यसरी तीजका गीतकोे ओइरो लागे पनि तीजको महत्त्व बुझाउने र संस्कृतिको रक्षा गर्ने खालका गीत भने विरलै मात्रामा छन्। बजारमा आएका अधिकांश एल्बमका गीतले तीजको मौलीकतालाई समेट्न नसकेको गुनासो आम संगीतप्रेमीको छ।
एकैपटक यसरी गीतहरू बजारमा आएपछि श्रोताहरू भने दोधारमा छन्। गीतमा नेपालको मौलीक संस्कृति अनि तीज पर्वको महत्त्व झल्काउने भन्दा पनि माया प्रेम अनि उरन्ठेउला विषयवस्तुमा बढी केन्दि्रत भएकाले समेत दर्शक-श्रोताले एल्बम किनेर सुन्न खोजेका छैनन्। गीत बजारमा आएसँगै सबै कलाकार आफ्नो गीतको प्रमोसनका लागि होडबाजी गर्दैछन्।
यो वर्ष बजारमा आएका तीजगीतमा हरिदेवी कोइराला र अम्बिका भण्डारीको 'संसार छोडिगयौ आमा' र 'आऊ नाचौं दिदी-बहिनी', कोमल वलीको 'हल्ला भो शिवजी तिम्रो-मेरो माया-पिरतीको', शान्ति श्री परियारको 'लग्यो नि लग्यो नि मन चोरी', चोलेन्द्र पौडेल र ज्योति लोहनीको 'रातो सारीले', हरि विष्टको 'सम्झना माइतीको', जीवन दाहाल र तारापति सुवेदीको 'भिनाजुको भाइ' र 'माइती घर', पुस्कल शर्माको 'फोटो पत्रीकामा आ'छ', पूजा थापामगरको 'माइती देश', कुमारी गुरुङको 'ओइ लाहुरे', पार्वती जी.सी.को 'दिदी नदुखाउनु मन', लक्ष्मी ढकालको 'सानुमाया', राम्जी पौडेलको 'चर्को लाग्यो घाम', सीता केसीको 'मादलुको तालले', रमिला न्यौपानेको 'आशीर्वाद माग्छु', राजन कार्कीको 'मलाई मन पर्ने प्लस टु पढेकी', सुरेन्द्र गुरुङ र माया गुरुङको 'मेरो जीवनसाथी', घनश्याम रिजालको 'घर शून्य भो', अमृत बरालको 'मोडल बन्ने मन छ', सरिता पौडेलको 'माइत नजाऊ पियारी', गणेश ढकालको 'नाचेर आगै पारिन्छ', गोविन्द प्रसाद कोइरालाको 'एक्लो छोरो म' आदि छन्।
त्यसैगरी निरु सुनारको 'रातो सारी', गायत्री थापा र राजु सुनामको 'वर माग्छु शिवजी', शान्ति सुनारको 'सत्य कसम', सोनाम मगरको 'नाचौं दिदी-बहिनी हो', शान्ता परियारको 'राम्रो केटा पाएमा', श्रीदेवी देवकोटाको 'पिठ्यूँमा कनाइदेऊ न बाई', रेखा शाहको 'रेशमी रातो साडी', जानुका माझीको 'माछो माछो', पशुपति शर्मा र जानकी तरामी मगरको 'साइकल किन्न जाम', भोजराज काफ्लेको 'श्रीमती पोइला गई', खुमन अधिकारी र सरिता श्रेष्ठको 'कति मजा हो', राम्जी खाँड र कृष्ण गुरुङको 'बम भोले', किरणबाबु पुन र टीका पुनको 'डेटिङ मा जाऊँ हामी', सुमन गैरे र राधिका हमालको 'एउटी केटी पाम', पशुपति शर्माको 'घन्काइदेऊ मादलु', शोभा जीसीको 'हरे शिवराम', मीना अधिकारी र सुजन भान्तनाको 'जाँड खाने पोइ', प्रेम घिमिरे र प्रीति घिमिरेको 'जवानीको आगो', विष्णु खतिवडा र पार्वती थापा मगरको 'कालुले नाचेको', कृष्ण अकेली र सरस्वती लामीछानेको 'यसका बूढाको', कृष्ण रानाभाट र कमला पोखरेलको 'मलाई भुतुक्कै पार्यौ', पशुपति शर्मा र टीका पुनको 'मेरो त छोरीले', खुमन अधिकारी र उमा श्रेष्ठको 'मोबाइलको ब्याट्री लो', जानकी पन्थको 'बबाल दामी', लक्षु मल्ल र गंगा जीएमको 'शुभकामना', सुरेन्द्र सुनुवारको 'मेलम्चीको पानी' आदि छन्। यो वर्षमात्र तीजलाई केन्दि्रत गरेर झन्डै ३ सय गीत बजारमा आइसकेका छन् भने यो क्रम अझै रोकिएको छैन।
लोकगायिका एवं प्राज्ञ हरिदेवी कोइराला अहिले आएका गीत तीजका गीत नै नभएको बताउँछिन्। 'विषयवस्तुका हिसाबले, वेशभूषा, शैली, तीजको विशेषताभित्र अहिले आएका गीत समेटिएका छैनन्, मात्र प्रेममय भएका छन्,' कोइरालाले बताइन्। 'विषयवस्तुमा गहनता छैन, विकृति बढी देखियो,' कोइरालाले भनिन्। वर्षभरीमा घटेका घटनालाई समयसापेक्ष गीतमा ढालेर गाउनुपर्नेमा त्यस्तो हुन नसकेको कोइरालाको दुखेसो छ।
यता लोकदोहोरी गीत प्रतिष्ठान नेपालका संरक्षक एवं गायक प्रजापति पराजुली पनि हाल आएका गीत प्रति सन्तुष्ट छैनन्। २०४३ सालमा पोखरामा तीज गीत प्रतियोगिता प्रारम्भ गरेको बताउने पराजुली तीजका गीतमा मौलिकता हराउँदै गएकोमा सबैलाई चिन्ता परेको बताउँछन्। पराजुली भन्छन्, 'पहिलेका गीत र अहिलेको गीतमा नुन र सुनको जस्तै फरक छ। पहिले-पहिले मिडिया नभएकाले मिडियाको काम पनि तीज गीतले गर्ने गरेका थिए'।
तीजको अवसर पारेर नेपालका अधिकांश ठाउँमा विभिन्न संघ-संस्थाले सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछन्। स्वदेश र विदेशमा हुने यस्ता कार्यक्रममा सहभागीता जनाउन केही कलाकारलाई भ्याइनभ्याइ छ। विगतको तुलनामा एल्बमको लगानी बढेपनि प्रतिफल भने शून्य छ। हाल एउटा गीतको रेकर्डिङदेखि म्युजिक भिडियोसम्ममा न्यूनतम १ लाखदेखि अधिकतम ४ लाखसम्म खर्च भए पनि बिक्री भने शून्य जस्तै छ।