साप्ताहिक संवाददाता
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन पर्ने लक्ष्मीपूजाको साँझ ऐश्वर्य, धनधान्य–सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरिन्छ ।
यो दिन बिहानदेखि सरसफाइ गरेर घरलाई रातो माटोले लिपपोत गरी लक्ष्मीलाई आमन्त्रण गर्ने काम हुन्छ । बेलुकी दीपावली गरेर धनकी देवी लक्ष्मीको पूजा गरिन्छ ।
लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भनिन्छ । साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने स्थानसम्म रातो माटोले बाटो बनाएर चामलको पीठो तथा अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।
दीपावली गरिसकेपछि पूजाकोठामा दियो, कलश तथा गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी एवं फूलमाला चढाउँदै लक्ष्मीको पूजा गरिन्छ ।
लक्ष्मीपूजा गरेपछि उक्त दिन धनसम्पत्ति तथा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास पनि रहिआएको छ ।
घरमा कुवेरको मूर्ति राख्दा धन वृद्धि हुनुका साथै कमलको फूल चढाउँदा लक्ष्मी प्रसन्न हुने विश्वास गरिन्छ ।