चाडपर्वको मौसम प्रारम्भ नहुँदै नेपालमा अटोमोबाइल व्यवसायीहरूले भदौको अन्तिम साता अटो शोको आयोजना गरेका थिए । प्रत्येक वर्ष हुने यस्तो अटो शोमा नयाँ–नयाँ मोडलका गाडी तथा मोटरसाइकलहरू भित्रिन्छन् । दसैं र तिहारको समयमा नयाँ कार र मोटरसाइकल किन्न चाहने ग्राहकहरूलाई ध्यानमा राखेर उक्त अटो शो सम्पन्न गरिएको थियो । अटो शोमा प्रस्तुत गरिएका केही नयाँ मोटरसाइकल :
बजाजका हाइक्लास बाइक
बजाज कम्पनीले तीन नयाँ आकर्षक मोडलका मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले पल्सर २०० सीसीको ‘आरएस’ र ‘एएस’ तथा १५० सीसीको ‘एएस’ स्पोर्टी मोटरसाइकल बजारमा ल्याएको हो । कम्पनीले पल्सर २०० सीसी आरएसको मूल्य ३ लाख ९९ हजार ९ सय रुपैयाँ, पल्सर २०० एएसको २ लाख ८४ हजार ९ सय रुपैयाँ तथा १५० सीसी एएसको मूल्य २ लाख ४९ हजार ९ सय रुपैयाँ तोकेको छ ।
सुजुकीका दुई नयाँ बाइक
सुजुकीले नेपालको बजारमा जिक्सर एसएफ र जिक्सर नेकेड डुअल टोन बाइक सार्वजनिक गरेको छ । अग्रगामी स्टाइल र स्पोर्टी बनावट साथै उल्लेखनीय प्रदर्शन र उत्कृष्ट माइलेज भएको नयाँ जिक्सर एसएफ र जिक्सर नेकेड डुअल टोन सुजुकी बाइकअन्तर्गतका नयाँ बाइक हुन । नयाँ जिक्सर एसएफको १५५ सिसी इन्जिनले १४.६ बिएचपी र १४ एनएम टर्क प्रदान गर्छ । उत्कृष्ट र स्टाइलिस लुकको जिक्सर नेकेड डुअल टोनमा ४ स्ट्रोक, १ सिलिन्डर र १५५ सिसी एयर कुल्ड इन्जिन छ । जिक्सर एसएफको मूल्य २ लाख ७१ हजार ९ सय तथा जिक्सर नेकेड डुअल टोनको मूल्य २ लाख ४९ हजार ९ सय रुपैयाँ छ ।
भेस्पा स्कुटर
इटालियन स्कुटर भेस्पाको उत्पादन पियाजिओ इन्डियाले गर्छ । फरक डिजाइन र अत्याधुनिक प्रविधिका कारण यो स्कुटर निकै लोकप्रिय छ । नेपालमा भेस्पा भिएक्स र भेस्पा एस गरी दुई मोडल उपलब्ध छन् । यी दुवै स्कुटर १२५ सिसीका हुन् । यसमा ३ भल्भ इन्जिन उपलब्ध छ । त्यसैगरी यसमा डिस्क ब्रेक, ट्युबलेस टायर, सिंगल पिस मोनोकक स्टिल बडी र अन्य विभिन्न विशेषताहरू छन् । यी स्कुटरमा सुविधाजनक स्टाइलिस सिट, स्पोर्टी टेल लाइट, स्पोर्टी सस्पेन्सन स्प्रिङ्स, स्पोर्टी डायल आदि उपलब्ध छन् । भेस्पा भिएक्सको मूल्य २ लाख ४९ हजार ९ सय ४६ तथा भेस्पा एसको मूल्य २ लाख ६३ हजार ९ सय ४६ रुपैयाँ छ ।
टीभीएसको बाइक तथा स्कुटर
टीभीएसले नेपाली बजारमा टीभीएस जेस्ट स्कुटरसहित अल न्यू–फिनिक्स र टीभीएस स्टारसिटी प्लस मोटरसाइकल उपलब्ध गराएको छ । टीभीएसको जेस्ट स्कुटरको उचाई ७६० एमएम र तौल साढे ९८ किलोग्राम छ । यसको टर्निङ रेडियस पनि थोरै भएकाले सबै स्थानमा चलाउन सहज हुन्छ । यसले प्रतिलिटर ६२ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसमा सिटमुनि १९ लिटर स्टोरेज क्षमता छ । यसले ११ दशमलव १ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति दिन्छ । एलइडी टेल ल्याम्प, डबल स्टिच्ड सिट, लिफ आकारका मिरर आदि समेत यो स्कुटरमा उपलब्ध छ । यसमा ब्याक लिट मिटर कन्सोल छ । राम्रो लेग ग्रिप कायम राख्न यसमा टेक्स्चर फ्लोर बोर्ड प्रयोग गरिएको छ । टिभिएस जेस्ट स्कुटरको मूल्य १ लाख ५९ हजार ९ सय रुपैयाँ छ ।
अल न्यू–फिनिक्समा १२५ सीसीको इन्जिन छ र यो मोटरसाइकलमा धेरै फिचर भएको कम्पनीको दाबी छ । नयाँ फिनिक्समा एड्भान्स्ड इको थ्रस्ट इन्जिन छ र यसले प्रतिलिटर ६७ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसमा इन्जिनलाई बढी तात्न नदिन स्पोर्टी ट्यांक स्कुपसमेत छ । कम्पनीका अनुसार यसमा सर्भिस रिमाइन्डर सेवा र भेइकल लोकेटर की पनि छ । यसको सहयोगले मोटरसाइकल कहाँ पार्किङ गरिएको छ थाहा पाउन सकिन्छ । यसमा ट्युबलेस टायर छन् । यो मोटरसाइकलको मूल्य १ लाख ७२ हजार ९ सय रुपैयाँ छ ।
