साप्ताहिक संवाददाता
कुनै जमाना थियो, क्यासेट बिक्रीबाट गीत–संगीतको नाफा घाटाको लेखाजोखा गरिन्थ्यो । यद्यपि क्यासेट बिक्रीबाट कुनै पनि सिर्जना कतिपटक सुनियो अथवा हेरियो भन्ने यकिन तथ्यांक आउँदैनथ्यो । सूचनाप्रविधि एवं सामाजिक सञ्जाल युट्युबको व्यापक प्रयोगले गर्दा कलाकारहरूले आफ्नो सिर्जना कतिपटक हेरियो भन्ने यकिन तथ्यांक पाउँछन् साथै दर्शकको प्रतिक्रिया पनि त्यसमै उपलब्ध हुन्छ, जसले गर्दा कलाकारहरू आफ्ना सिर्जना युट्युबमार्फत नै बजारमा ल्याउन दौडधुप गर्छन् । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि युट्युबमा तीज गीतको बाढी नै आएको छ । अधिकांश लोकदोहोरी गायक–गायिकाले तीज गीत तयार पारेका छन् । युट्युबमा सार्वजनिक भएका कतिपय तीज गीत उत्कृष्ट भ्युज पाउँदै ट्रेन्डिङमा समेत परेका छन् भने कतिपय तीज गीतको अवस्था दयनीय छ । रोशन गैरे तथा आशा केसीको स्वरको खिस्स हाँस्ने छोरो शीर्षकको तीज गीतले युट्युबमा उत्कृष्ट भ्युज पाएको छ । उक्त गीतलाई हालसम्म २४ लाखभन्दा बढी पटक हेरिएको छ । उक्त गीतमा रोशन गैरेको शब्द तथा संगीत छ भने गीतको भिडियोमा गैरे तथा मोडल करिश्मा ढकालले अभिनय गरेका छन् ।
उक्त भिडियो हेरिसकेपछि अग्निधर चापागाईंले ‘नाच त राम्रो छ तर एक्लै नाच्दा भ्यागुता उफ्रिएजस्तो भएछ हल्का, नत्र बाँकी अभिनय राम्रै छ । पछाडि नाच्ने एक टोली पनि हुन जरुरी थियो कि’ भन्ने सुझाव दिएका छन् । यस्तै, करिश्माको नाचको प्रशंसा गर्दै निशा कठायतले ‘सही डान्स गर्ने हो यो मान्छेले’ भन्ने प्रतिक्रिया दिएकी छिन् । गायक पशुपति शर्माले विगतका वर्षहरू जस्तै यो वर्ष पनि तीज गीतहरू बजारमा ल्याएका छन् । उनका सिर्जनाले युट्युबमा उत्कृष्ट भ्युज प्राप्त गरेका छन् । तीजका गीतबाटै चर्चा बटुलेका शर्माका लौरी हरायो, यही हो माया, माननीयज्यू आदि गीतले उत्कृष्ट भ्युज पाइरहेका छन् । ती तीनवटै गीतमा शर्माकै शब्द, संगीत तथा स्वर छ । लौरी हरायो गीतमा शर्मासँगै, राजु ढकाल, देवी घर्ती तथा सुस्मिता घर्तीको स्वर सुन्न सकिन्छ भने उक्त गीतलाई हालसम्म २२ लाख ९३ हजारभन्दा धेरैपटक हेरिएको छ ।
उक्त गीतको भिडियोमा तिनै कलाकारले अभिनय गरेका छन् । गीतको भिडियो हेरिसकेपछि सुभद्रा ढुंगानाले ‘पैसा हरायो मेरो पैसा हरायो, तीजमा साडी किन्न भनी राखेको पैसा हरायो’ भन्दै रमाइलो प्रतिक्रिया दिएकी छिन् । यस्तै, पशुपतिकै शब्द, संगीत तथा स्वरको यही हो मायालाई युट्युबमा १९ लाखभन्दा बढी पटक हेरिएको छ । उक्त गीतमा शर्मालाई सम्झना भण्डारीले साथ दिएकी छिन् । भिडियोमा पनि शर्मा र भण्डारीले नै अभिनय गरेका छन् । पशुपति र सम्झनाको उक्त गीतको प्रशंसा गर्दै भागीरथ सिङ्जालीले ‘पशुपति शर्मा दाइको गीत सुनेपछिमात्र तीज आएजस्तो लाग्छ । उहाँ छमछमी नाच्ने खाले गीत सिर्जना गर्नुहुन्छ’ भनेका छन् । यसैगरी पशुपति शर्माको शब्द, संगीत तथा स्वरको माननीयज्यू गीतले पनि युट्युबमा उत्कृष्ट भ्युज पाएको छ । उक्त गीत हालसम्म १४ लाखभन्दा बढी पटक हेरिएको छ ।
