साप्ताहिक संवाददाता
सञ्चारमाध्यमको विकाससँगै कलाकारिताका विभिन्न विधामा प्रवेश गर्नेहरूको लर्को लागेको छ । यसको प्रभाव हास्यव्यंग्य क्षेत्रमा पनि छ । अहिले हाँस्यव्यंग्यको क्षेत्रमा नयाँ–नयाँ अनुहारहरू देखापर्न थालेका छन् । यिनै कमेडियनहरूले विभिन्न माध्यममार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिरहेका छन् । दिनेश काफ्ले पछिल्लो पुस्ताका चर्चित कमेडियन हुन् । स्टेज कार्यक्रमबाटै चर्चामा आएका काफ्ले युवापुस्तामाझ निकै लोकप्रिय छन् । ०७० सालदेखि यो क्षेत्रमा सक्रिय रूपमा लागेका काफ्लेको पृष्ठभूमि रंगमञ्च तथा रेडियो कार्यक्रम हो । काफ्लेले प्लस टुमा अध्ययन गर्ने क्रममा कमलपोखरीस्थित शैली थिएटरमा अभिनय सिकेर ४/५ वटा नाटकमा समेत अभिनय गरेका थिए ।
त्यसपछि उनी रेडियो अडियोमा गोलमाल, अडियो मार्केट, मिस्टर मुइँया आदि कार्यक्रम सञ्चालन गर्न थाले । उक्त कार्यक्रमले आफूलाई श्रोतामाझ आंशिक चिनाएको काफ्ले बताउँछन् । काफ्ले ०७० देखि हास्यविधामा सक्रिय रूपमा लागे । त्यतिबेला उनी स्टेज कार्यक्रममा माग्ने बुढाको अभिनयको क्यारिकेचर गर्थे । त्यही क्यारिकेचरले आफूलाई सर्वत्र चिनाएको दिनेश बताउँछन् । यसरी विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूको क्यारिकेचर गर्दै जाँदा काफ्लेलाई देश–विदेशका कार्यक्रमबाट निमन्त्रणाको ओइरो लाग्न थाल्यो । उनले एकवर्ष पहिले हरेक क्षेत्रका एक सय जनाभन्दा बढी व्यक्तिको क्यारिकेचर गरेको भिडियो युट्युबमार्फत सार्वजनिक भयो । उक्त भिडियो भाइरल समेत भयो । यही क्रममा उक्त भिडियो हेरेर पत्रकार रवि लामिछानेले गिनिज बुकमा नाम लेखाउन पहल गर्न सुझाव दिएको काफ्ले सम्झन्छन् । एक सय जनाको क्यारिकेचर गरेको भिडियो सार्वजनिक भएपछि काफ्लेलाई देश–विदेशका विभिन्न कार्यक्रमबाट बोलाउन थालियो । उनले मलेसिया, ओमान, कोरिया आदि देशमा प्रस्तुति दिइसकेका छन् । आफूले अहिलेसम्म देश–विदेशमा गरी करिब ५ सयभन्दा बढी स्टेज कार्यक्रममा प्रस्तुति दिइसकेको काफ्ले बताउँछन् । जो कसैले पनि आफू जुन पेसा आबद्ध हुन्छ त्यसमा हजार सपना देखिसकेको हुन्छ । काफ्लेको पनि गिनिज बुकमा लेखाउने तथा अमेरिकन गड ट्यालेन्टमा सहभागी हुने सपना छ ।
