हङकङको सुनको चुरा, सिङ्गापुरे साडी’ चलचित्र ‘ठूल्दाइ’को यो गीत जसरी जनमानसको मुखमा झुन्डिएको छ, त्यस्तै यी श्रृङ्गारिक उपमाहरू पनि । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजले नेपाललाई झपक्कै छोप्न थालेको छ । रातो साडी र हरियो पोतेमा धक फुकाएर नाच्ने योजनामा छन् महिलाहरू । स्वतन्त्रताको पर्वको समेत उपमा पाएको तीज अहिले आधुनिक बन्दै गएको छ । घर, गाउँमा मनाइने तीज अहिले डिस्को र बारसम्म पुगिसकेको छ ।
तीज आउनुभन्दा महिना दिनअगावैदेखि तीज गीत र कार्यक्रमका सेड्युलहरू धमाधम तयार भैरहेका छन् । मुलुकको लगभग आधा हिस्सा बाहिर रहेका नेपाली दिदीबहिनीहरूलाई तीजको रौनकले नछुने कुरै भएन ।
आधुनिक सहर हङ्कङमा बसोबास गर्ने महिलाहरूले पनि आउने तीजका लागि भरपूर तयारी थालेका छन् । व्यस्त दैनिकीबीच एक दिन भए पनि साथीसंगीमाझ निर्धक्क नाच्नुको छुट्टै मज्जा छ नि ! –सोनु सुब्बा बताउँछिन् । बराहज्वेलरी हङकङ साखामा सेल्स अपरेसन अफिसरका रूपमा कार्यरत सम्झना राईको आफ्नै योजना छ, उनी वर्षौं भेट नभएका साथीहरूमाझ डिस्कोमा फास्ट नम्बरको गीतमा कम्मर मर्काउँदै तीज सेलिब्रेट मुडमा छिन् ।
तीजलाई धूमधामका साथ मनाउन नेपाली महिला संघ, हङकङले तीज कार्यक्रम २०१८ को आयोजना गरेको छ भने स्याङ्जा जनसेवा समिति हङकङले आफ्नो चौथो प्रस्तुतिका रूपमा तीज धमाका–४ को आयोजना गर्दैछ । डिजेइङ तथा आकर्षक पुरस्कारसहित आयोजना गर्न लागिएको उक्त कार्यक्रम २५ सेप्टेम्बरका दिन हुने बताइएको छ । निमिज बुटिक तथा युमाज्वेलरीले संयुक्त रूपमा यही २६ अगस्टमा हरितालिका तीज–२०७५ को आयोजना गर्दैछन् । टिजे बुटिकले पनि नेपाली दिदीबहिनीहरूलाई मध्यनजर गर्दै १५ सेप्टेम्बरमा तीज दर पार्टीको आयोजना गर्दैछ ।