साप्ताहिक संवाददाता
तिमीलाई लाज लाग्दैन है ? केही नभए पनि खालि हाँसिरहने ?
के खित्खित् गरेर हाँसिरहेको होला ?
हाँस्न पाएँ भनेर जतिखेर पनि हाँसिरहने ?
खालि हाँसिरहने कि मैले भनेको पनि मान्ने ?
के काम नपाएको मान्छे रहेछ खालि हाँसिमात्र रहन्छ ।
हाँसोलाई नराम्रो मानेर यस्ता किसिमका भनाइ तथा आदेश हाम्रो दैनिक जीवनमा धेरै नै सुन्नुपर्ने हुनसक्छ, तर अहिले संसारभर हाँस्नुजस्तो राम्रो केही नभएको मान्यताको लहर नै आउन थालेको छ । विभिन्न वैज्ञानिकले हाँसोका अनेकौं फाइदा भएको बताएपछि अहिले आममानिस हाँस्नका लागि विभिन्न बहाना खोज्ने, लाफिङ क्लब, ग्याँस सुँघ्नेदेखि लिएर पैसा तिरेर भए पनि हाँस्ने ठाउँमा पुग्ने काम गर्न थालेका छन् ।
अरूको खिल्ली उडाउँदादेखि चित्त बुझ्दासम्म आउने हाँसो हाम्रो शरीरमा सिर्जना हुने स्वभाविक प्रतिक्रिया भए पनि नेपालीहरूले हाँसोलाई परम्पराका रूपमा समेत निर्वाह गर्दै आएका छन् । आज मनाइने गाईजात्राका अरू विभिन्न पक्ष भए पनि हाँसो यसको एउटा महत्वपूर्ण पक्ष हो ।
कुनै पनि घरको मृत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्नुको अर्थ पीडामा रहेका परिवारका सदस्यहरूको मुहारमा हाँसो आओस् भन्ने पनि हो, त्यसैले यो जात्रामा हाँसउठ्ने किसिमका विभिन्न आकृति वा भेषमा सहर–टोल परिक्रमा गरिन्छ । परिवर्तनका क्रममा गाईजात्रा व्यंग्य गर्ने पर्वका रूपमा समेत विकास हुँदै गयो । यो परम्परामा अहिले विभिन्न किसिमका फरकपन देखा पर्दै गएको छ । जस्तो— हास्य प्रहसन मञ्चन गर्ने, पत्रपत्रिकादेखि टेलिभिजन वा अन्य माध्यमबाट व्यंग्य गर्ने आदि । यो दिन कसैलाई पनि व्यंग्य गर्दा कुनै किसिमको अपहेलना नमानिने चलनसमेत छ । गाईजात्रा जस्तै हाँसो–ठट्टा गर्ने नेपाली पर्व रोपाइँ जात्रा पनि हो ।
आधुनिक विज्ञानले हाँस्दा शरीरलाई के–कस्तो फाइदा हुन्छ भन्ने विषयमा अनेकौं अनुसन्धान गरिरहेको छ, जसको नतिजा धेरै नै राम्रो छ र तिनको निचोड भनेकै सक्दो हाँसौं भन्ने हो । फ्रान्सका न्युरोलोजिस्ट हेनरी रुबेनस्टेनले गरेको अनुसन्धानअनुसार एकपटक हाँस्दा मानिसको शरीर यति सहज हुन्छ कि सामान्य अवस्थामा मानिसले नहाँसी शरीरको कोषिकालाई त्यत्तिको सहज बनाउन ४५ मिनेट लाग्छ । रुबेनस्टेनका अनुसार मानिस हाँस्दा ऊसको शरीरका रक्तनलीहरू यसरी खुला हुन्छन् कि शरीरको रत्तप्रवाह बढेर शरीरको सबै भागमा रगत सञ्चार हुन्छ अर्थात् रगत पुग्छ ।
हाँसोले हाम्रो शरीरको इम्युन सिस्टममा सकारात्मक प्रभाव पार्छ । मस्तिष्कमा भएका नकारात्मक सोचका कारण हाम्रो शरीरमा तनाव–आक्रोश आदि पैदा भैरहेको हुन्छ । यसले हाम्रो शरीरमा भएको रोगसँग लड्ने प्रतिरोधी क्षमता समेत घटाइरहेको हुन्छ । यस्तो अवस्थामा हाँसोले मस्तिष्कमा भएको तनाव घटाउने तथा रोगप्रतिरोधी क्षमतासमेत बढाउने काम गर्छ ।
अनुसन्धानअनुसार हाँसोले हाम्रो रक्तचापलाई समेत नियन्त्रणमा राख्छ । हाँसोले शरीरमा रगतको प्रवाह बढाउने हुनाले पनि मुटुको चापमा आएको समस्या नियन्त्रण हुन्छ । हाँसोले पीडा बिर्साउँछ कि बिर्साउँदैन भनेर फ्लोरिडाको एक अस्पतालमा अनुसन्धान गरिएको थियो, जसमा सर्जरी गरिएका बिमारीहरूलाई नियमित रूपमा हाँस्न लगाइएको थियो । परिणाम : उनीहरूले हाँस्ने काम नगरी पीडा कम गर्ने औषधि मात्र खानेहरूको तुलनामा बढी आराम महसुस गरेका थिए ।
हाँसोले गर्न सक्ने केही उपचार
शारीरिक लाभ
तनाव हटाउन मद्दत गर्छ ।
शरीरको रोग प्रतिरोधात्मक
क्षमता बढाउँछ ।
मुटुको सुरक्षा गर्छ ।
शरीरका मांसपेशीहरूलाई
आराम दिन्छ ।
अनुहारको मांसपेशीलाई
सक्रिय बनाउँछ ।
तौल घटाउन मद्दत गर्छ ।
मानसिक फाइदा
मनलाई प्रसन्न तुल्याउनुका साथै खुसीसाथ बाँच्न सिकाउँछ ।
भय एवं तनाव हटाउँछ ।
मस्तिष्कमा सकारात्मक सोच
पैदा गर्छ ।
स्मरण शक्ति बढाउँछ ।
सामाजिक फाइदा
आपसी सम्बन्धलाई बलियो तुल्याउँछ ।
अरूलाई आफूतर्फ आकर्षित गर्न
मद्दत पुर्याउँछ ।
सामूहिक रूपमा काम गर्ने भावनाको विकास गर्छ ।
आपसी मतभेद कम गर्न
सहयोगी हुन्छ ।
हाँस्नका लागि के गर्ने ?
कमेडी फिल्म वा टेलिभिजन
कार्यक्रम हेर्ने ।
कमिकहरू पढ्ने ।
रमाइलो गर्न रुचाउने व्यक्तिहरूसँगको संगत बढाउने ।
जोक्स तथा रमाइला स्टोरीहरू
पढेर रमाउने ।
योगमा वर्णित हास्य आसन गर्ने ।