमा सदाका लागि विलीन भएर अहिले पनि प्रेतात्मा त्यही तालको सेरोफेरो घुमिरहेको आस्था र जनविश्वास रहेको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । प्रदेश नम्बर ५ का उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लीला गिरीसमेत पूर्णिमाको अवसरमा तालमा पुगेका थिए ।
गाउँपालिकाले यस वर्ष सत्यवती तालमा लाग्ने मेलाको जोग परेकाले पूर्णिमामा स्थानीय बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पनेरुले बताए ।
रुपन्देहीको बुटवल–१४ की केशरा पाण्डेय तीन वर्षपछि तालमा मेला भर्न पुगेकी थिइन् । आफूले चिच्याएर भाकल गरेर पुगेपछि उनले पुन: तालमा आएको बताइन् । उनी तेस्रो पटक यसरी चिच्याएर वर माग्न आएकी हुन् । ‘मैले मागेको वर पूरा भयो अनि पुन: आएकी हुँ,’ उनले भनिन्— ‘पहिलाभन्दा धेरै सहज भए पनि अहिले भीड अत्यधिक बढेको छ ।’ उनले झोलुङ्गे पुल र मोटरबाटो व्यवस्थापनमा ध्यान दिन स्थानीय तह र मन्दिर व्यवस्थापन समितिलाई सुझाव दिइन् । शनिबार, आइतबार र सोमबार तालक्षेत्रमा मध्यरातमा अत्यधिक भीड लाग्यो । दिउँसो सुनसानजस्तै बनेको तालक्षेत्र बेलुकीपखबाट मान्छेको धुइरो लाग्यो ।
पाण्डेय मात्र होइन, गुल्मीका ऋषिराम अर्जेल पनि पहिलो पटक सत्यवती तालको राति लाग्ने मेला भर्न पुगे । उनलाई लागेको थियो, सहज रूपमा मेला भर्न पाइन्छ । सिद्धार्थ राजमार्गको झुम्सा पानी मिलकै भीड छिचोल्न उनलाई हम्मे भयो । तिनाउ खोलामा तालक्षेत्रमा जाने झोलुङ्गे पुल चुँडिएलाजस्तो देखेपछि झुम्साबाट अर्को बाटो रोजे । ‘यति ठूलो भीड लाग्ने भएपछि वैकल्पिक बाटोको पनि व्यवस्थापन गर्नुपर्ने हो,’ सत्यवती तालमा लाग्ने कार्तिके पूर्णिमाको मेला भर्न पुगेका अर्जेलले भने— ‘राति लाग्ने मेलामा यति ठूलो भीड मैले देखेकै थिइनँ ।’
तीन घण्टा उकालो हिँड्नुपरे पनि बाटोमा जाने र आउनेको लस्कर थियो । अधिकांश तराईका बासिन्दा रातभर हिँडेर ताल पुगेका थिए । भारतको गोरखपुर, गोण्डासम्मका श्रद्धालु हिँडेरै सत्यवती पुगेका थिए । सयौंको संख्यामा लाइन लागेर चिच्याउँदै मेला भर्न राजमार्गदेखि दुई घण्टा ठाडै उकालो चढेर आएको वडाध्यक्ष दानबहादुर गाहाले बताए । कोलडाँडा सत्यवती मन्दिर र ताल परिसरमा परम्परागत रूपमा मेला लाग्छ । भाकलअनुसार पूजा गर्ने, बलि चढाउने र परेवा उडाउने गर्छन् ।
भेटी गन्नै ६ दिन
चिच्याएर वर माग्ने सत्यवती तालमा लागेको मेलामा दानपत्रमा भएको पैसा गन्नै ६ दिन लागेको छ । तीन दिनको सत्यवती मेला मेला सञ्चालनबाट यस वर्ष १४ लाख ७८ हजार रुपैयाँ उठेको छ । तीन दिने मेलामा समितिले ५ लाख ११ हजार रुपैयाँ खर्च भएको छ । बाँकी बजेटबाट समितिले ३० प्रतिशत गाउँपालिकालाई दिनुपर्छ । अघिल्ला वर्ष मेलाबाट उठेको रकम सरसफाइ, मर्मत र पुजारी व्यवस्थापनलगायत व्यवस्थापकीय खर्च हुने गरेको समितिले जनाएको छ । ६/७ स्थानमा रहेका दानपात्रमा संकलन भएको रकम निकालेर मिलाउन दैनिक १० जना जनशक्ति परिचालन भएका थिए ।
