साप्ताहिक संवाददाता
‘म यस्तो देश बनाउँथे जुन सिंगापुर हुन्थ्यो
सबै नेपाली जनताले मेरो शालिक बनाउँथे...’
गाईजात्राको अवसर पारेर तयार पारिएको गीत तथा प्रहसनको एल्बम ‘हन्तकाली’ मा समावेश गरिएको एउटा प्यारोडी गीत हो यो । चलचित्र ‘प्रेमगीत’ को शीर्षक गीतमा आधारित यो प्यारोडीमा मणिराज काफ्लेको स्वर तथा दमन रुपाखेती र काफ्लेको शब्द छ । यो गीतको भिडियोमा भने कविता शर्मा तथा पारवन राईले अभिनय गरेका छन् ।
गाईजात्राको पूर्वसन्ध्यामा बजारमा आएको यो एल्बममा तीनवटा प्यारोडी गीत, दुईवटा प्रहसन तथा दुईवटा व्यंग्य समावेश छ । एल्बमका प्रहसन तथा प्यारोडीमा दमन रुपाखेती, शिव शर्मा, कविता शर्मा, राजकुमार कुँवर, राजु भुजु, आरके मानन्धर, सुशीला थापा, पारवन राई, कञ्चन सापकोटा, प्रकाश न्यौपाने आदि कलाकारले अभिनय गरेका छन् । यो एल्बममा समावेश ‘कुर्सी देउन...’ (पप्पी देउ न गीतमा आधारित) प्यारोडी गीतमा भने मणिराज काफ्ले, राजन चौलागाईं तथा दमन रुपाखेतीको स्वर सुन्न सकिन्छ । प्रमुख दलका नेताहरू बैठक कक्षबाट बाहिरिएपछिको प्रसंगमा आधारित प्रहसन ‘हन्तकाली बैठक’ तथा ‘विदेशको मोह’ शीर्षकका प्रहसनमार्फत दर्शकले प्रसस्त मनोरञ्जन लिनसक्ने यो गाईजात्रे एल्बमका निर्देशक रुपाखेतीको तर्क छ ।
यो वर्षको गाईजात्रालाई लक्षित गर्दै म्युजिक नेपालले ‘जेरी वाचन गाईजात्रा’ शीर्षकको हास्यव्यंग्य एल्बम तयार पारेको छ । नेपाली कमेडी भिडियो गीतका रूपमा तयार पारिएको जेरी वाचनमा कलाकार बबिता बानियाँ ‘जेरी’ ले रमाइलो प्रस्तुति दिएकी छिन् । बबिता, गुलेली, कान्छा, मनीष, सञ्जीव, इसशान, सुष्मिता, सञ्जु, महेन्द्र, गोपाल आदि कलाकारद्वारा अभिनित यो भिडियोकी गायिका तथा वाचक बबिता बानियाँ नै हुन् भने शब्द पनि उनैले तयार पारेकी हुन् । ंशेरबहादुर डिसी यो व्यंग्य भिडियोका निर्देशक हुन् ।
‘चाइनाबाट तेल’ शीर्षकको व्यंग्यात्मक गीतले गाईजात्राका साथै तीजलाई पनि लक्षित गरेको छ । धनकुमारी थापा, दीपा राई तथा मनोज सिंह धामीले गाएको यो गीतको भिडियोमा दमन तथा धनकुमारी थापाले अभिनय गरेका छन् । यो भिडियोको निर्देशन पनि उनीहरू दुवैले गरेका हुन् । कलाकार कमल गाउँलेले गाईजात्राको अवसर पारेर ‘राजनीतिक पराकम्पन’ शीर्षकको एल्बम तयार पारेका छन् । युट्युबमा समेत उपलब्ध करिब २४ मिनेट लामो यो हास्यव्यंग्यात्मक सामग्रीमा कमल गाउँलेको लेखन, गायन, संगीत, शब्द तथा निर्देशन छ ।
गीत, प्रसहन तथा प्यारोडीको यो संगालोमा कमल गाउँले, मिलन भण्डारी, लक्ष्मी बोहरा, कर्णप्रिय, शेरबहादुर गुरुङ आदि कलाकारले अभिनय गरेका छन् । कलाकार सुजित थापाले गाईजात्रालाई नै लक्षित गर्दै ‘हाक्का हाक्की गाईजात्रा–२०७३’ शीर्षकको एल्बम तयार पारेका छन् । ‘ओलीको सत्ता छाडेपछि पहिलो अन्तर्वार्ता’ उपशीर्षक राखिएको यो भिडियो एल्बममा सुजित थापा, जय भोले तथा शिव शर्माले अभिनय गरेका छन् । सुजित थापा यो भिडियोका निर्देशक हुन् ।
‘गोरु फार्म’ शीर्षकको प्रहसन भिडियो पनि गाईजात्राको अवसर पारेर सार्वजनिक भएको छ जसमा विभिन्न हास्य कलाकारले अभिनय गरेका छन् । महेश पाण्डे तथा रामु आचार्यले तयार पारेको ‘अर्पण अभियान: गाईजात्रा–२०७३’ शीर्षकको भिडियोमा ऋषि धमलाले पुष्पकमल दाहालको अन्तर्वार्ता लिएको प्रसंग चित्रण गरिएको छ ।