साप्ताहिक संवाददाता
मटन टिक्का बोटी
खसीको हड्डी र बोसो नभएको मासुलाई ढिक्का समान टुक्रा गरेर काट्ने । उक्त टुक्रामा दही तथा लसुन–अदुवाको पेस्ट र थोरै नुन हालेर मोल्ने अनि प्रेसर कुकरमा थोरै पानी हालेर एक सिट्ठी लागुन्जेल पकाउने । सिट्ठी लागेपछि ५–७ मिनेट सानो आगोमा पकाउने । यसलाई सिट्ठी झिकेर मासुमा रहेको पानी नसुकुन्जेल पकाउनुपर्छ ।
अर्को भाँडोमा मासु मोल्न पुग्ने दही, भुटेको बेसनको पीठो, कागतीको रस, बेसार, मरिच, नुन, धुलो खुर्सानी, भुटेको जिराको धुलो तथा गरम मसला हाल्ने । पेस्ट बनाउन हल्का पानी हालेर अघि पकाइएको मासुको टुक्रा मोल्ने ।
कराईमा थोरै तेल तताउने र बटर हाल्नेबित्तिकै मोलेको मासु खन्याउने । एक मिनेट पछि फर्काउने । मासुलाई ३–४ मिनेट फ्राई गरेपछि कुनै कचौरामा बालेको कोइला हालेर सोही कराईभित्र राख्ने र कोइलामाथि तेल हालेर ४–५ मिनेट छोपेर राख्ने । यसरी राख्दा मासुमा धुवाँको स्वाद आउँछ ।
क्रिप्सी चिकेन
केएफसीको जस्तो चिकेन घरमै खाने सोचमा हुनुहुन्छ भने आफूलाई चाहिने जति कुखुराको फिलाको सिंगो टुक्राको छाला हटाउनुहोस् । उक्त फिलाको मासुको ठाउँ–ठाउँमा चिर्नुहोस् । यसरी चिर्दा मसला भित्रसम्म जान्छ । कुखुराको फिला डुब्ने जति मोहीमा थोरै नुन र अदुवा तथा लसुनको पेस्ट हालेर चलाउने । उक्त घोलमा कुखुराको ड्रमस्टिकलाई डुबाएर न्यूनतम पनि ३ घण्टा अझ मिल्छ भने अघिल्लो रात नै राख्नु उपयुक्त हुन्छ ।
मैदामा कर्नफ्लेक्सका टुक्रालाई मुठीमा कसेर हल्का मसिनो धूलो बनाइ छर्कने, नुन स्वादअनुसार हाल्ने अनि मरिच र सुकेको खुर्सानीको धूलो पनि मोल्ने । अर्को भाँडामा अन्डामा थोरै नुन हालेर फिट्ने । म्यारिनेट गरी राखिएको कुखुराको ड्रमस्टिकलाई मैदाको पीठोमा सबैतर्फ लाग्ने गरी दल्ने । यसरी ड्रमस्टिकको वरिपरी मैदाको पीठो लागेपछि त्यसलाई अन्डाको लेपमा चोब्ने अनि फेरि मैदामा ओल्टाई–पल्टाई गर्ने ।
कराईमा चिकेनको ड्रमस्टिक डुब्ने जति तेल हालेर तताउने । चिकेनको उक्त ड्रमस्टिक खैरो रंगको भएपछि पाकेको मान्नुपर्छ ।