साप्ताहिक संवाददाता
एक समय थियो, कांग्रेस कम्युनिस्ट भन्नेबितिकै समाज नै विभाजित हुने अवस्था थियो । त्यो त्यस्तो समय थियो, जतिबेला कम्युनिस्ट र कांग्रेसको पारिवारिक मिलनका सम्बन्धमा कल्पनासम्म गर्न पनि सकिँदैनथ्यो, तर अहिले समय फेरिएको छ । मानिसहरू सिद्धान्त, वाद र पार्टीभन्दा माथि उठेर सोच्न थालेका छन् । परिणाम नै मान्नुपर्छ, कांग्रेस–कम्युनिस्टको पानी बाराबारको समयका चर्चित कम्युनिस्ट नेताकी छोरीले आफ्नो पतिका रूपमा नेपाली कांग्रेसको विरासत बोकेको परिवारका युवालाई रोजेकी छिन् ।
कुरा हो कम्युनिस्ट नेता स्व. मदन भण्डारी र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी डा. निशाकुसुम भण्डारीको । सोमबार बिहान शीतल निवासमा राष्ट्रपति भण्डारीकी छोरी निशाकुसुमको विवाह पूर्व राष्ट्रपति डा. रामवरण यादवका नाति इ. अभिषेक यादवसँग भएको छ भने तराई–पहाडबीच मतभेद ल्याउने प्रयास भैरहेकै बेला सम्पन्न यो विवाहले फरक सामाजिक सन्देशसमेत प्रवाहित गर्ने अपेक्षा गरिएको छ ।
वर्तमान राष्ट्रपति भण्डारीकी छोरीलाई बुहारी बनाउन पूर्व राष्ट्रपति डा. यादव ५१ जना जन्ती लिएर बिहान शितलनिवास पुगेका थिए । बिहान १० बजेको शुभसाइत पारेर शीतल निवासको कोसी हलमा राष्ट्रपति विद्यादेवी भण्डारीले छोरीको स्वयंवर सम्पन्न गराएकी थिइन् । ‘शीतल निवासको प्रांगणबाट राष्ट्रपतिले छोरी अन्माउनुभएको हो,’ राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले साप्ताहिकसँग भने, ‘उपराष्ट्रपति, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्री तथा सांसदहरूलगायतका विभिन्न व्यक्तित्व शुभकामना दिन पाल्नुभएको थियो ।’ अधिकारीका अनुसार विवाह समारोहमा कार्यालयका कर्मचारी र आफन्त समेत गरी झन्डै ३ देखि ४ सय जनाको उपस्थिति थियो ।
निशाकुसुमको कन्यादानमा झन्डै २ घण्टा लागेको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यसपछि शीतल निवासमा राष्ट्रपतिको निमन्त्रणा मान्न पुगेका आमन्त्रितहरूले वरबधूलाई बधाई तथा शुभकामना दिएका थिए । दुलाहा–दुलहीलाई बधाई दिन शीतलनिवासमा ओइरिएका आफन्त तथा पाहुनाहरूलाई राष्ट्रपति भण्डारी र उनको परिवारका सदस्यहरूले स्वागत गरेका थिए । निशाकुसुम र अभिषेकबीच गत असोज ३० मा शीतल निवासमै इन्गेजमेन्ट भएको थियो । सुटुक्क गरिएको उक्त इन्गेजमेन्टमा राष्ट्रपतिका नजिकका नातेदार तथा आफन्तहरूमात्र सहभागी थिए ।
को–को गए शीतल निवास ?
