साप्ताहिक संवाददाता
वैशाखसँगै पूर्वी तराईका आदिवासी समुदायहरूको अढाई महिना लामो मेला तथा पर्व प्रारम्भ भएको छ । धिमाल समुदायको ढङढङे मेला वैशाख २ गते सुरु भएको छ । मोरङको राजारानी पोखरीबाट प्रारम्भ हुने यो मेला एक महिनाभन्दा बढी चल्छ । यसबीच आदिवासी समुदायमा लोकप्रिय सिरुवा पर्वसमेत सुरु भएको छ । यो पर्वका अवसरमा परिवारका अग्रजले अञ्जुलीमा जल राखेर टाउकामाथि छम्किदिन्छन् । यो पर्वमा वर्षभरि दिमाग ठन्डा रहोस्, रिस नउठोस्, अग्रजको आज्ञाको पालना होस् भनेर टाउकोमाथि जल छम्केर आशीर्वाद दिने प्रचलन छ ।
त्यसैले यो पर्वलाई जुडशीतल पनि भनिन्छ । सोही क्रममा उनीहरू हिलो पनि खेल्छन् । घरका अग्रजले देवीदेवताको पूजा गरी सानो प्वाल पारी कुश राखिएको गाग्रामा जल भर्छन् । उक्त ग्रागामा पसाइएको कुशबाट जल थोपा–थोपा गरी तुलसीको बोटमाथि झर्छ । प्रत्येक दिन पूजापाठ गरी गाग्रोमा जल भरिन्छ । सरकारले यो पर्वका अवसरमा झापा, मोरङ, सुनसरी, सप्तरी तथा सिरहामा एक दिन सार्वजनिक बिदा दिँदै आएको छ