साप्ताहिक संवाददाता
अहिले महिनौ अघिदेखि दर खाने चलन छ । यद्यपि कतिपयले भोलिपल्ट व्रत बस्न अघिल्लो दिन मात्रदर खान्छन् ।
भोलिपल्ट व्रत बस्नु पर्ने भएकाले अघिल्लो दिन तेल वा घिउमा बनाइएको शाकाहारी खाना खानु उपयुक्त हुन्छ । यसले शरीरमा ऊर्जा प्राप्त हुन्छ ।
दर खाने दिन जथाभावी चिल्लो, पीरो तथा मसालेदार खाना खानुहुँदैन । त्यसबाट एसिडिटी हुन सक्छ ।
दरका रूपमा सन्तुलित खाना खानुपर्छ । ठिक्क मात्रामा चिल्लो हालेर पुलाउ, चाम्रे, रोटी, मौसमी तरकारीहरू, फलफूल, गेडागुडी, दूध, दही तथा दूधबाट बनेका परिकार, पनीर, चीज आदि दरका रुपमा खान सकिन्छ । यसैगरी तोफु तथा च्याउलाई तरकारीमा मिसाएर खान सकिन्छ । हरियो सागपात तथा सलाद पनि प्रशस्त मात्रामा खानुपर्छ ।
रेशायुक्त खानेकुरा, फलफूल तथा रिफाइन्ड नगरिएका खानेकुरा खानुपर्छ । मैदाको साटो गहुँको सेवन लाभदायक हुन्छ ।
एउटी सामान्य महिलालाई दिनभरिमा १९ सयदेखि २२ सय क्यालोरीको आवश्यकता पर्छ तर यो महिलाको उचाइ तथा वजनमा समेत भर पर्छ ।
दरका रूपमा धेरै खानेकुरा खाँदा अपच भएर डायरिया हुन सक्छ । त्यसैले सीमित मात्रामा सन्तुलित खाना खानु उपयुक्त हुन्छ ।
मधुमेहका रोगीले दरका रूपमा थोरै खाने बरु धेरै पटक खाने । धेरै गुलिया तथा चिल्ला खानेकुरा खानुहँुदैन । सफ्ट ड्रिंक्सको सट्टा दही, मोही अथवा सर्बत पिउने ।
उच्च रक्तचापका रोगीले खानामा नुनको प्रयोग कम गर्नुपर्छ ।
हरिया सागपात, सलाद, मौसमी तरकारी तथा फलफूल प्रसस्त मात्रामा खानुपर्छ ।
प्रोसेस गरिएका खानेकुरा सकेसम्म नखाने ।
रेडिमेड खानेकुरा पनि नखाने जसमा नुन तथा खराब खालको चिल्ला पदार्थ हुन्छ ।
युरिक एसिड तथा मुटुका बिरामीले चिल्लो खानुपरे घिउ, बटरजस्ता चिल्ला पदार्थको साटो सनफ्लावर तथा तोरीको तेल कम प्रयोग भएका खानेकुरा खाने ।