सत्यवती ताल संरक्षण तथा विकास समितिका अध्यक्ष तिलवीर रानाका अनुसार मन्दिर वरपरको सरसफाइ, प्रसाद संकलन, पैसा मिलाउने लगायतका काममा व्यस्त हुनुपरेको छ । सोही श्रद्धालुले चढाएको रकम संकलन गरी गनिएको समितिका सचिव लालबहादुर दर्लामीले बताए । समितिका सबै पदाधिकारी, सदस्य मिलेर गन्ने काम गर्छन् । अधिकांश श्रद्धालुले दानपात्रमा राखे पनि कतिपयले बाहिर फालेका थिए । तालको वरिपरि सबै स्थानमा पैसा भेटिएको छ ।
स्थानीय र नेपाली सेनाको गोरखदल गणबाट समेत सेनाको टोली गएर सरसफाइ र पैसा संकलन गरेको छ । तालमा पैसा फाल्नेहरूसमेत अधिक हुन्छन् । तालको पैसा निकाल्न सकिएको छैन । ५, १०, २०, ५०, सय, ५ सय र हजारका नोट भेटिएको सचिव दर्लामीले बताए । ‘नोटहरू कच्याककुचुक हुने र अक्षताले भिजेको अवस्थामा भेटिएका छन्,’ उनले भने— ‘कतिपय नोट धोएर सुकाउनुपर्ने हुन्छ ।’
नोट मिलाउन र गन्नका लागि कम्तीमा ६ दिन लाग्छ । यसपटक भेटी बढी उठेको छ । मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष सुनवीर गाहाका अनुसार गत वर्षभन्दा ५ गुणा बढी श्रद्धालु त्यहाँ पुगेका थिए । समितिले पसलहरूबाट समेत भाडा संकलन गर्छ । उसले सरसफाइलगायतको खर्च पनि जोगाएको छ । अघिल्लो वर्षदेखि नेपाली सेनाको गोरखदल गणका सैनिकले गएर सरसफाइ गर्ने गरेको छ । गणका प्रमुख सेनानी सुरज थापाका अनुसार ३० जना सकलदर्जा पुगेर सत्यवती ताल क्षेत्रवरपरको सरसफाइ गरेर फर्किएको छ । ‘ताल, मन्दिरहरूको सरसफाइ र संरक्षणमा हामीले सहयोग गर्दै आएका छौं,’ उनले भने— ‘पैसा गन्न पनि सहयोग माग गरेमा दिन तयार थियौं ।’
गुरुयोजना बन्यो बजेट छैन
पर्यटकीय स्थल सत्यवती तालको गुरुयोजना बनेको छ । गुरुयोजनाअनुसार १० करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ । सत्यवती ताल संरक्षण तथा विकास समितिसँग बजेट १० लाख रुपैयाँ पनि छैन । गाउँपालिकाले बनाएको गुरुयोजनाको अन्तिम रूप समितिका पदाधिकारीले नै देख्न पाएका छैनन् ।
गुरुयोजना तालको सौन्दर्यकरण, विशाल मन्दिर, वरिपरिको बाटो र फूलबारीका साथै विभिन्न स्थानबाट तालमा जाने बाटो बन्नेछ । यस बाहेक वरपरको क्षेत्रलाई पनि सौन्दर्यकरण गर्ने गुरुयोजनामा उल्लेख छ । वर्षभरि पानी अडिने गरी पानीको व्यवस्थापन, तालको बीचमा पनि सानो मन्दिर बनाउने गुरुयोजना छ । वरपरको गाउँलाई होमस्टेको अवधारणा अघि सारेर अहिले १० घरमा होमस्टे सुरु भइसकेको छ । समितिका अध्यक्ष तिलवीर रानाका अनुसार समितिसँग बजेट नभएकाले पनि अहिलेसम्म काम सुरु गर्न सकिएको छैन । ‘गुरुयोजना अघिल्लो वर्ष बनाएको हो,’ उनले भने— ‘केही काम गर्न नसकिने जस्तो लागेर अझै फाइनल गर्न सकिएको छैन ।’