लेखमणि त्रिताल पछिल्लो पुस्ताका अर्का हास्यकलाकार हुन् । विद्यालय तह देखि नै अभिनयमा रुचि राख्ने त्रिताल जब स्नातक तह अध्ययनका लागि क्याम्पस पुगे त्यहाँ उनले नयाँ साथीहरू भेटेसँगै उनीहरूलाई आफ्नो प्रतिभाले आकर्षित गर्न थाले । यही क्रममा उनलाई साथीहरूले एउटा युट्युब च्यानल खोलेर अभिनय गर्न सुझाव दिए । त्यसपछि त्रितालसहित ८ जना साथी मिलेर नेप–ग्याजम नामक युट्युब च्यानल खोले । उक्त च्यानलमा त्रिताल आफ्ना स्ट्याण्डअप कमेडीका भिडियोहरू अपलोड गर्छन् । गत वर्षको भ्यालेन्टाइन डेको अवसर पारेर उनले उक्त च्यानलमा पहिलोपटक भिडियो अपलोड गरेका थिए । उक्त भिडियोले राम्रो प्रतिक्रिया पाएपछि आफूलाई यो क्षेत्रले तानेको त्रिताल बताउँछन् । युवापुस्तामाझ लोकप्रिय बन्दै गएका त्रिताल अरूको क्यारिकेचर गरेर भन्दा पनि फरक खालका प्रस्तुति दिएर दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्ने आफ्नो उद्देश्य रहेको बताउँछन् । नेपालमा स्ट्याण्डअप कमेडी भर्खरैमात्र आएको हो । त्रिताल भन्छन्, ‘नेपाली स्ट्याण्डअप कमेडीलाई पनि विदेशको जस्तै गरी विकास गर्ने लक्ष्य लिएको छु ।’
यसैगरी एस जोडी नामले परिचित अजय रेग्मी र सुदीप खतिवडा पनि हास्यव्यंग्यको क्षेत्रमा सक्रिय छन् । विद्यालय तहदेखि नै विभिन्न क्षेत्रका व्यक्तिहरूको क्यारिकेचर गरेर मनोरञ्जन प्रदान गर्दै आएको यो जोडीको भेट अध्ययनको सिलसिलामा एडमार्क कलेजमा भएको थियो । सुरुसुरुमा यो जोडीले मेरीबास्सै, खासखुस आदि हाँस्य टेलिश्रृंखलामा अभिनय गरेको थियो । आफूले त्यहाँ लिएको अनुभव सदुपयोग गर्दै यो जोडी विभिन्न कार्यक्रम तथा महोत्सवका स्टेज कार्यक्रमहरूमा सँगै प्रस्तुति दिन थाल्यो । अहिले आफ्नो बाँच्ने आधार भनेकै स्टेज कार्यक्रम भएको उनीहरू बताउँछन् । यो जोडीले स्टेज कार्यक्रममा विभिन्न विषयवस्तुमा आधारित रहेर प्रहसनमार्फत मनोरञ्जन प्रदान गर्दै आएका छन् । यो जोडीले देशका विभिन्न ठाउँहरूमा पुगेर सामाजिक विकृतिका विरुद्ध सडक नाटक समेत प्रदर्शन गर्दै आएको छ ।
अहिले निकै चर्चामा रहेका अर्का कमेडियन हुन्– सुबोध गौतम । उनको पृष्ठभूमि अरूको भन्दा अलि फरक छ । गौतम राजनीति पृष्ठभूमिबाट यो क्षेत्रमा प्रवेश गरेका कलाकार हुन् । उनी तत्कालीन माओवादी जनयुद्धका लडाकु थिए । यद्यपि उनी अहिले विशुद्ध कलाकार भएका छन् । आफूमा राजनीतिक चेतना भएको तर कुनै पनि राजनीतिक दलको विरोध वा समर्थनमा नरहेको गौतम बताउँछन् । राजनीतिक यात्राकै क्रममा आफूमा कलाकारिताप्रति रुचि जागेको उनी सुनाउँछन् । ०६५ सालको कुरा हो । कमलादीस्थित प्रज्ञा भवनमा बिना गौतमको नेतृत्वमा एउटा कार्यक्रम आयोजित गरिएको थियो । उक्त कार्यक्रममा गौतमले स्टेजमा पहिलो प्रस्तुति दिएका थिए । उक्त प्रस्तुतिबाट आफूले राम्रो प्रतिक्रिया पाएको उनी बताउँछन् ।
