साप्ताहिक संवाददाता
माघ १ गतेलाई नेपालमा रहेका विभिन्न जातजाति तथा समुदायले साझा पर्वका रूपमा विभिन्न नामले धूमधामका साथ मनाउँछन् । जाति, समुदाय एवं स्थानअनुसार यो दिनलाई फरक–फरक नामले चिनिन्छ । यो दिन कहीं माघे संक्रान्ति, कहीं मकर संक्रान्ति, कतै माघी त कतै घ्यूकु सँल्हु, तिला संक्रान्तिजस्ता अनेक नामले प्रसिद्ध छ । हिन्दू धार्मिक मान्यताअनुसार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुँदा यसलाई मकर संक्रान्ति भनिएको हो । सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ सर्ने भएकाले यसै दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ । यो दिनलाई धार्मिक हिसाबले मात्र नभएर कतिपयले नयाँ वर्ष त कतिपयले समय परिवर्तनको सुरुवातका रूपमा समेत लिएको पाइन्छ ।
खस आर्य : खस आर्य समुदायमा यो दिन पवित्र नदी, सागर तथा त्रिवेणीमा नुहाएर मन्दिरमा पूजा गरी दान गरिन्छ । यो दिन गरिने दानबाट विशेष फल प्राप्त हुने विश्वास छ । दान गरिसकेपछि खस आर्यहरू घिउ, चाकु, तिलको लड्डु तथा तरुल खाएर यो दिनलाई विशेष उल्लासका साथ मनाउँछन् । तातो तेल शरीरमा घसेर पोसिलो खाना खाँदा जाडो भाग्ने तथा छालासम्बन्धी रोग नाश भै मानिस निरोगी हुने विश्वास रहँदै आएको छ ।
नेवार : नेवार समुदायमा यो पर्वलाई घ्यूकु सँल्हु भनिन्छ । नेवार समुदायमा खाइने घिउ र चाकुको मिश्रणबाट यो पर्वको नामकरण गरिएको हो । यो दिन चाकुमा तिल मिसाएर लड्डु बनाई खाने तथा दान दिने चलन छ । यो दिन बिहान नुहाएर घरको सरसफाइ गरी देवी–देवताको पूजा गरिन्छ । पूजाआजापछि परिवारका सबै सदस्य भेला भएर खानपिन गरी घाम ताप्दै भजन–कीर्तनसमेत गर्छन् । सन्तान नभएकाहरूले भक्तपुरको तिल माधवनारायण मन्दिरमा चढाइएको घिउ खाए सन्तान प्राप्त हुने विश्वाससमेत छ ।
मैथिली : मिथिला क्षेत्रमा माघ १ गतेलाई तिला संक्रान्तिको नामले मनाइन्छ । यही दिनदेखि मैथिली समुदायका कन्याहरू राम्रो वर प्राप्तिको कामना गर्दै तुसारी पर्वसमेत मनाउन थाल्छन् । विवाहित महिलाहरूले भने पृथ्वी पर्व मनाउँछन् । यो पर्वमा भर्खरै विवाह भएका दुलाहाले दुलहीको माइतीमा कोसेलीका रूपमा तिल, चिउरा तथा जाडोमा लगाउने लुगा पठाइदिने चलन छ जसलाई जडाउर भनिन्छ । मिथीलावासीहरू यही दिनदेखि माघ नुहाउन थाल्छन् र महिनाभर नुहाएर घिउ–खिचडी खान्छन् ।
थारु : थारु समुदायको सबैभन्दा ठूलो पर्व माघी हो । यो दिन थारु समुदायमा मासको दाल तथा चामल मिसाइएको खिचडी (माघी) खाने चलन छ । पुसको अन्तिम दिन घरमा काटिएको सँुगुरको मासु, ढिकरी, माछा आदिको परिकार बनाएर जाँड–रक्सीसहितको भोज खाएर रातभर नाचगान गरिन्छ । यतिबेला थारु समुदायमा गाइने विशेष गीतलाई धमार भनिन्छ । माघीको दिन बिहानै नजिकैको खोलामा नुहाउने र घरमा आइ दाल, चामल नुन छोएर आफूभन्दा ठूलालाई ढोगी आशीर्वाद लिने चलन छ । यो प्रक्रिया आफ्नो घरबाट सुरु भएर गाउँका सबै घर घुमेर सम्पन्न गरिन्छ । माघिको दिन स्नान गरी आगो ताप्दा वर्षभरिको पाप पखालीने विश्वाससमेत थारु समुदायमा छ । यो पर्वको अर्को महत्वपूर्ण पक्ष यही दिनदेखि थारु समुदायको आर्थिक वर्ष प्रारम्भ हुनु पनि हो । थारु समुदायमा यो पर्वका अवसरमा छोरीचेलीलाई उपहार दिने चलन छ जसलाइ निसराउ भनिन्छ । पश्चिम तराइको थारु समुदायमा यही दिन नयाँ अगुवा तथा सहायक अगुवा चुन्ने चलनसमेत छ । अगुवालाई ठाउँअनुसार बडघर, ककनदार, भलमनसा, महटवा आदि भनिन्छ ।