टीभीएस स्टार सिटी प्लसमा ११० सिसीको एड्भान्स्ड इको थ्रस्ट इन्जिन छ, जसले उच्च पावर र पिकअपका साथै ८६ किलोमिटर माइलेज दिन्छ । यसमा डिजिटल ओडोमिटर र फ्युल गजसहितको एड्भान्स्ड मिटर कन्सोल छ । डबल स्टिच्ड सिट, बेटर ग्रिपयुक्त टायर, ५ स्टेप एड्जस्टेबल रियर सक एब्जर्बर, सुपर ब्राइट हेडल्याम्प आदि यो मोटरसाइकलका विशेषता हुन् । स्टार सिटी प्लसको मूल्य १ लाख ५७ हजार ९ सय रुपैयाँ छ ।
युएमको स्कुटर
आइएमई अटोमोटिभ्सले युएमको १२५ सिसीको पावरम्याक्स र निट्रोक्स स्कुटरलाई नेपाली बजारमा उपलब्ध गराएको छ । यसमा ब्लाइन्ड स्पट कोलिसन, एलइडी ३६०, एएफएस, युएसबी पोर्ट आदि उपलब्ध छन् । यसमा युएम जेल सिट र ड्यासबोर्ड प्रयोग गरिएको छ ।
यामाहाका बाइक र स्कुटर
यामाहाले थुप्रै नयाँ मोडलका मोटरसाइकल र स्कुटरहरू नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले यामाहा आर १५ को भर्सन १.५ र एफजेडएस एफआई भर्सन २.० मोडलको सिमित एडिसन मोटरसाइकल बजारमा ल्याएको छ । त्यसबाहेक १२५ सीसी क्षमताको यामाहाको सलुटो मोटरसाइकल पनि नेपाली बजारमा भित्रिएको छ । स्कुटरहरूमा यामाहा फेसिनो र नयाँ रे–जेड पनि नयाँ अफरसहित बजारमा आएका छन् । यामाहाका सबै नयाँ मोटरसाइकल तथा स्कुटरमा ‘ब्लु कोर’ इन्जिन जडान भएको छ ।
यामाहा आर १५ को भी १.५ मोटरसाइकलको डिजाइन पनि निकै लोभलाग्दो छ । यो मोटरसाइकलमा १५० सीसी क्षमताको इन्जिन जडान गरिएको छ । यो मोटरसाइलको मुख्य विशेषता पहिलेको दुई भागमा विभाजित सिटको सट्टा आकर्षक र आरामदायक सिट राखिनु पनि हो ।
यामाहा सलुटो पारिवारिक मोटरसाइकल हो जुन सुपथ मूल्यमा उपलब्ध छ । ब्लु–कोर इन्जिन प्रविधिमा निर्माण भएको यो मोटरसाइकलको पिकअप निकै उत्कृष्ट छ । यो मोटरसाइकलको माइलेज प्रतिलिटर ७८ किलोमिटर रहेको कम्पनीले बताएको छ, जुन १२५ सिसी श्रेणीमा सर्वश्रेष्ठ हो । त्यसैगरी, सुपरमोडल स्कुटरका रूपमा चिनिएको यामाहा फेसिनो निकै फरक र आकर्षक डिजाइनको छ । यसको माइलेज प्रति लिटर ६६ किलोमिटर छ । त्यसैगरी ‘ब्लु कोर’ प्रविधिमा आधारित नयाँ रे–जेड आकर्षक स्पोर्टी स्कुटर हो । ११३ सिसी क्षमताको यो स्कुटरको पिकअप निकै राम्रो छ ।
महिन्द्राका बाइक
महिन्द्राको डिस्क ब्रेक भएको सेन्टुरो र रक स्टार नेपाली बजारमा आएको छ । महिन्द्राको सेन्टुरो मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स १ सय ७३ एमएम र ह्विल बेस १२ सय ६५ एमएम छ । यो मोटरसाइकलमा आरामदायी सिट र परफेक्ट पाँच गियर भएकाले सहज रूपमा यात्रा गर्न सकिन्छ । यसमा डिस्क ब्रेक छ । ट्युवलेस टायर, कारको जस्तै एन्टिथेफ्ट अलार्म, इन्जिन इम्मोबिलाइजर आदि विशेषताले युक्त यो बाइकको मूल्य १ लाख ५८ हजार ९ सय रुपैयाँ छ । महिन्द्राको सेन्टुरो रक स्टार स्टाइलको प्याकेज भएको कम्पनीको दाबी छ । यो मोटसाइकलमा स्टाइलिस फ्ल्पि की, स्टाइलिस एलइडी टेल ल्याम्प आदि विशेषता छन् ।
होन्डाको सिबी युनिकर्न १६०
स्याकार ट्रेडिङ कम्पनीले होन्डाको सिबी युनिकर्न १६० मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराएको छ । होन्डाको यो मोटरसाइकल विभिन्न आकर्षक सेडमा उपलब्ध हुन्छ । यो मोटरसाइकलमा बढी माइलेज दिन इएचटी इन्जिन जडान गरिएको छ । होन्डाको यो मोटरसाइकल इम्पेरियल, रेड मेटालिक, जेनी ग्रे मेटालिक, पर्ल ब्ल्याक र सनबिम ह्वाइटका आकर्षक सेडमा उपलब्ध छन् । यसको मूल्य २ लाख ३७ हजार ९ सय रुपैयाँ छ ।