लिम्बूलगायत चार किराँतीले आ-आफ्नै शैलीमा सामूहिक रूपमा सार्वजनिक स्थलमा भेला भै तीन दिनसम्म मनाउन थालेका छन् । यो चाडमा चाम्रे, याङबेन (झ्याउ), सिगोले, फिलिङ्गे र फुदोको अचार, कोदोको तोङवा, तीनपाने रक्सी बनाएर खाने चलन छ । यतिबेला पाहुनाको विशेष सेवा-सत्कार गरिन्छ भने चेलीबेटी हुक्वा (आफैले बनाएको शोभित) तथा अन्य प्रकारको चेसुङ (कोसेली) साथ माइती पुग्छन् ।
युवाहरू सार्वजनिक स्थानमा भेला भै परम्परागत जातीय खेल 'पक्लुङ' (छेलो हान्ने खेल) खेल्नुका साथै माछा मार्छन् । सामूहिक रूपमा केलाङ (च्याब्रङ) बजाएर छुई छुई हा सरलाइमा सर भन्दै नाच्छन् । नाता नपर्ने तरुणा-तन्नेरी जातीय पहिरन एवं गहनामा सजिएर एकआपसमा हात समाउँदै मायाप्रीतिका गीतलाई पालामको भाकामा गाउँदै 'यालाङ' (धाननाच) नाच्छन् । चासोक तङनामले सांस्कृतिक, सामाजिक एवं धार्मिक महत्व बोकेकाले जनजीवनमा यसको अविच्छिन्न सम्बन्ध रहिआएको मोरङ राजघाटका लोलिम पोमुले बताए । पुरानो पुस्ताका लिम्बूले आफ्नो संस्कार, संस्कृति नयाँ पुस्तालाई चासोकको माध्यमबाट हस्तान्तरण गर्ने चलन छ ।