नेवारी समुदायमा सुकुल भ्वय: भनिने सुकुल भोजलाई महत्वपूर्ण अवसर मानिन्छ। आधुनिक बफे भोजका कारण यो परम्परा हराउँदै गएको छ। विभिन्न चाड तथा जात्राका अवसरमा काठमाडौं उपत्यकाका नेवार बस्तीहरूमा सुकुल भोज आयोजित गरिन्छ। विवाह, ब्रतबन्ध, बेल विवाह, सूर्यदर्शन, जन्म संस्कार, मृत्यु संस्कारजस्ता अवसरमा सुकुल भोज अनिवार्य मानिन्छ। सुकुलमा लस्करै बसेर सालको टपरी वा केराको पातमा चिउरा, गेडागुडी, अचार, मासु, मिठाई, दही, रक्सी आदि खानेकुरा सामूहिक रुपमा खाने चलनलाई नै सुकुल भोज भनिन्छ। यो भोज खाने र ख्वाउनेबीच आत्मीय सम्बन्ध हुन्छ। पराल वा मकैको खोस्टाबाट घरेलु तरिकाले बनाइएको सुकुलमा पलेंटी मारेर सामूहिक रूपमा खाइने सुकुल भोज कतिपयले गाईजात्राका अवसरमा पनि आयोजित गर्छन्।