नायिका रिस्ता बस्नेत तीज आउनेबित्तिकै आफ्नी ठूली आमाको घर पुग्छिन् । तीजको वातावरण राम्रो हुने भएकाले उनी हरेक वर्षझैं यो वर्ष पनि तीज मनाउन ठूली आमाको घर पुग्न लागेकी हुन् । रिस्ता भन्छिन्— ‘म तयसपटक पनि पानी समेत नखाई व्रत बसेर तथा नाचगान गरेर तीज मनाउँदैछु ।’ रिस्ताले तीजको दिन साँझ महादेवको मन्दिर गएर पूजा–आरती गरेपछि फूलफूल खाई व्रत पूरा गर्नेछिन् ।
नायिका केकी अधिकारीलाई मन पर्ने पर्वहरूमध्ये तीज पहिलो प्राथमिकतामा पर्छ । यसपटकको तीजलाई पनि उनी उल्लासमय शैलीमा मनाउँदैछिन् । केकी परिवारका सदस्यहरूसँगै तीज मनाउन रुचाउँछिन् । सार्वजनिक जीवनमा समेत नृत्य गर्न अग्रसर भैहाल्ने बानीका कारण तीजको अवसरमा केकी जहाँ–जहाँ पुग्छिन्, त्यहाँ–त्यहाँ कम्मर मर्काउँछिन् ।
केकीलाई तीजको माहौलमा आफन्त तथा दिदीबहिनीहरूसँग नाचगान गर्दा आनन्दको अनुभूति हुन्छ । दर खान मामाघर जाँदाको क्षण अझ रोमाञ्चक हुने केकीको भनाइ छ । आफू खुसी हुन तीजको व्रत बस्ने केकीले स्पष्ट पारेकी छिन् ।
नायिका नीता ढुंगानालाई पनि तीज विशेष रूपमा लाग्छ । भर्खरै चलचित्र ‘निर्भय’ को छायांकनबाट छुट्टी पाएकी नीताका लागि यो वर्षको तीज विशेष हुने एउटा कारण छ । यसपटक उनले झन्डै आधा दर्जनजति तीज गीतका भिडियोमा नृत्य गर्ने मौका पाइन् ।
हालसम्म तीजको व्रत नबसेकी नीता यसपटक पनि व्रत बस्ने मुडमा छैनन् । धर्म, संस्कृति तथा परम्पराप्रति आस्था राख्ने नायिकाका रूपमा परिचित गरिमा पन्त यसपटक आफ्नो तीज विशेष हुने बताउँछिन् । हाल युरोपमा रहेकी गरिमा विवाहपछिको पहिलो तीजको विशेष पर्खाइमा छिन् ।
नायिका अनु शाह पनि तीजलाई मन पर्ने पर्व बताउँछिन् । ‘मेरा लागि तीज जत्तिको मन पर्ने अर्को पर्व छैन,’ अनु भन्छिन्— ‘हरेक वर्ष तीजको सेरोफेरोमा म छायांकनमै व्यस्त हुन्छु, तर जति नै व्यस्त भए पनि तीजमा व्रत बस्न, रातो पहिरनमा सजिएर नृत्य गर्न छुटाउँदिनँ ।’ अनु सकेसम्म पानी समेत नपिई व्रत बस्ने आफ्नो विगतलाई यो वर्ष पनि निरन्तरता दिँदैछिन् ।
चलचित्रकी पाश्र्व गायिका प्रविशा अधिकारी अघिल्लो सतादेखि नै दर खाने कार्यक्रममा सहभागि भैरहेकी छिन् । ‘आजभोलि विभिन्न तीज समारोह तथा आफन्तकहाँ दर खाँदैमा व्यस्त छु,’ प्रविशा भन्छिन्— ‘यसपटकको तीजमा मैले निराहार व्रत बस्ने सोच बनाएकी छु । सबै विधि पुर्याएर व्रत पूर्ण गर्नेछु ।
