नेता महात्म्य 

- कमल गाउँले

भाद्र १, २०७६

केपी ओली

प्रधानमन्त्री नेपालको सिंगापुर जाने

जनताले गोलभेंडा सुँघेर भात खाने

उखान टुक्कामा मास्टर तिमी पीएचडी गर

तै पनि जनताले गरी रा’छौं भर ।

प्रचण्ड

गर्मी घाम जस्तै नाम

वा... वा.. जनताको पायौ, क्यै गरेनौं काम

जे भए नि उत्कृष्ट प्रचण्ड तिम्रो नाम ।

शेरबहादुर देउवा

कहिले भन्छौं कसैलाई खाउ बा ?

कहिले भन्छौ कसैलाई लौ बा ?

आफूले पार्टी सभापति सधैंभरि खाऊ बा 

एक्लै खाँदा कांग्रेस पार्टी भो खुलित्त बा ।

माधव नेपाल

अस्ट्रेलिया, क्यानाडा, स्वीट्जरल्यान्ड

सबैभन्दा सुन्दर हाम्रो नेपाल

यही नेपालमा तिमी एउटा माधव नेपाल

जुँगा फुल्यो, दार्‍ही फुल्यो, फुल्यो तिम्रो कपाल ।

झलनाथ खनाल

बद्रीनाथ, केदारनाथ, पशुपतिनाथ, मुक्तिनाथ

चार धाममा तिमी एउटा झलनाथ 

न तिमीलाई कसैले दिए साथ 

न दियौ तिमीले कसैलाई हाथ ।

बाबुराम भट्टराई

घर–घरमा रोजगारी बेरोजगारलाई भत्ता रे

बलिदान गर्नेलाई देशमा सत्ता रे

हो र बाबुराम नयाँ नेपालमा 

नेपाल पुरानै हो तिमी नयाँ भयौ

नयाँ शक्ति छोडेर मधेसवादीमा पस्यौ ।

चित्रबहादुर केसी

बाग्लुङ जिल्ला घर तिम्रो चित्रबहादुर नाउँ

संघीयताले रंगिएको छ तिम्रो हाम्रो गाउँ

भन्छौं तिमी संघीयता चाहिँदैन रे 

संघीयता ल्याउनेले यहाँ खै के गरे ?

रामबहादुर थापा (बादल)

कसैको नाम प्रचण्ड, कसैको नाम किरण

कसैको नाम आकाश, कसैको नाम बादल

जनता जति सबै भए नबज्ने मादल ।

उपेन्द्र यादव

उप खायौ स्वास्थ्य खायौ, खायौ सबै थोक

बाबुरामसँग मिलेका छौं अब बन्दुक बोक

बन्दुक बोक्न नसके बाबुरामलाई टोक ।

रामचन्द्र पौडेल

जिन्दगीभर उप–उप तिमी माथि गुट

शेरबहादुरले दिन्नन तिमीलाई सक्छौं भने उठ

सभापति त हुन दिन्नन प्रधानमन्त्री कहिले ?

सभापति बन तिमी शुभकामना दिन्छु मैले ।

 

प्रकाशित :भाद्र १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्