साप्ताहिक संवाददाता
सुहागरात
मागी विवाहमा त भैहाल्यो, प्रेम विवाहमै पनि पहिले यौनसम्बन्ध स्थापित भैसकेको छैन भने विवाहको पहिलो रात दम्पती दुवैका लागि निकै कौतूहलपूर्ण हुने गरेको छ । त्यसमाथि विवाहको पहिलो रातका भुक्तभोगीका कपोकल्पित बखान तथा गिज्याउने चलनले पनि हौवा खडा गर्ने गरेको छ । विशेषत: हिन्दी शब्दावलीमा तथा तराईतिर नवविवाहित महिला अर्थात् दुलहीलाई सुहाग भन्ने चलनका कारण विवाहको पहिलो रातलाई सुहागरात भनिएको हो । सुहागरातपछिको केही समयलाई हनिमुन भनिन्छ ।
सामाजिक डरबाट उन्मुक्त भएर वा अघोषित पारिवारिक स्वीकृतिमै यौनकार्य गर्न सकिने भएकाले यसको महत्व छ । नौलो कुरालाई प्राथमिकता दिएजस्तै कौमार्य वा कुमारीत्वलाई अनावश्यक महत्व दिइएका कारण पनि पहिलो वा त्यसपछिका कतिपय रातलाई विशेष मान्ने चलन छ । अपरिपक्व उमेर, अपर्याप्त चिनाजानी एवं यौन शिक्षाको विविध पक्षको अभावमा पहिलो रात मात्र नभै वैवाहिक जीवन, यौनजीवन नै केही समयसम्मका लागि अन्यौलपूर्ण, तनावपूर्ण बन्न बेर लाग्दैन । जति नै भने पनि गोप्यता, एकान्त वातावरणको अभाव तथा गर्भ रहला कि भन्ने चिन्ताले पनि सुरुका केही रातका यौनसम्बन्धहरू सफल एवं आशातीत हुँदैनन् । पाकक्रीडा, सफल यौन प्रतिक्रिया चक्र, चरम सुख, अनिच्छित गर्भ, आकस्मिक गर्भनिरोध, सुरक्षित सेक्स, मासिक चक्र तथा गर्भपतनसम्बन्धी कानुनी प्रावधानको यथेष्ट जानकारीको अभावमा नवदम्पतीले भरपूर यौनआनन्द प्राप्त गर्न सक्दैनन्।
त्यसो त आधुनिक समयमा केबल टेलिभिजन, नीलो चलचित्र, इन्टरनेट तथा अन्य यौन सामग्रीका माध्यमबाट विवाहपछि सफल तरिकाले यौनसम्बन्ध राख्ने विषयमा जानकारी प्राप्त गर्न नसकिने होइन, तर अमलेट कसरी बनाउने भनेर बनाउने विधि पढ्नु र वास्तवमै अमलेट बनाउनुमा भिन्नता भने हुन्छ नै । विशेषत: पहिलो रातमै यौनसम्बन्ध राख्नैपर्छ, महिला पार्टनरको हाइमेन नामक योनि ढाक्ने झिल्ली च्यातिनैपर्छ, हल्का पीडासँगै रगत बग्नैपर्छ भन्ने गलत धारणले सुहागरात मात्र होइन, त्यसपछिका रात एवं दाम्पत्य जीवन नै सुमधुर नहुन सक्छ ।
त्यसो भएर सुहागरात एवं हनिमुन अवधिलाई त्यति महत्व नदिई आफ्नो यौनसाथी अथवा जीवनसाथीको इच्छा तथा भावना कदर गरी यौन संवेदनशील अङ्गहरूको अधिकतर उपयोग गर्दै, पाक्क्रीडामा यथेष्ट समय दिएको खण्डमा दुवै पार्टनरले चरम सुख प्राप्त गर्न सक्छन् र फेरि–फेरि यौनसम्बन्ध राख्न उत्साहित पनि हुन्छन् । अविवाहित अवस्थामा भन्दा विवाहित भैसकेपछि यौन आकर्षण, यौन परिकल्पना एवं वास्तवमै पटक पटकको यौनकार्यले स्त्री जननेन्द्रिय (योनि, योनिमार्ग) तथा अण्डकोष वा पुरुष लिङ्गमा पीडा हुने, विशेषत: महिलामा पिसाबसम्बन्धी संक्रमण हुने (हनिमुन सिस्टाइटिस), वीर्य तथा योनिरसको अनौठो अनुभव हुन्छ ।
