काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा धूमधामका साथ मनाइने एउटा परम्परागत पर्व हो— गाईजात्रा । नेपाली समाजको एउटा महत्वपूर्ण सांस्कृतिक पर्व पनि हो । खासगरी नेवार संस्कृतिबाट प्रारम्भ भएको यो एउटा यस्तो जात्रा हो, जुन अहिले व्यंग्य गर्ने दिनका रूपमा समेत स्थापित छ । गाईजात्रामा नेवार समुदायका मानिसहरू पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्छन् ।
गाईजात्राको दिन कतै–कतै भजन–कीर्तनसमेत गरिन्छ । गाईजात्रा भाद्र शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट पर्छ । वर्ष दिनभित्र मरेका मानिसको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रालाई नेवार समुदायले मात्र होइन, नेपालका नयाँदेखि पुराना हास्य कलाकारहरूले समेत उत्तिकै उत्साहका साथ मनाउँछन् ।
आफ्ना नजिकका मानिसको निधन भएपछि उनीहरूको सम्झनामा गाईलाई अघि लगाएर विभिन्न वेशभूषाका साथ जात्रा निकालिने यो पर्वले एकातिर पुर्खाप्रतिको सम्मान व्यक्त गरेको छ भने अर्कातिर यसले शोकको यस्तो घडीमा पनि धैर्यधारण गर्ने प्रेरणा दिने संस्कृतिविद्हरूको कथन छ । वर्ष २०७५ को गाईजात्रा भदौ ११ गते सोमबार मनाइँदैछ ।
हास्यकलाकारको दसैं
गाईजात्राले झन्डै एक साताका लागि समाजका विकृति–विसंगतिविरुद्ध खुलेर व्यंग्य गर्ने अवसर प्रदान गर्छ । त्यही अवसरलाई नेपालका हास्य कलाकारहरूले खुलेर सुदपयोग गर्ने परम्परा छ । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएयताका हरेक गाईजात्रामा हास्य कलाकारहरूले विभिन्न रंगमञ्चमार्फत सामाजिकदेखि राजनीतिक विषयवस्तुहरूमाथि व्यंग्य कस्दै आएका छन् । कतिपय हास्यकलाकार त गाईजात्रालाई हास्यकलाकारहरूको दसैंका रूपमा चित्रण गर्नसमेत पछि पर्दैनन् ।
गाईजात्राको अवसर पारेर विगतमा धेरैवटा व्यंग्यात्मक कार्यक्रम आयोजित भए पनि पछिल्ला केही वर्षयता अधिकांश हास्यकलाकार चलचित्र निर्माण, निर्देशन तथा अभिनयमा व्यस्त हुन थाले । परिणामस्वरूप गाईजात्रे हास्य व्यंग्य कार्यक्रमको संख्या पनि घटन थालेको छ । गाईजात्रे कार्यक्रममा हास्य कलाकारहरूले हास्य व्यंग्यका विविध खुराक प्रस्तुत गर्छन् । प्यारोडी गीत, नृत्य, प्रहसन, व्यंग्य कविता आदि विधाका माध्यमबाट राजनीतिक तथा सामाजिक क्षेत्रका विकृति आँैल्याउने अवसर पनि गाईजात्राले नै जुटाइदिन्छ । गाईजात्रे महोत्सवमा प्रस्तुत गरिने अधिकांश प्रहसन तथा क्यारिकेचर राजनीतिप्रति लक्षित भएको पाइन्छ ।
यो वर्षको गाईजात्रे कार्यक्रम
गाईजात्राको अवसर पारेर कुनै बेला काठमाडौंमा तीन भिन्न प्रेक्षालयमा झन्डै दुई सातासम्म हास्य व्यंग्यात्मक कार्यक्रम सञ्चालन हुन्थे । यो वर्ष प्रेक्षालयको अभाव तथा अधिकांश कलाकार चलचित्र निर्माण तथा अभिनयमा व्यस्त भएकाले एउटा मात्र प्रेक्षालयमा गाईजात्रे कार्यक्रम हुँदैछ ।
यो वर्षको गाईजात्रा विशेष कार्यक्रम आगामी भदौ ११ गते सोमबारदेखि काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित गरिँदैछ । यसपटकको गाईजात्रा विशेष कार्यक्रम ‘हास्य महोत्सव–२०७५’ शीर्षकमा आयोजना गरिँदैछ ।
कलाकारहरू प्रभाकर देव शर्मा, दमन रुपाखेती तथा शिव शंकर रिजाल ‘जोगिन्दर पानवाला’ को नेतृत्वमा सञ्चालन हुने उक्त महोत्सव एक सातासम्म चल्ने बताइएको छ । गाईजात्राको दिन अर्थात् सोमबार साँझ ५:३० बजे प्रारम्भ हुने यो महोत्सव विदाको दिन दुई शो (दिउँसो २:३० तथा साँझ ५:३०) सञ्चालन गरिनेछ । गुञ्जिता टेलिसंसारले आयोजना गर्ने यो वर्षको गाईजात्रा कार्यक्रममा झन्डै दुई दर्जन हास्यकलाकारले विभिन्न प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गर्नेछन् । गीत, संगीत, नृत्य, प्यारोडी, कविता, प्रहसनसहितको उक्त कार्यक्रम साढे दुई घण्टाको हुनेछ ।
यसपटकको गाईजात्रे महोत्सवमा १५ देखि २० मिनेटका पाँच वटा प्रहसनसहित विभिन्न प्रस्तुति समावेश गरिएका छन् । कार्यक्रममा प्रहसनका अतिरिक्त व्यंग्यकार राजा राजेन्द्रको व्यंग्यात्मक उद्घोषण प्रमुख आकर्षण रहनेछ । कार्यक्रममा गायक तथा संगीतकार टीका भण्डारीको प्यारोडी, हरिशा बानियाँको आइटम डान्स तथा बबिता बानियाँको भजन–प्रवचन पनि आकर्षणकै रुपमा रहनेछन् । यो कार्यक्रम हेर्न ३ सय, ५ सय तथा १ हजार रुपैयाँको टिकट काट्नुपर्नेछ ।