साप्ताहिक संवाददाता
पहिरन महँगा हुँदैमा राम्रो हुन्छन् भन्ने छैन । केही ब्रान्डेड पहिरन पनि केही समय लगाइसकेपछि बिग्रिएको मेरो अनुभव छ । राम्रो पहिरनले मानिसको इज्जत बढाउँछ । आफ्नो बुटिक खोल्नुभन्दा अघि पनि बुटिककै पहिरन मेरो पहिलो रोजाइमा थिए । अरूभन्दा फरक देखिनु मेरो लागि महत्वपूर्ण कुरा हो ।
बुटिकका पहिरन आफूले भने जस्तो डिजाइन र साइजमा बनाउन सकिने भएकाले पनि म आफ्ना अधिकांश पहिरन बुटिकमै बनाउन मनपराउँछु । हुनत: डिजाइनर वेयरमा बढी पैसा तिर्नुपर्छ, तर आफूलाई सन्तुष्ट हुने किसिमका पहिरन पनि लगाउन पाइन्छ ।
मैले आफ्नै बुटिक ‘कायरा’ सञ्चालनमा ल्याएपछि एउटा कुरा के थाहा पाएँ भने समाजका केही व्यक्तिहरू बुटिकका पहिरन मात्र लगाउँदा रहेछन् । उनीहरूलाई डिजाइनर पहिरन नै मनपर्दो रहेछ । बुटिकका डिजाइनर पहिरन महँगा नै हुन्छन् भन्ने पनि छैन । सामान्य मूल्यमा पनि बुटिकका पहिरन बनाउन सकिन्छ ।
महँगो मात्र राम्रो हुन्छ भन्ने पनि होइन । रह्यो महँगो ब्रान्डेड लुगाको कुरा, ब्रान्डेड पहिरन राम्रा त हुन्छन्, तर नेपालमै डिजाइन गरिएका स्वदेशी बुटिकका पहिरनलाई प्राथमिकतामा राख्न सके हामी जस्ता स्वदेशमै केही गरुँ भनेर बसेकाहरूलाई उत्साह मिल्छ । म पनि यदाकदा ब्रान्डेड पहिरन लगाउँछु ।
जस्तो कि जुत्ता, जिन्स, टिसर्ट आदि । दसैं–तिहार जस्तो चाडपर्वमा लगाइने पहिरनचाहिँ डिजाइनर वेयर नै उपयुक्त हुन्छ । अझ लगाउन सके त नेपाली पहिरन तथा फेब्रिकहरूलाई फ्युजन गरेर डिजाइन गर्दा चाडपर्वमा फरक देखिन सकिन्छ ।
दौरा–सुरुवाल, चौबन्दी चोली र फरिया, ढाका, हाकु पटासीजस्ता पहिरनलाई डिजाइनरहरूले फरक किसिमबाट तयार पारिदिन सक्छन् । ती पहिरनले पक्कै पनि हाम्रो व्यक्तित्वलाई अझ राम्रो बनाउँछ ।