साप्ताहिक संवाददाता
कुञ्जना घिमिरे ‘सुन्तली’
विवाहका बेला देवरले सेन्डल लुकाइदिएको भए के गर्नुहुन्थ्यो ?
विवाह नै रोकेर स्क्यान्डल मच्चाउँथें ।
त्रिशूली नदीको बीचमा सामूहिक बस्ती बसाउनुपरे ?
बस्ती बसाउने र संरक्षण गर्ने जिम्मा त्रिशूलीका माछालाई दिन्छु ।
बिहान उठ्दा सबै दाँत सुनका टुक्रा भए नि ?
ज्यान जाला हाँस्दिनँ । दाँत देखेर चोरले एक मुक्का दिएर दाँत झरिदियो भने त फेरि मुस्कान पासाजस्तो थोते भएर ‘म त हाँसेरै मर्ने भएँ’ भन्नुपर्यो भने ।
साप्ताहिकको प्रधान सम्पादक भए कस्तो ब्लोअप छाप्नुहुन्थ्यो ?
ब्ल्याकेन्ड ह्वाइटमा काठमाडौंको बाटोमा चरिरहेको भैंसीको तस्बिर छाप्थे ।
बिहान उठ्दा सुन्तली धुर्मुस र धुर्मुस सुन्तलीमा परिणत भए ?
धुर्मुस सुन्तली भए हिहिही गरेर हाँस्थे अनि सुन्तली धुर्मुस भए कसरी हाँस्या म त मर्छु कि क्याहो भन्थें ।
मेलम्चीको पानी काठमाडौंमा आएपछि पनि तपाईंको घरमा पानी आएन भने के गर्नुहुन्छ ?
केही गर्दिनँ, मेरो घर ललितपुरमा पर्छ, बाग्मती सफाइ गरेर पिउन योग्य बनाउँछु ।
धुर्मुसले दीपिका पादुकोणसँग विवाह गरे के होला ?
दंग पर्नेछु, किनभने मेरो भागमा रणवीरसिंह पर्छ नि त ।
होलीमा कसैले असर्फीे हालेर लोला हान्यो भने त्यो मान्छेलाई के भनेर गाली गर्नुहुन्छ ?
थुक्क बजिया हिजो–अस्ति नि हिँड्या थें त यही बाटो, हानिनस्, आज भए पनि अझै ५/१० वटा लोला हान् त भन्छु ।
तपाईंको फ्रिजमा हालेको मुला पकाउन लाग्दा मुसा भएको रहेछ भने के पकाउनुहुन्छ ?
त्यही मुसालाई फेरि फ्रिजमा राखिदिन्छु पुन: मुला भएपछि पकाउँछु ।
एउटा रुमालको एउटा कुना काटिदिँदा कतिवटा कुना बाँकी रहन्छन् ?
५ वटा कुना बाँकी हुन्छ ।
पुरुष मन्त्रालयको मन्त्री बन्ने अवसर आए पहिलो निणय के गर्नुहुन्छ ?
‘स्वास्नी राम्री अर्काकी छोराछोरी राम्रा आफ्ना’ भन्ने उखान परिर्वतन गरी स्वास्नी पनि आफ्नी, छोराछोरी पनि आफ्नै राम्रो भन्ने बनाउँथे । अर्को श्रीमती सुत्केरी हुँदा श्रीमान् अनिवार्य सँगै हुनुपर्ने नियम लागू गर्थे ।