मगर : माघे संक्रान्ति मगर समुदायमा पनि धूमधामसँग मनाइन्छ । यो समुदाय तीन दिन माघे संक्रान्ति मनाउने चलन छ । यही दिन चेलीवेटीदेखि पितृसम्मको विशेष पूजा गरिन्छ । दिदी–बहिनीलाई वनतरुलले पूजा गरी धान कुट्दै सख्खर तथा घरतरुल खाइन्छ भने केटाकेटीहरूले धनुकाँड खेल्दै संक्रान्तिको सुरुवात गर्छन् । दोस्रो दिन वनभोज जाने चलन छ, जसलाई माघ खाने भनिन्छ । बेलुका दिन ढल्दै गएपछि चौतारामा भेला भएर नाच्ने मगरहरू तेस्रो दिन तारो हान्ने खेलमा व्यस्त हुन्छन् ।
किराँत, राई तथा लिम्बू : किराँत, राई तथा लिम्बू समुदायले काठमाडौ उपत्यकामा विजय हासिल गरेको घटना स्मरण गर्दै माघ १ गतेलाई नयाँ वर्षका रूपमा मनाउँछन् । लिम्बू, राई तथा सुनुवार समुदायले यही दिनलाई येले संवत्, कक्फेक्वा तङ्नामजस्ता नामले नयाँ वर्षका रूपमा मनाउँछन् । माघे संक्रान्तिमा लिम्बू समुदायले मासु, तरुल, घिउ आदि खाएर मेला भर्ने तथा धान नाच्ने चलन छ । त्यसैगरी राई समुदायमा वनतरुल, घरतरुल, गिट्ठा, भ्याकुरजस्ता जंगली कन्दमूल उसिनेर खाने चलन छ ।
घिउ
घिउमा हाई स्मोक प्वाइन्ट हुन्छ ।
घिउ लामो समयसम्म नबिग्रने तथा आफैं जम्ने भएकाले यसलाई प्रिजमा राख्नु पर्दैन ।
घिउमा भिटामिन ‘ए’ तथा ‘ई’ हुन्छ ।
घिउको सेवनले रोग प्रतिरोधक क्षमता बलियो बनाउँछ ।
चाकु
माघे संक्रान्तिको अवसरमा नरिवल, खुवा, तिल आदि हालेर तयार पारिएको चाकु खाने चलन छ ।
चाकुले जाडो मौसममा न्यानो महसुस गराउँछ ।
शक्तिप्रदायक चाकुमा प्रशस्त मात्रामा कार्बोहाइड्रेड हुन्छ ।
चाकु खाँदा शरीरलाई इनर्जी प्राप्त हुन्छ ।
चाकुमा क्याल्सियम, आइरन तथा क्यारोटिन पनि पाइन्छ ।
नेवार समुदायमा सुत्केरी महिलालाई चाकु ख्वाउने चलन छ । यसले शरीरलाई शक्ति प्रदान गर्नुका साथै खोकी निको पार्ने तथा पाठेघर खुम्च्याउन सहयोग गर्ने जनविश्वास छ ।
तिल
तिलबाट ऊर्जा प्राप्त हुन्छ । यसमा प्रोटिन पनि पाइन्छ ।
कालो तिल सबैभन्दा बढी गुणकारी हुन्छ । तिलबाट प्रशस्त मात्रामा भिटामिन ई प्राप्त गर्न सकिन्छ ।
जाडो मौसममा तिलको लड्डु खाए शरीरको तापक्रमका साथै रोगप्रतिरोधक क्षमता पनि वृद्धि हुन्छ ।
तिलमा फाइबर हुने भएकाले पाचनक्रिया सुचारु हुन्छ ।
तिलमा स्ट्रेस कम गर्ने मिनरल्स, म्याग्नेसियम तथा क्याल्सियम पाइन्छ ।
तिलको तेलले सूर्यको हानिकारक किरणले ड्यामेज गरेको छालाको उपचार गर्नुका साथै चाउरी तथा पोतोसमेत हटाउँछ ।
तिलको तेलले केश स्वस्थ तथा स्काल्प राम्रो बनाउँछ ।
खिचडी
चिसोबाट जोगिन चामल, कालो मासको दाल तथा घिउ मिसाएर खिचडी खाइन्छ ।
पोषक तत्त्वले युक्त खिचडीमा मसला प्रयोग नहुने भएकाले यसलाई पचाउन सजिलो हुन्छ ।
यसमा कार्बोहाइड्रेड, भिटामिन, क्याल्सियम, फाइबर, म्याग्नेसियम, फस्फोरस तथा पोटासियम पाइन्छ ।
खिचडी खाँदा न्यानो महसुस हुनुका साथै शरीरलाई तागत प्राप्त हुन्छ ।