नायिका रजनी केसीका लागि यसपटकको तीज विगतका वर्षहरूभन्दा पृथक् हुने निश्चित छ । ‘यसपटक मैले अभिनय गरेका दुई चलचित्र तीजकै अवसरमा प्रदर्शन हुने भएकाले पनि यो तीज मेरा लागि विशेष हुनेछ, रजनी भन्छिन्— ‘हरेक वर्ष तीजको व्रत बस्दै आएकी छु र यसपटक पनि व्रत बस्नेछु । यसपटकचाहिं म आफ्ना चलचित्रका लागि व्रत बस्दैछु । तीजको दिन म दर्शकहरूसँगै बसेर पालैपालो दुवै चलचित्र हेर्नेछु । आफ्नो परिवारसँग रमाउँदै दर खाने अनि नाचगान गर्ने त छँदैछ ।’
गायिका रेखा शाह भन्छिन्— ‘तीज म खासै सेलिब्रेट गर्दिनँ, तर दर खाने दिन मेरा दुई भाइ विभिन्न परिकारका साथमा मेरो घर आइपुग्ने कुरा भने नौलो होइन, यसले चेली–माइतीको सम्बन्धलाई प्रगाढ तुल्याउँछ ।’ गायिका शाह तीजको दिन सधैं झैं सामान्य पूजा–आजा गर्छिन् र शास्त्रमा उल्लेख भएअनुरूप शुद्ध हुने प्रयास गर्दै परम्परा निर्वाह गर्ने प्रयत्न गर्नेछिन् ।
मोडल, नृत्यांगना तथा गायिका सरस्वती लामालाई तीजले हामी चेली हौं भन्ने कुरा स्मरण गराउँछ । सरस्वती भन्छिन्— ‘यसपटक त मैले पनि अतिथिका रूपमा धेरैवटा तीज कार्यक्रममा सहभागिता जनाइसकेकी छु ।’ सरस्वतीले तीजको व्रत बस्न थालेको धेरै भैसकेको छ । सधैंझैं यस पटक पनि उनी आमा, दिदी तथा बहिनीसँगै तीजको व्रत बस्दैछिन् ।
मोडल तथा नायिका दीपिका प्रसाईं केही साताअघिदेखि नै तीजको मुडमा छिन् । ‘तीज लागिसकेको छ । पानी पर्न रोकिएकाले पनि होला, अहिले शहर नै तीजमय देखिरहेकी छु, दीपिका भन्छिन्— ‘तीजको आगमन मलाई रमाइलो लागिरहेको छ ।’ दीपिकाले दर खाने योजना त बनाइसकेकी छिन् तर यसपटक व्रत बस्ने कि नबस्ने भन्ने निर्णय भने गरिसकेकी छैनन् । गायिका देविका बन्दना यसपटकको तीजमा जस्तो व्यस्त यसअघि कहिल्यै थिइनन् ।
‘यो वर्ष तीज विशेष सांगीतिक कार्यक्रममा सहभागिता जनाउने क्रममा बढेको छ, देविकाको बुझाइमा अघिल्लो वर्ष भूकम्पका कारण खुलेर तीज मनाउन नपाएका दिदीबहिनीहरू यो वर्ष खुसीयाली साटासाट गर्न भेला हुने क्रम बढेको हो । सधैंझैं मीठो दर खाने, तीजको व्रत बस्ने देविकाको योजना छ ।
केही दिनअघि मात्र आफ्नै लेखन, निर्देशन तथा अभिनयको नाटक ‘जूनकिरी’ को सफलताबाट उत्साहित मोडल एवं कलाकार नानी थापा यसपटकको तीजलाई भव्य रूपमा मनाउँदैछिन् । ‘करिब ६ वर्षपछि यसपटक तीज मनाउँदैछु, नानी भन्छिन्— ‘अघिल्ला वर्षहरूमा प्राय: यतिबेला परीक्षा चलिरहेको हुन्थ्यो, त्यसैले मन खोलेर तीज मनाउन पाएकी थिइनँ तर यसपटक म परीक्षा दिइरहेकी छैन, त्यसैले तीज सेलिब्रेट गर्ने मुडमा छु ।’ यसपटकको तीजमा उनी आमासँगै मामाघर गएर दर खाने तथा नाचगान गर्ने योजनामा छिन् ।
