नयाँ वर्षलाई स्वागत गर्ने अनेकौं तौरतरिका छन्। विभिन्न सांस्कृतिक कार्यक्रम एवं शुभकामना आदान-प्रदान समारोह गरेर नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ। यद्यपि नेपाल संवत् अर्थात् न्हुँ दःय भिन्तुनाअन्तर्गत देशभर बृहत् र्याली आयोजना गर्ने चलन सर्वाधिक लोकप्रिय छ। कार्तिक शुक्ल प्रतिपदाको दिन काठमाडौंलगायत देशभरका विभिन्न स्थानमा यस्तो र्याली आयोजित गरिन्छ। ज्योतिष डा. सुनिल सिटौला नेपाल संवत्का अवसरमा यस्तो प्रचलन सुरु भएको एक दशकमात्र भएको बताउँछन्। सिटौला अनुसार वि.सं. १९६० सम्म आधिकारिक रूपमा प्रयोग गरिँदै आएको नेपाल संवत् त्यसपछि बिस्तारै हराउँदै गएकाले त्यसको प्रवर्द्धनका लागि यो बृहत् कार्यक्रमको आयोजना गर्नुपरेको हो।