आफ्नो दाम्पत्य जीवन प्रगाढ बनाउन एवं यौन जीवन सुमधुर राख्न आफ्नो पार्टनरले पनि उत्तिकै यौन सन्तष्टि प्राप्त गरे–नगरेको हेक्का राख्नुपर्छ । आफ्नो पार्टनरको इच्छाको कदर गर्नुपर्छ । उनलाई आफ्नो मनको कुरा भन्ने मौका दिनुपर्छ । आफ्नो यौनसाथीले अधिकतम यौनआनन्द प्राप्त गर्ने वातावरण तथा आसनका लागि आवश्यक मद्दत गर्नुपर्छ । दिनहुँ वा एक रातमै धेरै पटक यौनसम्बन्ध राख्नुभन्दा कहिलेकाहीँ छुट्टी वा आरामपछि बढी मज्जाको अनुभूति हुन्छ भन्ने कुरा थाहा पाइराख्नुपर्छ । त्यसैले पनि कतिपय सामाजिक रीतिरिवाजअनुसार विवाहलगत्तै वा महिना एवं पर्व विशेषमा विशेषत: नवदम्पती (नवदुलही) माइतमै बस्नुपर्ने नियम वा चलन छ ।सुहागरातलाई यौनसम्बन्ध राख्ने अवसर नमानेर यौन जीवनको प्रारम्भिक बिन्दु मानी पार्टनरको सहमतिमा मात्र यौनसम्बन्ध राख्दै जानु बुद्धिमानी हुन्छ ।
हनिमुनमा यौनस्वास्थ्य
मंसिर, माघ, फागुन आदि विवाहको यामलगत्तै विवाहित जोडीहरू हनिमुनमा लिप्त हुन्छन् । नेपालमा पनि बिस्तारै विभिन्न ठाउँमा हनिमुन मनाउन जानेहरूको संख्या बढ्दो छ । हनिमुन भन्नेबित्तिकै यौनसँग सम्बद्ध कुरा मात्र मानिनु गलत हो । प्रेमविवाह गरेकाले भन्दा मागी विवाह गरेकाहरूले यो अवधिमा एक–अर्कालाई अझ बढी बुझ्ने अवसर प्राप्त गर्छन् । हनिमुनका लागि कहीँ निस्किएको खण्डमा जीवनभर एउटा मीठो सम्झना रहिरहन्छ ।
हनिमुनका बेला आइपर्ने यौन स्वास्थ्य समस्याका समाधान तथा सुरक्षित यौनका उपायहरू जानिराख्नु राम्रो हुन्छ । नवजोडी विशेषत: लोग्नेमान्छेले उत्ताउलिन र यौनसम्पर्क राख्न हतारिनु हुँदैन । एकैपटक यौनकार्यमा लाग्नुभन्दा त्यसअघि गर्न सकिने कतिपय यौनिक कार्यसम्बन्धी जानकारी लिनुपर्छ । पसिना एवं शारीरिक गन्ध हटाउन परफ्युम वा डिओडेरेन्ट प्रयोग गर्न सकिन्छ । युवा अवस्थामा साइकल चढ्ने, बाइक चढ्ने, घोडा चढ्ने सिक्ने क्रममा योनिद्वारमा हुने झिल्ली सजिलै च्यातिन सक्ने हुनाले योनिद्वारमा हुने झिल्ली (हाइमेन) छ/छैन को भरमा कुमारित्व भङ्ग भएको विषयलाई लिएर दम्पतीबीच मनमुटाव हुनु हुँदैन ।
कतिपय लोग्नेमान्छेमा छिटो वीर्य स्खलन हुने समस्या हुन सक्छ, जसलाई शीघ्र पतन अर्थात् शीघ्र वीर्य स्खलन भनिन्छ । यसको पक्का कारण थाहा नभए पनि मानसिक कारणले त्यस्तो हुने विश्वास गरिएको छ । यौनपूर्वका कार्यहरू गरेको खण्डमा आत्मविश्वास वृद्धि भै शीघ्र पतनको समस्याबाट छुट्कारा प्राप्त गर्न सकिन्छ । त्यसका अतिरिक्त यौनकार्यको निकै समयअघि त्यससम्बन्धी सोचमा नडुब्ने, यौनसम्पर्कका क्रममा यौनकार्य रोक्ने तथा सुरु गर्ने, आसन परिवर्तन गर्ने, लिङ्गको फेद अँठ्याउने, कन्डम प्रयोग गर्ने, मांसपेशीको प्रयोग गर्ने, वीर्य स्खलन नियन्त्रणको अभ्यास गर्ने आदि कार्य गर्न सकिन्छ ।