गीतमा राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वलीको पनि स्वर सुन्न सकिन्छ । भिडियोमा वली र शर्माकै अभिनय छ । उक्त भिडियोमा शर्माले विभिन्न चरित्र निर्वाह गरेका छन, जसमा उनको अभिनयलाई धेरैले रुचाएका छन् । भ्रष्टाचारीहरूप्रति व्यांग्य गर्दै तयार पारिएको उक्त भिडियो हेरिसकेपछि एनपी बेलबासे लेख्छन्– गीतचाहिँ एकदम राम्रो लाग्यो, र कोमल वलीको राजनीतिक जीवनमा पनि यो गीतमा जस्तै निश्चल एवं निष्पक्ष तरिकाले देश अनि नागरिकका लागि काम गरेको देख्न पाइयोस्, यही कामना अनि चाहना छ । यसैगरी कोमल वली र प्रज्ञा वली दिदीबहिनीले बजारमा ल्याएको अर्को गीत आउ दिदीबहिनी गरौं रमाइलो गीतले पनि युट्युबमा १० लाखभन्दा बढी भ्युज पाएको छ । उक्त गीतमा एकनारायण भण्डारीको शब्द तथा संगीत सुन्न सकिन्छ । विगतका वर्षहरूको तुलनामा अलि फरक शैलीमा प्रस्तुत भएकी वलीको उक्त भिडियो हेरिसकेपछि अभि आचार्य लेख्छन्– यो सन्देश कोमल दिदीका लागि, तपाईंलाई यस्तै खाले गीतले शोभा दिन्छ ।
सन्तोष केसी, राधिका हमाल तथा ललिता पौडेलको स्वरको जिरे खुर्सानी कमेडी तीज गीत आमाले पनि युट्युबमा उत्कृष्ट भ्युज पाएको छ । उक्त गीतलाई युट्युबमा हालसम्म १९ लाखभन्दा बढी पटक हेरिएको छ । गीतमा सन्तोष केसी र सुष्मा अधिकारीको शब्द तथा सन्तोष केसीको संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा लक्ष्मी गिरी, रमा थपलिया, शिवहरि पौडेल, अञ्जु महर्जन, सुनिता गौतम, पुरुषोत्तम भण्डारी आदिले अभिनय गरेका छन् । यसैगरी खुमन अधिकारी र देवी घर्तीको स्वरको ‘एउटा जरुरी कुरा छ’ गीतले पनि युट्युबमा उत्कृष्ट भ्युज पाएको छ । उक्त गीत हालसम्म १५ लाख ८८ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा शब्द तथा संगीत महेन्द्र भण्डारीको छ भने त्यसको भिडियोमा निर्मल क्षेत्री र अञ्जली अधिकारीले अभिनय गरेका छन् ।
गीतमाथि प्रतिक्रिया दिँदै प्रकाश परियार लेख्छन्– गीत राम्रो छ भिडियो पनि राम्रो हो, तर अञ्जली अधिकारीले शरीर ढाकिने लुगा लगाएको भए अझ राम्रो हुने थियो । छाती ढाक्ने टालो मात्र देखियो साडीको कुनै अर्थै भएन । खुमन र विष्णु खत्रीको स्वरको उल्टो सुनेर गीतले पनि युट्युबमा उत्कृष्ट भ्युज पाएको छ । उक्त गीत हालसम्म ११ लाखभन्दा धेरैपटक हेरिएको छ । गीतमा जेके अधिकारीको शब्द तथा खुमन अधिकारीको संगीत सुन्न पाइन्छ । उक्त गीतको भिडियोमा खुमन र सुस्मिता सापकोटाले अभिनय गरेका छन् । यसैगरी गायिका सुनिता सेनको माइतीको आँगनी शीर्षकको तीज गीत युट्युबमा १३ लाख ६५ हजारभन्दा धेरैपटक हेरिएको छ । उक्त गीतमा शब्द तथा संगीत गणेश अधिकारीको छ । यो गीतले युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
