साप्ताहिक संवाददाता
शरीरलाई स्वस्थ एवं निरोगी बनाउने बहानामा होस् वा वातावरण सन्तुलन कायम गर्न होस् वा प्राणीको अधिकार रक्षा गर्न अहिले मासु नखाने एक किसिमको लहर नै चलेको छ । अझ पछिल्लो पटक आएको ‘मिट फ्री मन्डे’ ले सोमबार मासु नखाने चलन भाइरल नै भैरहेको छ ।
यस्ता अभियानले मासुको खपतमा व्यक्तिगत रूपमा कमीसमेत ल्याएको पाइन्छ । मासु बढी खपत गर्ने अमेरिकनमध्ये एकतिहाइ व्यक्तिले अहिले मासु कम खाने वा एउटा मात्र प्राणीको मासु खाने निर्णय गर्न थालेका छन् भने सोही अनुपातमा बेलायतीले पनि आफुले पहिले खाइरहेको मासुको मात्रामा व्यापक कटौती गरेको तथ्यांकले देखाएको छ ।
मासु कम खाने अभियान व्यापक रूपमा बढिरहेको छ । शाकाहारी अभियन्ताहरूले मासु खानुका बेफाइदालाई व्यापक तथा प्राणी रक्षाको अभियानलाई तीव्र बनाउनुले पनि मांसाहारीहरूमा मासुप्रति वितृष्णा पैदा भएको पाइन्छ ।
यद्यपि तथ्यांक केलाउने हो भने मासुको खपत भने निरन्तर बढिरहेको छ । यसको कारण जनसंख्या वृद्धि पनि हो । पछिल्ला ५० वर्षमा मासुको खपत अत्यधिक बढेको छ । सन् ६० को दशकमा विश्वमा वार्षिक ७० अर्ब किलो मासु खपत हुन्थ्यो भने सन् २०१७ मा त्यो ३ खर्ब ३० अर्ब किलो पुगेको छ । मासुको खपत बढ्नुको कारण जनसंख्या वृद्धि मात्र नभएर मानिसको आम्दानी बढ्नु पनि हो । अधिकांश देशमा सन् ६० को तुलनामा दोब्बरले जनसंख्या वृद्धि भएको छ भने मानिसको आम्दानी तेब्बरले बढेको छ ।
सन् २०१३ को तथ्यांकअनुसार अमेरिकन तथा अस्ट्रेलियनहरू सबैभन्दा बढी मासु खानेमा पर्छन् भने न्युजिल्यान्ड तथा अर्जेन्टिनाका नागरिकहरू पनि वार्षिक १ सय किलोभन्दा बढी मासु खानेमा पर्छन् । यो हिसाबले हेर्ने हो भने यी देशका मानिसले प्रत्येक वर्ष ५० वटा कुखुरा बराबरको मासु खाएको पाइन्छ । पश्चिम युरोपका मानिसहरू उनीहरूको तुलनामा केही कम मासु खान्छन् । त्यहाँका नागरिकले वार्षिक ८० देखि ९० किलो मासु खान्छन् । मासुको खपतमा आर्थिक हैसियतले पनि प्रभाव पार्छ । युरोप, अमेरिका तथा अस्ट्रेलियाको तुलनामा आर्थिक रूपमा बढी गरिबी भएको अफ्रिकामा मासुको खपत निकै कम छ । जस्तो इथोपियाका बासिन्दाले वार्षिक ७ किलो, रूवान्डाकाले ८ किलो तथा नाइजेरियाकाले ९ किलो मासु खाने गरेका छन् ।
सन् ६० को दशकमा गरिब राष्ट्रका रूपमा रहेका केही देशले सन् १९९० पछि आर्थिक प्रगति गर्दै गएकाले उनीहरूमा मासुको खपत पनि बढेको छ । जस्तो सन् ६० को दशकमा प्रत्येक चिनियाँले प्रतिवर्ष ५ किलो मासु खान्थे भने ८० को दशकमा २० किलो र अहिले ६० किलोभन्दा बढी खाने गरेका छन् । यस्तै ब्राजिलियनले सन् ६० को दशकमा २६ किलो मासु खान्थे भने अहिले उनीहरूको मात्रा बढेर करिब १ सय किलो पुगेको छ । यता केही देशले विकासमा फड्को मारे पनि धार्मिक आस्थाका कारण त्यहाँ मासुको खपत खासै बढ्न सकेको छैन । सन् ६० को दशकमा भारतमा प्रतिव्यक्ति ४ किलोग्राम मासु खाने गरिएकोमा अहिले पनि यो मात्रा यथावत जस्तै छ ।
काठमाडौंवासीले कति खान्छन् ?
काठमाडौं उपत्यकाका बासिन्दाले चाडपर्वका बेलाबाहेक अरूबेला सबैभन्दा धेरै कुखुराको मासु खान्छन् । वाणिज्य विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा दैनिक ३ लाखदेखि ३ लाख ५० हजार किलो कुखुराको मासु खपत हुन्छ भने दैनिक १ हजार २ सय खसी तथा ८ सय राँगा एवं भैंसी काटिन्छ । अहिले बंगुरको मासुका पारखीहरूको संख्या बढेका कारण काठमाडौं उपत्यकामा मासुका लागि दैनिक ६ सय वटा बंगुर/सुँगुर काटिन्छन् । यसैगरी स्थानीय उत्पादन नभए पनि विभिन्न स्रोतबाट संकलन गरिएका लगभग ५ हजार किलो माछा पनि उपत्यकामा खपत हुने गरेको छ ।
यो तथ्यांकअनुसार उपत्यकावासीले प्रतिदिन प्रतिव्यक्ति औसत ३७ ग्राम माछा–मासु खपत गर्ने गरेका छन् । यस हिसाबले उपत्यकावासीले प्रत्येक वर्ष प्रतिव्यक्ति मोटामोटी १३ किलो ६ सय ग्राम मासु (माछासमेत) खपत गर्छन् । यही तथ्यांकअनुसार कुखुराको मासु प्रतिदिन प्रतिव्यक्ति औसत साढे ८ ग्राम, खसीको मासु प्रतिदिन प्रतिव्यक्ति औसत १ ग्रामभन्दा कम, राँगाको मासु प्रतिदिन प्रतिव्यक्ति औसत १६ ग्राम, बंगुरको मासु प्रतिदिन प्रतिव्यक्ति औसत डेढ ग्राम तथा माछा प्रतिदिन प्रतिव्यक्ति औसत १ ग्राम भएको पाइन्छ ।