साप्ताहिक संवाददाता
रंगको पर्व होली निकै रमाइलो पर्व हो । यो दिन अनुहारमा विभिन्न रंग प्रयोग गरी पेन्टिङ गरिन्छ ।
कतिपय रंग स्थायी हुने भएकाले धुँदा सजिलै जाने रंग प्रयोग गर्नुपर्छ । रंग हटाउन मन तातो पानीले अनुहार पखाल्नुपर्छ ।
अनुहारमा नरिवलको तेल लगाएर केही समय मसाज गरेपछि पखाल्नुपर्छ । यसले छालाको रंग हट्छ ।
रंग पखालिसकेपछि अनुहार तथा बाह्य छालामा गुलाब जल, तेल तथा दूध एवं बेसन मिसाएर तयार पारिएको मिश्रण लगाउनुपर्छ । त्यसको पाँच मिनेटपछि फेसवासले अनुहार पखाल्न सकिन्छ ।
गुलाबजलसँगै ग्लिसिरिन मिसाएर लगाइएको केही समयपछि मन तातो पानीले सफा गर्नुपर्छ ।
कागती तथा घिउकुमारीको क्लिन्जर प्रयोग गर्नुपर्छ । यसले रंग हटाउनुका साथै रंगमा भएका हानिकारक रसायनको प्रभाव कम गर्छ ।
टुथपेस्ट लगाएर पाँच मिनेटपछि अनुहार धुँदा पनि सजिलै रंग जान्छ ।
रंगको एलर्जी
होलीमा प्रयोग हुने रंगले छालामा हानी पुर्याउने भएकाले होली खेल्नुअघि सनस्क्रिन लोसन तथा मोस्चराइजर लगाउनु उपयुक्त हुन्छ ।
आँखामा रंग परे दृष्टिमा असर पर्ने भएकाले सन ग्लास लगाउन सकिन्छ ।
होली खेल्नुअघि केशमा तेल लगाउनुपर्छ । यसो गर्दा रंग सिधै छालामा पर्दैन ।
लामो बाहुला भएका पहिरन लगाउनुपर्छ ।
टल्कने रंगले छिटो असर गर्ने भएकाले त्यस्तो रंग प्रयोग गर्नु हुँदैन ।