पहिलो स्टेज कार्यक्रबाटै सफलता हात पारेका गौतमलाई त्यस पछिका दिनमा चिनजानका साथीहरूले विभिन्न कार्यक्रममा बोलाउन थाले । त्यसपछि उनलाई यो क्षेत्रले अझ तान्न थाल्यो । यही सिलसिलामा उनी सन् २०१५ मा अष्ट्रेलियाको एउटा कार्यक्रममा सहभागी हुन पुगे । गौतमको विशेषता क्यारिकेचर हो । उनमा विभिन्न क्षेत्रका १ सय ५० भन्दा बढी व्यक्तिको क्यारिकेचर गर्न सक्ने क्षमता छ । उनको प्रतिभालाई धेरैले माया गर्छन् । पुष्पकमल दाहाल (प्रचण्ड), बाबुराम भट्टराईदेखि दीपकराज गिरी, सन्दीप क्षेत्रीसम्म आफ्नो प्रशंसक भएको उनी बताउँछन् । स्टेज कार्यक्रम तथा क्यारिकेचरबाटै आफूलाई चिनाएका गौतमले हालसम्म देश तथा विदेशका एक हजारभन्दा बढी स्टेज कार्यक्रममा प्रस्तुति दिइसकेका छन् । यसका साथै, उनले मेरी बास्सै, भद्रगोल, हर्के हल्दार, जिरे खुर्सानी, डिठ्ठा साब आदि हाँस्यटेलिश्रृंखलामा समेत अभिनय गरेका छन् ।
सुमन कार्की चर्चामा रहेका अर्का युवा कमेडियन हुन् । केही समययता उनी मेला महोत्सवहरूमा व्यस्त छन् । कार्की विद्यालय छदैदेखि कार्की सामान्य नक्कल गरेर साथीभाइहरूलाई हसाउँथे । जब उनी विद्यालय तहको शिक्षा पूरा गरेर कक्षा ११ अध्ययनका लागि मोरङस्थित महेन्द्र उमाविमा भर्ना भए त्यही क्रममा उनले कलेजको एक कार्यक्रममा पहिलोपटक केपी ओलीको क्यारिकेचर गरे । उक्त क्यारिकेचरको प्रशंसाले आफूलाई यो क्षेत्रमा अघि बढ्न हौसला प्रदान गरेको कार्की बताउँछन् । त्यसपछि कार्कीले विभिन्न व्यक्तिहरूको क्यारिकेचर गरेर साथीभाइहरूलाई मनोरञ्जन दिन थाले ।
यही क्रममा उनले रेडियो सुनाखरीमा तालिम लिएर त्यहीँ काम सुरु गरे । त्यहाँ उनी विभिन्न कमेडी कार्यक्रम बनाउँथे । रेडियोमा काम गर्ने क्रममा उनी पूर्वका विभिन्न स्टेज कार्यक्रमहरूमा प्रस्तुति दिन पुग्थे । त्यसपछि उनले ०७२ मा काठमाडौं आएर रेडियो अडियोमा काम सुरु गरे । यही क्रममा हाँस्यकलाकार हरिवंश आचार्यको हरिबहादुर उपन्यास बिमोचनका लागि ऋषि धमलाको क्यारिकेचर गर्ने व्यक्तिको खोजी भयो । अन्तत ऋषि धमलाको क्यारिकेचर गर्ने अवसर सुमनले नै पाए । त्यसपछि उनले हरिवंश आचार्यसँगै नेपाल भ्रमण गरे । त्यसयता देशका विभिन्न स्टेज कार्यक्रममा आफ्नो व्यस्तता बढेको कार्की बताउँछन् । सुमन भन्छन्, ‘महिनामा ५/६ वटा स्टेज कार्यक्रममा प्रस्तुति दिइरहेको हुन्छु ।’
