रंगहरूको पर्व भनिए पनि होलीमा पानीको प्रयोग बढी नै हुन्छ । एकक्षण पनि छोड्न नसक्ने तर होली खेल्ने चाहना पनि राख्ने व्यक्तिहरूका लागि त होलीले तनाव नै सिर्जना गर्छ । अझ होली खेल्ने बानी नभए पनि अरूले अचानक आएर भिजाइदिने, रंग दल्ने आदि प्रवृत्तिले गर्दा होली खेल्ने तयारी नै नगर्दा पनि कतिपय अवस्थामा होली खेल्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ । मोबाइल, घडी तथा महँगा ग्याजेटहरू लगाएर हिँड्ने यो जमानामा होलीबाट ती सामग्रीहरू जोगाउन हम्मेहम्मे नै पर्छ ।
पानीले भिज्नबाट कसरी जोगाउने ?
जिप–लक पाउचको प्रयोग
बजारमा सजिलै पाइने जिप–लक पाउच वाटरप्रुफ प्याकेट हो । सस्तो मूल्य, सरल तथा पुन: प्रयोग गर्न सकिने विशेषताहरूका कारण यसलाई होलीमा मोबाइल तथा ग्याजेटहरू जोगाउन प्रयोग गर्न सकिन्छ ।
वाटरप्रुफ मोबाइल ब्याग
मोबाइल नै बोक्न बनाइएका वाटरप्रुफ ब्यागहरू पनि बजारमा प्रशस्त पाइन्छन् । बिशेष सुविधायुक्त यी ब्यागमा फोन राखेर बाहिरैबाट प्रयोग गर्न मिल्छ भने केही ब्यागलाई पाइन्ट वा बेल्टमा बाँध्न मिल्ने सुविधा हुन्छ । यसले गर्दा मोबाइलको सुरक्षामा न्यूनतम ध्यान दिँदा पनि हुन्छ ।
बेलुनको छाला
एउटा बेलुन फुलाउने र उक्त फुलेको बेलुनमा मोबाइल टाँसेर थिच्दै क्रमश: बेलुन उल्टो हुने गरी बेलुनभित्र मोबाइल हाल्ने । त्यसो गर्दा फोन बेलुनभित्र छिरेपछि त्यसमा भएको सम्पूर्ण हावा निकालेर बेलुनलाई बाँध्ने । यसबाट पनि फोनलाई होलीको रंग र पानीबाट जोगाउन सकिन्छ ।
कन्डमको प्रयोग
बेलुनको छाला लगाउने विधिझैं स्मार्ट स्किन नामक कम्पनीले बजारमा ल्याएको कन्डम प्रयोग गर्न सकिन्छ । यो कन्डम फोनलाई पानी, धुलो, हिउँ आदिबाट जोगाउनकै लागि उत्पादन गरिन्छ ।
वाटरप्रुफ स्प्रे कोट
बजारमा बिभिन्न ब्रान्डका वाटरप्रुफ स्प्रे उपलब्ध हुन्छन् । उक्त स्प्रे फोनमा छर्किए ६ देखि १२ महिनासम्म फोन वाटरप्रुफ हुन्छ । यसले गर्दा होलीमा पानीको प्रयोग भए पनि मोबाइल सुरक्षित रहन्छ ।
मोबाइल भिज्यो ? यसो गर्नुहोस्
जति जोगाउँदा–जोगाउँदै पनि होलीमा मोबाइल भिज्यो भने के गर्ने ?
यी कार्य गर्दै नगर्नुहोस्
फोन अन गर्ने गल्ती नगर्नुहोस् । त्यसैगरी फोनका कुनै पनि बटन नाथिच्नुहोस् । पानी निस्कन्छ भनेर फोनलाई हल्लाउने गल्ती पनि नगर्नुहोस् । पानी सुकाउन फोनमा फुक्ने काम गर्दा पानी थप पिँmजिन सक्छ । त्यसैले यो गल्ती पनि नगर्नुहोस् र फोनलाई आगोको छेउमा राखेर तताउने कार्य पनि नगर्नुहोस् ।
के गर्ने ?
फोन भिजिसकेर पनि अन नै छ भने अफ गर्नुहोस् ।
मोबाइल जोगाउन प्रयोग गरिएको खोल निकाल्नुहोस् साथै मेमोरी कार्ड तथा सिमकार्ड पनि फोन बाहिर झिक्नुहोस् ।
मोबाइलबाट ब्याट्री पनि झिक्नुहोस् ।
भिजेको मोबाइललाई सुख्खा कपडाले पुछ्नुहोस्, याद राख्नुहोस् यसो गर्दा मोबाइलमा पानी फैलन दिनुहुँदैन । फोनको पानी कपडाले सोसेजति सोस्न दिनुहोस् ।
यदि पानी भित्रैसम्म पसेको छ भने भ्याकुमको सहायताले बिस्तारै पानी निकाल्न सकिन्छ तर यसमा जोखिम पनि हुन्छ । भ्याकुम प्रयोग गर्दा मेमोरी कार्ड र सिमकार्ड फोनबाट बाहिर निकालिएको हुनुपर्छ ।
फोनको पानी हटाउन फोनलाई चामलमा गाड्न सकिन्छ । केही घण्टा (२० देखि ३६ घण्टा) फोनलाई चामलभित्र राख्दा फोनभित्रको पानी चामलले सोस्छ, तर यसो गर्दा चामलको भुस फोनभित्र पसेर फोन बिग्रने सम्भावना हुन्छ ।
चामलबाट निकालेर फोन अन गर्नुहोस्, अन भएन भने चार्ज गर्नुहोस्, यति गर्दा पनि भएन भने फोनलाई कुनै राम्रो मेकानिक कहाँ लानुपर्नेछ ।
भिजेको फोन सुकाउन हेयर ड्रायरको सहायता लिन सकिन्छ । यसो गर्दा फोनका महत्वपूर्ण सर्किटहरू डिसकनेक्ट भएर पार्टपुर्जाहरू बिग्रने सम्भावना हुन्छ ।
जुत्तालगायतका विभिन्न सामानमा आउने ‘सिलिका’ प्रयोग गरेर पनि भिजेको फोनको पानी हटाउन सकिन्छ ।