हनिमुनका बेला तथा आफ्नो जीवनमा यौनसम्पर्क राख्न थालेपछि देखा पर्ने अन्य साधारण समस्यामा पिसाबको पटक–पटक संक्रमण हुनु पनि एक हो, जसलाई मेडिकल भाषामा हनिमुन सिस्टाइटिस (पिसाब थैलीको संक्रमण) भनिन्छ । त्यसका साथै यौनकार्यपश्चात् हल्का रक्तश्राव हुनसक्छ । कतिपय दम्पतीले विशेष गरी महिला पार्टनरले यौनसम्पर्कका दौरान सामान्यभन्दा बढी पीडाको सिकायत गर्न सक्छन्, जसलाई मेडिकल भाषामा डिस्परेउनिया भनिन्छ ।
योनिरस पर्याप्त मात्रामा उत्पादन नभै योनि सुख्खा भए, भयको स्थिति रहे वा यौनकार्यको डरका कारण यौनाङ्गवरिपरिको मांसपेशी संकुचन भए, जीर्ण प्रकारको स्त्री जनेन्द्रियसम्बन्धी संक्रमण भए एवं महिनावारीपश्चात् सानो पेट (पाठेघर) वरिपरि रगत जम्ने समस्या (इन्डोमेट्रिओसिस) भए पीडादायक यौनसम्पर्क (डिस्परेउनिया) को समस्या हुन्छ । लिङ्ग नउठ्ने समस्या भएका पुरुष मानिसले यौन उत्तेजना बढाउने खालका औषधिहरू प्रयोग गर्न सक्छन् ।
तनावपूर्ण वा डर भएको प्रतिकूल परिस्थिति एवं स्थानमा, हतारमा यौनसम्पर्क राख्न खोज्दा पनि लिङ्ग उत्तेजित नहुने समस्या आइपर्छ । विवाह गरेको एकाध महिना वा वर्षमै बच्चा भयो भने थप जिम्मेवारी आई विवाहको मज्जामा कमी आउन सक्छ । त्यसैले केही समय विवाहको मज्जा लुट्न चाहने दम्पतीले केही वर्ष गर्भ राख्न चाहँदैनन् ।
भर्खरै विवाहित जोडीका लागि गर्भ रहन नदिने उचित परिवार नियोजनको साधन कन्डम (ढाल) नै हो । कन्डम नफुटोस् भनेर त्यसको प्रयोगमा सावधानी अपनाउनुपर्छ । तनावपूर्ण वा डरको स्थितिमा एवं यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाबमा कन्डम फुट्न सक्छ । कथंकदाचित कन्डम फुटिहाले यौनसम्पर्क तत्काल रोक्ने, लिङ्ग निकाल्ने तथा यौनाङ्ग सफा गर्ने । डिम्ब निष्कासन, यौनसम्पर्कका क्रममा वीर्य स्खलन, डिम्ब निषेचन, डिम्ब रोपणले गर्भ रहन्छ, तसर्थ प्रत्येक महिलाको महिनावारी चक्रअनुसार गर्भ रहने अवधि थाहा पाइराख्नुपर्छ । गर्भ रहन सक्ने अवधिमा कन्डम एवं कमल चक्की प्रयोग गर्न सकिन्छ भने बाँकी समयमा कन्डमबिनै पनि खुला रूपमा यौनसम्पर्क राख्न सकिन्छ ।
यी दुवै प्रयास असफल भए पनि आत्तिहाल्नु पर्दैन, किनभने आपत्कालीन गर्भबाट छुट्कारा प्राप्त गर्न पिल्स चक्की प्रयोग गर्न सकिन्छ । यसका लागि पहिलो मात्राका रूपमा यौनसम्पर्कको ७२ घण्टाभित्र चार चक्की पिल्स तथा दोस्रो मात्रा त्यसको १२ घण्टापछि सेवन गर्नुपर्छ । यही कुरालाई मध्यनजर गरी प्रोजेस्टेरोन मात्र भएको पिल्स चक्की प्रयोग गर्न सकिन्छ भने असुरक्षित यौनसम्पर्कको पाँच दिनसम्म कपर–टी प्रयोग गर्न सकिन्छ । तत्पश्चात् पनि तनाव भए स्त्री तथा प्रसूति रोग विशेषज्ञसँग सल्लाह, परामर्श लिएर पिसाबको जाँच एवं सुरक्षाका अन्य उपाय अवलम्बन गर्नुपर्छ ।