विष्णु माझीको एकल स्वरको मार्यो दैया तीज गीतले युट्युबमा १२ लाख ८१ हजारभन्दा बढी भ्युज पाएको छ । उक्त गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ भने त्यसको भिडियोमा अभिनेत्री निता ढुंगानाले अभिनय गरेकी छिन् । निताको अभिनयलाई धेरैले रुचाएका छन् । मिडियासामु आउन नचाहने माझीको उक्त भिडियो हेरेपछि मञ्जु केसी लेख्छिन्– यति मिठो स्वरकी धनी हाम्री प्यारी दिदीलाई कहिले देख्न पाइन्छ होला । प्लिज मिडियामा आउनुपर्यो । यसैगरी हरि डिसी, उषा मगर र वीरेन्द्र खड्काको स्वरको उधारो गीतले पनि युट्युबमा ११ लाख ६० हजारभन्दा बढी भ्युज पाएको छ । उक्त गीतमा दुर्गा केसीको शब्द तथा वीरेन्द्र खड्काको संगीत छ । गीतको भिडियोमा हरि डिसी तथा अनिता बस्नेत ‘मास्टर्नी’ ले अभिनय गरेका छन् ।
मास्टर्नीको अभिनय प्रशंसा गर्दै सुन्दर काफ्ले लेख्छन्– राजु मास्टरकी बुढीको अभिनय राम्रो छ ठ्याक्कै मेरै बुढीको झझल्को मेटाइन् । यसैगरी रेशम सापकोटा, पूर्णकला बिसी तथा सीता श्रेष्ठको स्वरको वृद्धाश्रम–२ फेरि चाला उही गीत युट्युबमा १० लाख ५५ हजारभन्दा बढी पटक हेरिएको छ । उक्त गीतमा रेशम सापकोटाको शब्द तथा संगीत छ भने त्यसको भिडियोमा रेशम सापकोटा, नन्दा बस्याल, रोशनी सापकोटा, पवित्रा रिजाल, राजन पौडेल तथा उमाकान्त सापकोटाले अभिनय गरेका छन् ।
प्रकाश सपुत, मञ्जु बिक तथा काजल गुरुङको स्वरको नौरङ्गी सपना गीतले पनि युट्युबमा उत्कृष्ट भ्युज पाएको छ । उक्त गीत हालसम्म १० लाख ४० हजारभन्दा बढी पटक हेरिएको छ । उक्त गीतमा प्रकाश सपूतकै शब्द तथा संगीत छ भने त्यसको भिडियोमा हिउँवाला गौतम, दिपासा बिसी, प्रकाश सपूत, अञ्जली अधिकारी, करिश्मा ढकाल, आरुषी मगर, सिर्जना रेशमी मगर, सबु राई तथा विराज थापाले अभिनय गरेका छन् । दोहोरी ब्याटल र बोल माया गीतले थप चर्चामा आएका प्रकाशको यो सिर्जना हेरिसकेपछि प्रिन्स सविन लेख्छन्, ‘प्रकाश सपूतको खुबी र क्षमतालाई सलुट गर्छु म । प्रकाश सपूत एउटा भिन्नै प्रतिभा भएको व्यक्ति हो ।
जुन कुरा हरेक गीतले प्रुफ गरेको छ । समाजको यथार्थ र भोग्दै आएका कुरालाई समेटिएको रहेछ । मलाई एकदमै मनपर्यो ।’ यसैगरी पुरुषोत्तम न्यौपाने, तेजश रेग्मी, गणेश पौडेल तथा मञ्जु वि:कको स्वरको ससुरालीलाई चिठी गीतले युट्युबमा १० लाख १९ हजारभन्दा बढी भ्युज पाएको छ । उक्त गीतमा सतिश अधिकारीको शब्द तथा तेजश रेग्मीको संगीत सुन्न सकिन्छ । उक्त गीतको भिडियोमा सुरवीर पण्डित, यादव देवकोटा, सुशीला निरौला तथा सतिश अधिकारीले अभिनय गरेका छन् ।