हङकङलाई कर्मथलो बनाएका किरात राईहरुले साकेला उधौली पर्व मनाए । हङकङको अग्लो डाँडाकोरुपमा परिचित ताईमो सानमा पर्वको आयोजना गरिएको थियो । लगभग ७ हजारको हारहारीमा किरात राईहरुको बसोबास रहेको हङकङमा विहानैबाट आफ्नो मौलिक भेषभुषामा सजिएर सहभागीहरु उधौलीमा पुगेका थिए ।
कार्यक्रमका प्रमुख आकर्षक नायक दयाहाङ् राईले हङकङेली नेपालीहरुसँगै साकेला नृत्य गर्दा वातावरण रमाईलो बनेको थियो ।
प्रकृति पुजक किरातीहरुले बैशाख पुर्णिमामा भुमिको पुजा गरि उभौली चाड मनाउँने र हरेक बर्ष बाली भित्राउँने समयमा उधौली पर्व मनाउँदै साकेलालाई विदा गर्छन ।
साकेलामा पुरुषहरुले कालो कोट, दौरा सुरुवाल, नेपाली टोपी महिलाहरुले कम्मरमा पटुकी, छिट्को गुन्यु र गरगहनामा सजिएर हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङचिबुङो डाला, चमर र सिक्कौली सेउली लिएर स्याउला, ढोल, झयाम्टा बजाउदै गोलाकार घेरामा नृत्य गर्ने परम्परा रहेको छ । यसरी प्रकृतिको पुजा गर्दै खुसियाली मनाउदा रोगब्याधी नलाग्ने, बाढिपहिरोको प्रकोप नहुने, सुम्निमा र पारुहाङले सृष्टिको रक्षा गर्ने जनविश्वास रहिआएको छ ।
लिम्बुहरुको चासोक तङ्नाम
लिम्बु समुदायहरुको प्रमुख चाड चासोक तङ्नाम हङकङमा भब्यताका साथ सम्पन्न गरिएको छ । किरात याक्थुम चुम्लुङ हङकङको आयोजनामा मंकिहिलमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपालबाट आएका कलाकारहरु, याक्थुम स्वर समुह, स्थानिय प्रतिभाहरुको प्रस्तुतीसगै मौलिक खाना, भेषभुषा प्रर्दशनी गरिएको थियो ।
लिम्बु जातिहरुले पाकेको पहिलो अन्नबाली आफ्नो कुल देउता तागेरा निङवाभुमाङलाई चढाएर मात्रै खाने परम्परा छ । मंसिर पुर्णिमालाई मौलिक पर्वकारुपमा मान्ने लिम्बु समुदायले यहि परम्परालाई चासोककोरुपमा मान्ने गर्दछन् ।