सानै देखि एकदमै मिल्ने दिदीभाइ हुन्– निकिता र निरक पौडेल । ६ वर्षको अन्तरालमा जन्मिएका निरक दिदीसँग सारै मिल्छन् । दार्जीलिङ र मसुरीका होस्टलमा बसेर पढेका यी दिदीभाइबीचको माया देखेर सबैले कस्तो मिलेका भन्थे । दिदीको छुट्टी अलि पहिले हुँदा एकपटक निरक दार्जीलिङ होस्टलबाट भागेर काठमाडौं आइपुगेका थिए ।
त्यति बेला स्कूल पढ्दा ब्वाइ फ्रेन्ड, गर्ल फ्रेन्ड बनाउने फेसन नै थियो । निरकलाई निकिताका सबै ब्वाइफ्रेन्डले चिन्थे भने निकितापनि निरकका सबै गर्लफ्रेन्डलाई चिन्थिन् । उनीहरू एक–अर्काका ब्वाइफ्रेन्ड–गर्लफ्रेन्डहरूलाई ब्लफ कल गर्थे अनि एक–अर्काको कुरा लुकी–लुकी सुन्थे । उनीहरू सँगसँगै बसन्त श्रेष्ठकहाँ नृत्य सिक्न जान्थे भने सँगै कम्प्युटरसमेत सिक्थे ।
अहिले निकिता गोपीकृष्ण इन्टरटेन्टमेन्ट तथा गोपीकृष्ण मुभिज्को चियरपर्सन हुन् भने निरक एक्जुकेटिभ डाइरेक्टर तथा एनएफडीसीका महाप्रबन्धक । यसरी यी दिदी–भाइ आफ्नो बुबाको कामलाई काँधमा काँध मिलाएर अघि बढाइरहेका छन् । निरक र निकिता दिदीभाइभन्दा बेस्ट फ्रेन्ड बढी हुन् ।
निकितालाई सबैभन्दा माया निरककै लाग्छ । निरकले लन्डनमा पढ्दै काम गरेर कमाएको पैसाले निकितालाई कोट उपहार पठाएका थिए, जुन अहिले पनि उनीसँगै छ ।
समान पक्ष : दुवैलाई पीरो र चटपटे परिकार मन पर्छन् । उनीहरू साथीभाइहरूसँग रमाइलो गर्न तथा घुम्न रुचाउँछन् ।
असमान पक्ष : निरक अलि परिपक्व छन्, सोचेर बोल्छन् भने निकिता मनमा लागेपछि जे पनि भनिहाल्छिन् ।