साप्ताहिक संवाददाता
केही वर्षयता विभिन्न व्यवसायिक संघ–संस्थाले तीजको सांस्कृतिक पक्ष पछ्याउन थालेका छन् । नेपाली नारीहरूको महान् चाड तीजको महत्व बढ्दै गएपछि गएको वर्ष एक दर्जनभन्दा बढी बैंकले तीजको कार्यक्रम आयोजित गरेका थिए ।
यस वर्ष पनि केही बैंकले उक्त परम्परालाई निरन्तरता दिएका छन् भने केही ठूला बैंकले पनि त्यसको सिको गरेका छन् । गृहिणी बचत खाता’ का रूपमा यसको सुरुवात एनएमबी बैंकले गरेको थियो । सुरुवातका केही वर्ष यो बैंकले आफ्ना ग्राहकलाई चुरा तथा अन्य विभिन्न उपहार वितरण गरेर कार्यक्रम सञ्चालन गरेको थियो ।
गएको वर्ष उपहारसहित एनएमबी बैंकको आँगनमा नाचगान कार्यक्रम आयोजित गरिएको थियो । विभिन्न गायक–गायिकाको गीतले उक्त कार्यक्रमलाई रमाइलो बनाएको थियो । यसैगरी सनराइज बैंकले पनि महिलाहरूलाई मेहन्दी लगाइदिने कार्यक्रमसँगै तीजको कार्यक्रम आयोजित गर्छ । बैंकले उक्त अवसरमा आफ्ना महिला ग्राहकलाई उपहारसमेत वितरण गर्दै आएको छ । सिजी ग्रुपले पनि आफ्ना महिला कर्मचारीहरूलाई दर ख्वाउने तथा उपहार प्रदान गर्ने काम गर्दै आएको छ ।
एनआईसी एसियाले यही वर्षदेखि तीजको कार्यक्रम सुरु गर्दैछ । प्रभु, ग्लोबल, इन्भेस्टमेन्ट, नबिल, कुमारी, सिद्धार्थ, बैंक अफ काठमाडौं, लुम्बिनी, बंगलादेश आदिका ट्ेरड युनियन एवं महिला कर्मचारीहरूले तीजको अवसरमा विभिन्न कार्यक्रम तथा जमघट गरी तीज मनाउँदै आएका छन् ।
बैंकजस्तै अन्य विभिन्न व्यवसायिक संघ–संस्थाले तीजका अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरेर स्किम एवं उपहार प्रदान गर्छन् । विभिन्न सहकारीले समेत तीजका विशेष कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
रिद्धिसिद्धि गहना पसलले बर्सेनि आफ्ना ग्राहकलाई तीजको दर ख्वाउँछ । उक्त कार्यक्रममा विभिन्न कलाकारले आ–आफ्नो प्रस्तुति दिन्छन् । विभिन्न व्यापारिक केन्द्रले आफू सम्बद्ध संस्थाका महिला कर्मचारीहरूलाई टीका–चुरा आदि उपहार प्रदान गर्छन् । यसले पनि कर्पोरेट तीज मौलाउँदै गएको प्रस्ट हुन्छ ।
त्यस्तै नेपाली सेना, चिकित्सक संघ, लोकदोहोरी प्रतिष्ठान, सौन्दर्यकला व्यवसायी संघ, इन्जिनियर्स एसोसिएसन, नेपाल प्रहरी, चिकित्सक संघजस्ता संघ–संस्थाले पनि तीजका विविध कार्यक्रमको आयोजित गर्छन् । तीजको अवसरमा सीजी ग्रुप, चौधरी ग्रुप, खेतान समूह, गोल्छा अर्गनाइजेसन, पन्चकन्या ग्रुप आदिले समेत आफ्ना महिला कर्मचारीहरूका लागि तीज पार्टी सञ्चालन गर्दै आएको बताइन्छ ।