गायिका आस्था राउत यसपटकको तीज अमेरिकामा मनाउँदैछिन् । ‘तीजमा म अमेरिकामा हुनेछु र तीज धमाका कार्यक्रममा सहभागी हुँदैछु, आस्था भन्छिन्— ‘हुन त मैले तीजसँग सम्बन्धित गीत गाएकी छैन तर छोरीचेलीको आवाज भएका गीतले गर्दा मलाई तीज धमाकाका लागि अमेरिका निम्त्याइएको हो ।’ आस्थाले अमेरिकामा नेपाली तथा भुटानी दिदीबहिनीहरूसँग मनाउन लागेको तीज अविष्मरणीय हुने अपेक्षा गरेकी छिन् ।
अभिनेत्री मिथिला शर्माको तीज सेलिब्रेसन गर्ने शैली सामान्य छ । मिथिलालाई जुनसुकै चाडपर्व पनि साधारण तरिकाले रमाइलो गरेर मनाएको मन पर्छ । ‘म तीजलाई तीन दिन मात्र मनाउँछु, दर खाने दिन रमाइलो गर्दै दर खाएर, तीजको व्रत बसेर तथा तेस्रो दिन पञ्चमीको पूजा गरि कर्कला र भात खाएर,’ मिथिला भन्छिन्— ‘कुनै पनि चाडपर्व साधारण र सरल तरिकाले मनाउनु उपयुक्त हुन्छ, जसले गर्दा यसको महत्व र गरिमासमेत बढ्छ । आडम्बरी तथा खर्चिलो तरिकाले मनाइने चाडपर्व तथा रीतिरिवाजले समाजमा विकृति फैलाउनुका साथै चाडपर्व र रीतिरिवाजप्रति नै वितृष्णा जगाउने मिथिलाको तर्क छ ।
नायिका अशिष्मा नकर्मी भने यसपटकको तीज अवधिभरि चलचित्रको छायांकनमै व्यस्त हुनेछिन् । ‘म तीजको रातो परिहनमा सजिएर हिंडेका दिदीबहिनीहरूलाई हेरेरै रमाइलो गर्छु र उहाँहरूसँग नाचेर तीज मनाउनेछु ।’ अशिष्माका अनुसार घर बाहिर हुने भएकाले यसपटक उनी तीजको व्रत भने बस्ने छैनन् ।
नायिका वर्षा राउत यसपटकको तीज भारतको मुम्बईमा मनाउँदैछिन् । एउटा सांस्कृतिक कार्यक्रमका लागि उनी यतिबेला मुम्बईमा छिन् । वर्षा मुम्बईमै बसोबास गरिरहेका आफन्त तथा नेपाली दिदीबहिनीहरूले आयोजना गरेको तीज विशेष कार्यक्रममा सहभागिता जनाउँदैछिन् । वर्षा भन्छिन्— ‘सधैंझैं तीजको व्रत भने बस्नेछु भने साँझ भगवान् शिवको मन्दिर पुगेर आफ्नो व्रत पूरा गर्नेछु ।’
नायिका पवित्रा आचार्य भन्छिन्—‘यो तीजमा पनि कम्मर भाँच्ने हो, दिदी र बहिनी मिलेर नाच्ने हो भन्ने गीत जस्तै दिदी–बहिनीसंग भेटघाट, नाचगान अनि रमाइलो गर्दै दर खाने र तीजका दिनमा परापूर्व कालदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिँदै देवादी देव महादेवको ब्रत बसेर यस पटकको तीज मनाउँदैछु ।’