साप्ताहिक संवाददाता
पोखरामा बोलबमको रौनक बेग्लै हुन्छ । यहाँ ठूलो संख्यामा भक्तजनले भजन–कीर्तन गर्दै हरेक सोमबार खाली खुट्टा हिँडेर ८ किलोमिटर यात्रा तय गर्छन् । यात्राका क्रममा भजन–कीर्तन एवं नाचगान गरी रमाइलो गर्न पाइने हुँदा बोलबमको यात्रामार्फत भगवान शिवको आराधना गर्नेहरूको संख्या बर्सेनि बढ्दैछ ।
पोखरा लेखनाथ महानगरपालिका–१, वगर शुक्लागण्डकीस्थित १०८ धारामा स्नान गरी करिब ८ किलोमिटर पैदलयात्रा गरी बैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिंगमा जलार्पण गरे आफ्नो मनोकांक्षा पूरा हुने आशा भक्तजनमा हुन्छ ।
साउनको हरेक सोमबार बगर, गाइघाटबाट झाँकी एवं भजनकीर्तनसहितको बोलबम र्याली निकालिन्छ । उक्त र्याली पोखराको मुख्य बजार परिक्रमा गर्दै फेवाताल किनारमा अवस्थित केदारेश्वर मन्दिर पुग्छ । बोलबम यात्रामा युवायुवतीको सहभागीता उलेख्य हुन्छ ।
साउनका सोमबार शिवलिङ्गमा जल चढाउन र पूजाआजा गर्न केदारेश्वर मन्दिरको चारवटै द्वारमा बिहानैदेखि भक्तजनको लाइन लाग्छ । पोखराको बैदामस्थित केदारेश्वर महादेवमणि सेवाश्रम समितिले बगरस्थित गाईघाटबाट सेतीनदीको जल लिएर केदारेश्वर मन्दिरमा चढाउने कार्यलाई डेढ दशकदेखि व्यवस्थापन गर्दै आएको संयोजक शंकर खरालले बताए ।
यो अवसरमा मन्दिर परिसरमा दिनभर भजन–कीर्तन गरिन्छ भने मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यले शिव महिमासम्बन्धी प्रवचन सुनाउँछन् । साउनको सोमबार पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा अवस्थित शिव मन्दिरमा समेत भक्तजनको भीड हुन्छ । पोखरा लेखनाथ महानगरपालिका–१, वगर शुक्लागण्डकीस्थित १०८ धारामा स्नान गरी विन्ध्यवासिनी मन्दिर परिसरमा रहेको शिव मन्दिरमा पूजाआजा एवं भजन–कीर्तन गर्नेहरू पनि उत्तिकै हुन्छन् ।