धिताल चिरिच्याट्टको नामले चर्चित कृष्णप्रसाद धिताल पनि चर्चामा रहेका नयाँ पुस्ताका कमेडियन हुन् । सिन्धुपाल्चोकमा जन्मिएका धिताल उक्त क्षेत्रमा निकै चर्चित छन् । विद्यालय तहदेखि नै हास्यव्यंग्यमा रुचि राख्ने धिताल सुरुवाती दिनमा उज्यालो रेडियोमा मनोज गजुरेलसँग डामाडोल शीर्षकको हास्य कार्यक्रम सञ्चालन गर्थे । यहिक्रममा उनले मनोज गजुरेलसँगै विभिन्न कार्यक्रममा प्रस्तुति दिए । सुरु–सुरुमा सित्तैमा थुप्रै स्टेज कार्यक्रम गरेँ । धिताल भन्छन्, ‘मैले पहिलोपटक सिन्धुपाल्चोकको ग्याल्थुमस्थित सरस्वती उमाविमा स्टेज कार्यक्रम गरेबापत २ सय ५० रुपैयाँ पारिश्रमिक पाएको थिएँ ।’ त्यसयता धिताल धेरथोर जति भए पनि स्टेज कार्यक्रममा प्रस्तूति दिएबापत पारिश्रमिक लिएरै छाड्छन् । विशेषगरी स्टेज कार्यक्रममा व्यस्त धितालले आवाज आर्ट क्रिएसनमार्फत सामाजिक विषयवस्तुमा आधारित सडक नाटक समेत गर्दै आएका छन् । धितालले गफै त हो सम्धी, कि कसो आदि गाईजात्रा एल्बम बजारमा ल्याएका छन् । यस्तै, धितालले बाउले भन्छन् मलेसिया जा, व्यापार गर्न धन छैन कमेडी गीत पनि सार्वजनिक गरेका छन् ।
यस्तै, पुरुषोत्तम भण्डारी उर्फ पुर्खे बा पछिल्लो पुस्ताका अर्का कमेडियन हुन् । भण्डारी विद्यालय तहदेखि नै हास्यव्यंग्य प्रस्तुति दिन्थे । यहिक्रममा उनीे बुटवलको रेडियो लुम्बिनी र बुद्ध टेलिभिजनमा कमेडी कार्यक्रम चलाउन पुगे । यसरी रेडियो–टेलिभिजनमा काम गरिरहेका बेला उनलाई पश्चिमका मेला महोत्सवहरूमा बोलाउन थालियो । उनी पुर्खे बा पात्रको भूमिकामा अभिनय गरेर दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्थे । यहिक्रममा उनको माग विभिन्न मेला महोत्सवमा बढ्दै गयो । यतिबेला उनी पुर्खे बा पात्रलाई ब्राण्ड बनाउन लागिपरेका छन् ।
गुल्मीका उज्वल गिरी पनि चर्चामा रहेका युवा कमेडियन हुन् । पश्चिममा निकै चर्चामा रहेका गिरीलाई धेरैले दानवीर नामले नै चिन्छन् । सानैदेखि हास्यव्यंग्यमा रुचि राख्ने दानवीर सुरुवाती दिनमा लोकदोहोरी गीत गाउँथे । यही क्रममा उनले ०६८ सालमा एउटा कमेडी तीज गीतमा अभिनय गरे । त्यसपछि उनले पनि विभिन्न कमेडी गीत बजारमा ल्याए । कमेडी गीतबाट राम्रो प्रतिक्रिया आएपछि उनलाई गुल्मी तथा बुटवलका विभिन्न स्टेज कार्यक्रमहरूबाट निमन्त्रणा आउन थाल्यो । उनी सुरु–सुरुका स्टेज कार्यक्रममा माग्ने बुढाको अभिनय गर्थे । सधैं माग्ने बुढाको अभिनय गर्दा आफ्नो नाम कसैले पनि नचिनेपछि नाम परिवर्तन गरेर दानवीर राखेको गिरी बताउँछन् । म्युजिक भिडियोमा व्यस्त दानवीर अब भने स्टेज कार्यक्रमको तयारीमा छन् ।