साप्ताहिक संवाददाता
रक्सी पिएपछि गाडी तथा मोटरसाइकल दुर्घटनाको सम्भावना प्रबल हुन्छ ।
झैझगडा, होहल्ला, हूलहुज्जत, रिसइबी साँध्ने, आत्महत्या, हत्याजस्ता हिंसात्मक गतिविधि बढ्न सक्छ ।
यौनजन्य दुव्र्यवहार तथा अपराधका साथै असुरक्षित यौनसम्पर्क हुने सम्भावना हुन्छ, जसले गर्दा अवाञ्छित गर्भधारण, एचआईभी एड्सजस्ता यौनजन्य रोगको संक्रमण हुन्छ ।
धेरै रक्सी पिउने मानिसमा क्यान्सरको जोखिम हुनसक्छ । अमेरिकन क्यान्सर सोसाइटीका अनुसार कस्तो रक्सी पियो भन्ने होइन कि कति मात्रामा रक्सी पियो त्यसका आधारमा क्यान्सरको जोखिम वृद्धि हुन्छ । जति बढी मात्रामा रक्सी पिउँदै गयो त्यति नै क्यान्सर हुने सम्भावना बढेर जान्छ । रक्सी सेवनले मुख, घाँटी, पेट, पित्तनली, आन्द्रा, मलद्वार, फियो, कलेजो तथा महिलाको स्तन क्यान्सर आदि गराउँछ ।
मुटुसम्बन्धी रोग, ह्दयाघात, उच्च रक्तचापजस्ता डरलाग्दा समस्या सिर्जना हुन्छन् ।
रक्सीको सेवनले मस्तिष्कघात हुनसक्छ । आँखाले धमिलो देख्नु, बोली लरबराउनु, हातखुट्टा लड्खडाउनु जस्ता असर देखिन सक्छन् ।
रक्सी सेवन गर्ने १० देखि २० प्रतिशत मानिसको कालेजोमा क्षति पुग्छ । रक्सीले बिगारेको कलेजो रक्सी पिउन छाडे पनि निको नहुने गरी क्षतिग्रस्त हुन्छ । रक्सी सेवनकै कारण कलेजो रोगका बिरामीहरू आँखा पहेंलो हुने, पेट सुन्निने, जीउ फुल्ने, रगत बान्ता हुने आदि समस्याबाट ग्रस्त हुन पुग्छन् ।
रक्सी पिउनेहरूलाई भोक नलाग्ने, पेट पोल्ने, अपच हुने, पेट तथा अन्द्रामा घाउ हुने, प्वाल पर्ने, रक्तस्राव हुने जस्ता पाचनसम्बन्धी समस्या देखा पर्छन् ।
रक्सी सेवनका कारण शरीरले क्याल्सियम, भिटामिन डी तथा बी १२ पचाउन सक्दैन, जसले गर्दा हाडजोर्नीहरू कमजोर हुने, शरीरमा रगतको मात्रा कम हुने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, शरीर कमजोर हुने, हात खुट्टा झमझमाउने, स्मरण शक्ति एवं एकाग्रता हराउँदै जाने जस्ता समस्या देखिन्छन् ।
शरीरले संक्रमणबाट लड्न सक्ने क्षमता गुमाउँदा क्षयरोगजस्ता संक्रामक रोग लाग्ने सम्भावना वृद्धि हुन्छ ।
रक्सी सेवनले डिप्रेसन, अनावश्यक चिन्ताजस्ता मानसिक रोग उत्पन्न गर्छ । प्राय: मानिस रक्सीले फुर्तिलो बनाउँछ, तनाव र चिन्ता घटाउँछ, मस्त निद्रा लाग्छ भन्छन् तर रक्सीले त्यसको ठीक विपरीत नशाले छोड्नासाथ तनाव र चिन्ता बढाउँछ । शरीरलाई फुर्तिलो होइन शिथिल बनाउँछ अनि निद्रा
समेत भगाउँछ ।
रक्सी सेवन गर्ने महिलामा गर्भ नबस्ने तथा बाँझोपनको सम्भावना हुन्छ ।
रक्सीको सेवनपछि मानिसको काम गर्ने क्षमतामा ह्रास आउँछ । रक्सीले स्वास्थ्य र धनको नाश हुनु त छँदैछ, त्यसमाथि पारिवारिक कलह र समाजमा इज्जत समेत गुम्ने खतरा पनि उत्तिकै हुन्छ ।
स्वास्थ्यका दृष्टिकोणले कसैले पनि रक्सी सेवन गर्नु हुँदैन । त्यसमाथि २१ वर्षभन्दा कम उमेरका मानिस, गर्भवती महिला, सवारी चालक, विभिन्न प्रकारका औषधि सेवन गरिरहेका बिरामीहरूले त आफूलाई यसबाट टाढै राख्नुपर्छ ।