साप्ताहिक संवाददाता
थारु समूदायमा निकै प्रचलित सखिया नाच आधुनिक परिवेशका कारण ओझलमा पर्दै गए पनि बारबर्दियाको वेलभारमा भने यसले निरन्तरता पाएको छ । विगतमा जिल्लाका धेरै ठाउँमा दसैंं र तिहारमा मात्र नाचिने सखिया नाच अहिले बारबर्दिया, राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकाका केही क्षेत्रको थारु बस्तीमा सीमित भएको छ ।
यो नाचको थालनी कृष्णजन्म अष्टमीको दिन भए पनि अनुकूलता र प्रतिकूलतालाई ध्यानमा राखी दुई चार दिन अघि पछि पनि गर्न सकिने बारबर्दिया–११ का वडा अध्यक्ष अजय चौधरीले बताए । चौधरीका अनुसार दङ्गाली थारुले बढी नाच्ने यो नाचका क्रममा महाभारतको कथामा आधारित कृष्ण लीलासम्बन्धी गीत गाइन्छ । कृष्ण जन्माष्टमीमा हरेरी पूजाबाट प्रारम्भ हुने यो नाच दसैंको टीका वा पूर्णिमासम्म नाचिन्छ ।
केटा र केटी दुवै मिलेर नाचिने यो नाचमा दुष्टात्माबाट बचाउन एक जना गुरुवाको व्यवस्था गरिएको हुन्छ । त्यसैगरी गाउँका बरघरिया र भद्र भलादमीहरू संरक्षक हुन्छन् । गीत सिकाउने एक जना मुख्य गुरु (जसलाई थारु भाषामा मोहिन्या भनिन्छ) को व्यवस्था पनि गरिएको हुन्छ । नाच्ने केटीहरूसँग दुईजना पछगोहिया र अन्य सहयोगी संगी पनि हुन्छन् भने केटाहरूसँग मादलेमध्ये एकजना अगुवा मदिरिया र अर्को एकजना पछुवा मदरिया हुने देवमान चौधरी बताउँछन् ।
यो नाच खासगरी राति नाचिन्छ । सुरुका दिन फर्सीको पात हातमा लिएर नाचिन्छ, दोस्रो दिनदेखि करिब पन्ध्र दिनसम्म सनपाटको फुर्का हातमा लिएरसाना खाले मजिरा बजाउँदै नाचिन्छ । यसरी नाच्ने क्रममा कृष्णलीला गाउँदै नाचिने नाचका अतिरिक्त थप पैंया (पैधार) अनुसार पनि नाचिन्छ । पैंयाअनुसारको नाच हेर्न लायकको हुन्छ ।
दसैंंको रमझम लागिसकेपछि सखिया नाचले परिपक्वता पाइसकेको हुन्छ । पन्चमीका दिन दिउँसो सखिया नाच्ने महिलाहरूले विशेष पहिरन लगाउँछन् । जसमा सेतो रंगको फरिया, रातो रंगको चोली तथा गरगहना हुन्छन् ।
अष्टमीको रात रातभरि सखिया नाच्ने चलन छ । यसलाई भेंड्वा जगैना भनिन्छ । यो रात सबै थारुको डिहुरारमा कुभिण्डोको भेंडा बनाई भालेको पहिलो बसाइसँगै बली चढाइन्छ । यति बेलासम्म जुन समुहले लगातार नाच्छ, त्यो समूह प्रत्येक घरबाट देवतालाई प्रसादका रूपमा चढाइएको सानो खाले एक करै रक्सीको हकदार हुने बारबर्दियाका मेयर दुर्गा बहादुर थारुले बताए ।
दसैंंको टीकाको दिन विशेष रूपमा सजिएर गाउँका सबै घरमा पुगेर सखिया नाचिन्छ । यो दिन सखिया नाच नाच्ने केटा तथा केटीहरू थाकेका भए पनि उत्साहित हुन्छन् । यसका अतिरिक्त गाउँको भुइँहार र केसौका, गुरुवाको घरमा पनि सखिया नाचिन्छ । अन्तमा गाउँको देवथान (मरुवा) मा गएर विधि विधानपूर्वक पूजाआजा गरी देउता बैठाइन्छ, त्यसपछि नाचको बिधिवत अन्त्य हुन्छ ।
सखिया नाचका क्रममा प्रत्येक दस–दस दिनमा चुकी खाइन्छ अिपन नाच सकिएपछि जम्मा भएको पैसा बाँडिन्छ । त्यसपछि सबै मिली नदीबाट मारेर ल्याएको माछा र अन्य परिकार तयार पारी ख्यारा खाने चलन छ । ख्यारा खाँदा अनिवार्य रूपमा गुरुवा, मोहिन्या, बरघरिया तथा गाउँका गण्यमान्य आदि सबैलाई बोलाइने मेयर थारुले बताए ।