साप्ताहिक संवाददाता
खानाका पारखी तथा अनुसन्धानकर्ताहरूका अनुसार कुनै पनि एउटा जनावरबाट सबैभन्दा बढी फरक किसिमको परिकार बन्छ भने त्यो नेवारी समाजमा लोकप्रिय राँगाको मासु अर्थात् म्ये लाकै बन्छ । राँगाको मासुमा गरिएको एक अनुसन्धानअनुसार एउटा राँगाको मासुबाट ६४ किसिमका परिकार तयार गरिन्छ । यो संख्या अझ बढी हुने अनुसन्धानकर्ताहरूको अनुमान छ । राँगाका कतिपय परिकार त लोप भैसकेका छन् भने कतिपय लोप हुने अवस्थामा छन् ।
राँगाको मासुको परिकारमा लामै अनुसन्धान गरेकी उमा श्रेष्ठले यही विषयमा पुस्तक समेत तयार पारेकी छिन् । उक्त पुस्तकमा उनले राँगाको शरीरमा ६७ भाग हुने तथा परिकार भने ६४ किसिमका (केही लोप भएकालाई छोडेर) बन्ने कुरा उल्लेख गरेकी छिन् । नेवार समुदायमा जन्म देखि मृत्यु संस्कारसम्म राँगाको मासु चल्ने हुनाले यो समुदायका अधिकांश सदस्यले यसको राँगाको मासु खान्छन् । श्रेष्ठले आफ्नो पुस्तकमा राँगाको ६४ परिकारलाई ३४ प्रकारले पकाउन मिल्ने कुरा बताएकी छिन् ।
राँगाको मासुको मुख्य परिकार त:खा तथा सन्याखुना हो । दसैंदेखि श्रीपञ्चमीको विचमा तयार पारिएको त:खालाई पकाएर जमाइन्छ अनि त्यसबाट आएको झोलबाट सन्याखुना बन्छ । नेवारी भोजमा अनिवार्य हुनै पर्ने परिकार भनेको दायेका ला हो । यो परिकार पस्किएपछि मात्र नेवारी भोज सुरु हुन्छ ।
राँगाको मासुलाई उसिनेर खानयोग्य बनाइयो भने त्यसलाई मनाला र फ्राई गरे पुकाला भनिन्छ । पुकाला पनि २० किसिमको हुन्छ । राँगाको मासुमा अहिले सबैभन्दा लोकप्रिय परिकार छ्वयला हो । छ्वयला पनि एक दर्जन किसिमका छन्, जस्तो त:कू छ्वयला, मखमल छ्वयला, मना छ्वयला, रेसम छ्वयला, हाक छ्वयला, भाजं छ्वयला आदि ।
साँधेको राँगाको मासुलाई वालेगु र स्टिमलाई हायेला भनिन्छ । राँगाको मासुलाई पकाएर अर्कै मासुको स्वाद पनि निकालिन्छ । यसलाई भेडाको मासुको स्वाद आउने बनाइयो भने बायाँ ला भनिन्छ भने हाँसको मासुको स्वाद आउने बनाए हेंय्यला भनिन्छ ।