राष्ट्रपति भण्डारीको निमन्त्रणा स्वीकारेर उनकी छोरीलाई विवाहको शुभकामना दिन शीतल निवास पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह सबैको आकर्षणमा रहे । उनले शीतल निवास पुगेर वरवधूलाई बुके मात्र थमाएनन्, उनीहरूलाई बन्द खामसमेत दिए । पूर्वराजा शाहले राष्ट्रपति भण्डारीलाई समेत बधाई दिए । पूर्वराजाले बधाई दिएपछि राष्ट्रपति भण्डारीले उनलाई धन्यवाद भनेकी थिइन । झन्डै २० मिनेटजति शीतल निवासमा बिताएका पूर्वराजा शाहले त्यहाँ चिया पिए भने केही समय भलाकुसारीसमेत गरे ।
रमाइलो संयोग त के भने वर्तमान राष्ट्राध्यक्षकी छोरीको विवाहले पहिलोपल्ट एकै ठाउँमा पूर्वसमेत गरी तीन जना राष्ट्राध्यक्षको जमघट गरायो । भलै, उनीहरूबीच आपसमा कुनै कुराकानी भएन । राष्ट्रपति भण्डारी र पूर्वराजा ज्ञानेन्द्र वरबधूसँगै रहेको फोटो सार्वजनिक भए पनि गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. यादव भने त्यसमा देखिएनन् ।
यस्तै विवाह समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, एमाले उपाध्यक्ष वामदेव गौतम, राप्रपाका अध्यक्ष कमल थापा, राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर जबरा, सभामुख ओनसरी घर्ती, पूर्वसभामुख सुवास नेम्वाङ, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आदिको उपस्थिति थियो । त्यसबाहेक विशिष्ट सरकारी कर्मचारी, सुरक्षा अंगका प्रमुख, पूर्वप्रधानसेनापति, नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूले पनि शीतल निवास पुगेर राष्ट्रपतिकी छोरीलाई विवाहको शुभकामना तथा बधाई दिएका थिए ।
बूढानीलकण्ठमा अंकुराएको प्रेम
राष्ट्रपति भण्डारीकी छोरी निशाकुसुम तथा पूर्वराष्ट्रपति यादवका नाति अभिषेक बूढानीकलण्ठ स्कुलमा सँगै पढेका हुन् । बूढानीलकण्ठ पढ्दाताका उनीहरूबीच परिचय भयो । त्यही उनीहरू नजिकिए । साथीका रूपमा अघि बढेको उनीहरूको सहकार्य पछि प्रेममा परिणत भयो । अभिषेक इन्जिनियरिङ पढ्न अमेरिका गए भने निशाकुसुम एमबीबीएस पढ्न भारत । सन् २००७ मा सेन्ट चार्लिज स्कलरसिपमा अमेरिका गएका २९ वर्षीय अभिषेकले युनिभर्सिटी अफ न्यू ओर्लियन्सबाट इलक्ट्रोनिक्स इन्जिनियरिङमा बिई गरेका छन् । अमेरिकामा रहँदा उनले सोलुटेलिया नामक कम्पनीमा काम गरेका थिए ।
सन् २०१५ मा अभिषेकले बेलायत सरकारको चिभेनिङ छात्रवृत्ति प्राप्त गरे । उक्त छात्रवृत्तिमा उनी लन्डनको युनिभर्सिटी कलेज लन्डनमा ‘इकोनोमिक्स एन्ड पोलिसी अफ इनर्जी एन्ड द इन्भाइरोमेन्ट’ पढेर केही समय पहिले मात्र नेपाल फर्किएका हुन् । त्यसअघि उनले नेपालमा रहँदा सेलट्रोनिक्स टेलिसोलुसन तथा सानिमा हाइड्रोमा इलेक्ट्रिकल इन्जिनियरका रुपमा काम गरेका थिए । २८ वर्षीया निशा कुसुमले भने भारतको नयाँदिल्लीबाट एमबीबीएस गरेकी हुन् । उनी केही समय वीर हस्पिटलमा इन्टर्न गरेपछि अहिले शिक्षण अस्पतालमा एमपीएच अध्ययरत छिन् ।
उनीहरूबीच प्रेम रहेको कुरा भण्डारी राष्ट्रपति भएलगतै सार्वजनिक भएको थियो । परिवारलाई भने त्यसअघि नै उनीहरूको प्रेमसम्बन्धका बारेमा जानकारी भएको पारिवारिक स्रोत बताउँछ । त्यसैले भण्डारी राष्ट्रपति चुनिएलगत्तै परिवारले उनीहरूको विवाहको तयारी अघि बढाएको थियो ।
अभिषेककी आमा किरण पूर्वराष्ट्रपति यादवकी भतिजी हुन् । पहिलो संविधानसभामा उनी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सभासद थिइन् । किरण दोस्रो संविधानसभामा भने महोत्तरी–२ बाट विजयी भएकी थिइन् । किरणले पद्मकन्या कलेजबाट अर्थशास्त्रमा स्नातक गरेकी छिन् । मधेसमा यादवको परिवार बौद्धिक परिवारका रूपमा सुपरिचित छ । अभिषेकका पिता मुनिलाल यादव आफैंपनि सिभिल इन्जिनियर हुन् ।