साप्ताहिक संवाददाता
महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै गीत–संगीत तथा म्युजिक भिडियो निर्माण हुन थालेको वर्षौं भैसकेको छ । तीजपछि संगीतकर्मीहरूको ध्यान अचेल दसैंतर्फ मोडिएको छ । केही वर्षयता दसैं–तिहार विशेष गीतहरू सार्वजनिक गर्ने क्रम ह्वात्तै बढेको छ । यो प्रसंगमा लोकदोहोरी गायक–गायिकाहरू नै अग्रपंक्तिमा देखिन्छन् ।
गायक प्रमोद खरेलले यस पटकको दसैंका लागि दुईवटा गीत तयार पारेका छन् । ‘आमा...’ शीर्षकको गीतमा सुरेश गैरेको शब्द तथा सन्तोष केसीको संगीत छ । ‘परदेशी...’ शीर्षकको गायक खरेलको अर्को दसैं गीतलाई भने बीबी अनुरागीले संगीतबद्ध गरेका हुन् । उक्त गीतको ११ मिनेट लामो म्युजिक भिडियो गत मंगलबार युट्युबमार्फत सार्वजनिक भएको छ ।
गायक पशुपति शर्माले अघिल्लो मंगलबार आफ्नो नयाँ दसैं–तिहार विशेष गीत ‘कान्छी बुहारी...’ सार्वजनिक गरे । गायक शर्माले आफ्नै युट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेलगत्तै दर्शक–श्रोताहरूको राम्रो साथ पाए । करिब एक साताको अवधिमा उक्त गीत करिव १३ लाख पटक हेरिएको छ । गायक शर्माकै शब्द तथा संगीतको उक्त गीतमा उनलाई गायिका सम्झना भण्डारीले साथ दिएकी छिन् । पशुपति शर्माले यस पटकको दसैंका लागि अर्को गीत पनि तयार पारेका छन्, ‘अहिले भेट दसैंलाई’ शीर्षकमा । शर्माकै शब्द तथा संगीतको उक्त गीतमा गायक शर्मालाई गायिका देविका केसीले साथ दिएकी छिन् ।
गायक सागर आले तथा गायिका सायेरा मगरको स्वरमा दसैंको युगल गीत तयार भएको छ । ‘दसैं आयो तिहार आयो’ शीर्षकको उक्त गीतमा सुरेश रानाको शब्द तथा संगीत छ । सिर्जन बरालद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियो ४ लाख ५४ हजार पटक हेरिसकिएको छ ।
गायक खुमन अधिकारी तथा गायिका शान्तिश्री परियारको स्वरको दसैं गीत ‘आफ्नै गाउँ रमाइलो...’ करिब १२ मिनेट लामो छ । उक्त गीतको भिडियो हालसम्म करिव ८ लाख पटक हेरिसकिएको छ । यता गायक रामजी खाँड तथा गायिका भीमा गुरुङको स्वरको दसैं गीत ‘दसैं तिहार झिलिली’ को म्युजिक भिडियोमा बब्बु थापा, रश्मि तामाङ तथा सुरजले अभिनय गरेका छन् ।
गायिका पूर्णकला बिसीले पनि यसपटकको दसैंका लागि ‘मेरी सानु...’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । उक्त गीतमा तिलक ओली, धीरज तथा राजेशको स्वरसमेत सुन्न सकिन्छ । दसैंको परिवेश झल्किने साढे १३ मिनेट लामो उक्त भिडियो हालसम्म करिव दुई लाख पटक हेरिएको छ ।
विष्णु खत्री तथा विष्णु माझीले यस पटकको दसैंका लागि ‘दसैंमा आऊ प्यारा...’ शीर्षकको गीत गाएका छन् । विष्णु खत्रीकै शब्द तथा संगीतको उक्त म्युजिक भिडियो साढे चार लाख पटक हेरिसकिएको छ । विष्णु माझी तथा मोहन खड्काको स्वरको अर्का दसैं गीत ‘पिङ हाल्ने बर...’ १५ मिनेट लामो छ जसको म्युजिक भिडियो युट्युबमा १ लाख ३० पटक हेरिसकिएको छ ।
विष्णु माझी तथा भागवत बिरहीको स्वरमा तयार भएको अर्को दसैं गीत ‘आउँदा दसैं–तिहार’ को म्युजिक भिडियो भने दुई दिनअघि मात्र युट्युबमा अपलोड गरिएको हो । कपिल लामाद्वारा निर्देशित १३ मिनेट लामो उक्त भिडियोमा बिमल अधिकारी तथा साया भण्डारीले अभिनय गरेका छन् ।
विशाल रायमाझी तथा लक्ष्मी बस्नेतको स्वरको दसै गीत ‘चुहिने छानो...’ पनि यसै साता सार्वजनिक भएको छ । राजकुमार मगरद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा विशाल रायमाझी, अनिला रायमाझी, सुशान्त पछाईं तथा अपेक्षा गुरुङले अभिनय गरेका छन् ।
गायक सञ्जय थापाको स्वरको ‘दसैं आयो...’ गीतको म्युजिक भिडियो पनि हालै सार्वजनिक भएको छ । डिपि खनालको शब्द तथा विश्व अधिकारीको संगीतको उक्त भिडियोको निर्देशन यादव देवकोटा (सरापे) ले गरेका हुन् ।
भोजराज काफ्ले तथा सन्तोष तामाङको दसैं गीत ‘यो रक्सी कसले बनायो’ को म्युजिक भिडियो पनि हालै सार्वजनिक भएको छ । भोजराज काफ्ले स्वयंद्वारा निर्देशित उक्त भिडियोमा बबिता पोखरेल, निश्चल मगर, मेलिना ठाकुर, जुना तामाङ आदि कलाकारले अभिनय गरेका छन् ।