साप्ताहिक संवाददाता
विन्ध्यवासिनी
पोखराको विन्ध्यवासिनी मन्दिरमा फूलपातीका दिन बाजागाजासहित फूलपाती भित्र्याइन्छ । पोखरा–बाग्लुङ सडकखण्ड नजिकै पर्ने यो मन्दिर ३ सय वर्ष अघि निर्माण भएको हो ।
पाल्पा भगवती
तानसेन बजारको मध्य भागमा अवस्थित पाल्पा भगवतीको मन्दिरको बेग्लै धार्मिक महत्व छ । मन्दिरको मध्यभागमा रणउजेश्वरी भगवतीको मूर्ति छ । भाद्र कृष्ण नवमीका दिन यहाँ भव्य जात्रा हुन्छ । अग्रेजसँग युद्ध लड्नुपूर्व यहाँ नेपाली सैनिकहरूले पूजाआजा गरेको बताइन्छ ।
देउती बज्यै
सुर्खेतको ऐतिहासिक धार्मिक स्थल देउती बज्यै मन्दिर धार्मिक पर्यटकीय स्थलका रूपमा प्रख्यात छ । सदरमुकाम वीरेन्द्रनगर बजारबाट साढे ३ किलोमिटरको दूरीमा रहेको मन्दिरमा देवीका दुवै पाइला भएकाले त्यहाँ दर्शन गर्ने भक्तजनको घुइँचो लाग्छ । मन्दिरमा बोका बलि दिने, परेवा उडाउने तथा घण्टी चढाउने परम्परा छ ।
गढीमाई
बलिका लागि चर्चित गढीमाइको मन्दिर बारा जिल्लामा पर्छ । सदरमुकाम कलैयाबाट करिब आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईमा पाँच–पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि मेला लाग्छ । बडादसैंका बेला यहाँ राँगा तथा बोकाको विशेष बलि दिने चलन छ । गढीमाईको पूजाआजा गर्दा ककांलीमाई, जाखिनमाई तथा भक्तिमाईको पनि पूजा गरिन्छ ।
कालिकास्थान
काठमाडौंको डिल्लीबजारस्थित कालिकास्थान मन्दिरमा कालीको मूर्ति राखिएकाले वरिपरिको ठाउँलाई नै कालिकास्थान भन्न थालिएको हो । दुई तलाको कालिकास्थान मन्दिरको माथिल्लो तलामा कालीको मूर्ति छ भने तल्लो तला पुजारी बस्छन् । यहाँ विशेष गरी दसैंको अवसरमा श्रद्धालुहरूको भीडभाड हुन्छ ।
शोभा भगवती
काठमाडौंको प्रसिद्ध धार्मिक स्थलमध्ये शोभा भगवतीको पनि विशेष महत्व छ । बालाजु तथा क्षेत्रपाटी बाट नजिकै पर्ने शोभा भगवतीको मन्दिर विष्णुमती नदीको किनारमा अवस्थित छ । यहाँ नवरात्रीमा मेला लाग्छ । भक्तजन शुभकार्य सुरुवात वा पदोन्नतिको मनोकांक्षा लिएर यो मन्दिर पुग्छन् ।