नारायणगढ बजारमा गत आइतबार छुट्टै चहपहल थियो। बजारवासीहरू सडकतर्फ नियालिरहेका थिए। घरी पञ्चैबाजा घन्किन्थ्यो त घरी गीतको भाका। कोही धानको बीउ रोप्दै थिए भने कोही सडकमै कोदाली बोकेर बाउसे गर्दै थिए। नारायणी कला मन्दिरले कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको रोपाइँ जात्रामा देखिएको दृश्य थियो त्यो। नेवार समुदायको मौलिक परम्परालाई निरन्तरता दिँदै अघिल्लो वर्षझैं यो वर्ष पनि रोपाइँ जात्रा निकालिएपछि बजारवासीले पनि रमाउने अवसर प्राप्त गरे। बालबालिकादेखि वृद्धवृद्धाहरूसम्म फरक-फरक पोसाकमा सहभागी भएकाले जात्राको रौनक थपिएको थियो।