शरद ऋतु, लगभग एक हप्ता छुट्टी अनि आफन्तहरुसँगको घुमघाम र रमाईलो, हङकङको दैनिकीमा यो समय विरलै आउँछ । दैनिकको दौडधुप र कामको चपेडामा परिवार र ब्यक्तिगत जीवन नै वेस्वादमा रुमलिरहेको अवस्थामा बर्षमा आउँने यो पर्वले केहि राहत अवश्य दिन्छ ।
हङकङमा नेपालीहरु विभिन्न क्षेत्रहरुमा आवद्ध छन् । ब्यापार, ब्यवसायसँगै नेपालीहरुको ठुलो जनसंख्या निर्माण र सुरक्षाको क्षेत्रमा कार्यरत छन् । दैनिकी ८ घण्टा र १२ घण्टाको ड्युटीले न परिवारलाई समय छ, न आफ्नै लागि ।
बर्षमा एकपटक आउँने नयाँ बर्षले परिवारमा सम्बन्धहरुलाई ताजकी गराउँनका लागि केहि हदसम्म सहयोग पुऱ्याउँने नेपाल क्लब हङकङकी अध्यक्ष रीता गुरुङ बताउँछिन् । भन्छिन् प्रत्येक दिन सामाजिक काममा ब्यस्त भएर परिवारसँग खाना समेत खान पाएकी छैन, न्यु ईयरको विदाले त्यो अवसर दिलायो ।
हङकङमा पत्रकारितासँगै काम पनि गरिरहेका मगेन्द्र राई विहानै आफ्नो परिवार, साथीभाई सहित साहसिक खेलका लागि हङकङको विभिन्न ठाउँहरुमा गए । अत्याधुनिक शहर हङकङमा प्रत्येक सेकेण्डको महत्व छ साँच्चै भन्नुपर्दा हरेक सेकेण्ड पैसामा तुलना हुन्छ त्यस्तै ब्यस्तताको बापजुत आएको नया बर्ष सेलिब्रेशनले परिवारलाई पनि समय दिने अवसर पाएका छौ राई भन्छन् ।
लगभग १ हप्ताको नयाँ बर्ष सेलिब्रेशनको छुट्टिमा काम र घर भन्दा कहिल्यै बाहिर ननिस्किने नेपालीहरु पनि वेफिक्रीसँग घुमिरहेको भेटिन्छ । हङकङ सरकारले पनि यहि पर्वलाई मध्यनजर गर्दै सार्वजनिक स्थानहरु बेहुलीझै सिगारेको छ । बिहानैबाट खाना सहित बन्दोबस्तका साथ बाहिर निस्किएकाहरुको तातीले हङकङको हरेक स्थानमा ब्यस्तता बढेको छ ।
बहुसांस्कृतिक सभ्यता र संस्कृतिमा रमाएको हङकङमा बसोबास गर्ने नेपालीहरु पनि सवै प्रकारका चाडपर्वमा आफुलाई अभ्यस्त गराईरहेका छन् । पाश्चात्य चाडपर्वसगै मौलिकताका पर्वहरु पनि उत्तिकै सहज र महत्वका साथ मनाईरहेका छन् ।
हङकङमा वृद्ध, वृद्धाहरुका लागि केयरिङ गर्ने छुट्टै निकाय छ । छोराछोरीहरुको ब्यस्तता र दैनिकीको कारणले हेरचाहमा समस्या नहोस भनेर कतिले आफ्ना वृद्ध आमाबाबालाई केयरिङ् सेन्टरमै लगरे राख्छन् । चाईनिज नयाँ बर्ष त्यस्तो दिन हो, जुन दिन ति वृद्ध आमा बाबालाई खानेकुरा, कोशेलीसहित छोराछोरी भेट्न जान्छन्, घुमाउँन लैजान्छन् ।
नेपालीहरुको संस्कृतिमा आफ्ना बाबा आमा वृद्ध भएपछि आफुसँगै राखी हेरचाह गर्ने परम्परा छ, यहि परम्परालाई नयाँ बर्षको विदाले थप मलजल प्रदान गरेको श्रीधर अर्याल बताउँछन् । बिगत सात बर्षदेखि निर्माण क्षेत्रमा कार्यरत श्रीधर छुट्टीको समयमा शरिर र दिमागलाई पूर्णरुपमा रेस्ट दिने बताउँछन् । परिवार नेपालमै छन्, दिनरातको कामले थकित भएको छु, केहि दिनको विदाले राहत महशुस भएको छ उनी भन्छन् ।
लाईसी (रेड पकेट) को रौनक
आजको दिन मात्र मैले २ हजार डलर कमाए । हङकङ स्थित मार्सल स्कुलको सुरक्षा गार्डकोरुपमा कार्यरत प्रेम घलेले भने । विहानैबाट शिक्षक, अभिभावकहरुबाट चाईनिज नयाँ बर्षको शुभकामनास्वरुप घलेले उक्त रकम पाएका हुन् ।
उनी मात्र हैन चाईनिज नयाँ बर्षको अवसरमा ठुलाले आफुभन्दा साना र अफिसका कर्मचारीहरुलाई शुभकामना ब्यक्त गर्दै रातो खाममा केहि रकम हालेर (लाईसी) भनी दिने चलन छ । अझ भिआईपी होटल, रेष्टुरेन्टमा काम गर्नेहरुका लागि नयाँ बर्षमा लाईसीको ओईरो नै लाग्छ ।
जसरी हाम्रो नेपाली समुदायमा ठुला चाडपर्वका बेला आफुभन्दा सानालाई टिका लगाएर पैसा या गिफ्ट दिने चलन छ, त्यस्तै चिनीयाँ समुदायमा पनि नयाँ बर्षमा लाईसी ।