दसैंको घट्दो रौनक

- किशोर नेपाल

आश्विन १९, २०७६

हामीले हाम्रो तन्नेरी उमेरमा जसरी दसैं मनायौं, त्यसको परिकल्पना नै नगरौं अहिले । त्यो दन्त्यकथाजस्तो सुनिन्छ आजको सन्दर्भमा । हो, नवरात्रि त आज पनि मनाइन्छ । अहिले हामीले नौ दिन लगाएर गर्ने शक्तिपीठको दर्शन एकै दिनमा हुन्छ । उतिबेला गुह्येश्वरी, भुवनेश्वरी, नवदुर्गा, वनकाली, मंगला गौरी हुँदै भद्रकाली, संकटा, महांकाल, शोभा भगवती र इन्द्रायणीको दर्शन गरेर फर्कंदा बिहान बित्थ्यो ।

 

दसैंको छैटौं दिन भैसक्यो आज । तैपनि चाडको रौनक देखिएको छैन अर्थात् रंगीचंगी बजार छ, मानिसहरूको लस्कर छ, शक्तिपीठहरूको चर्चा छ, तर एउटा राष्ट्रिय स्तरको सांस्कृतिक उत्सवका लागि चाहिने वातावरण अहिलेसम्म बनिसकेको छैन ।

सबैभन्दा पहिले त सरकारले दसैंजस्तो राष्ट्रिय उत्सवलाई निरन्तर खुम्च्याइरहेको छ । पन्ध्र दिन लामो यो सांस्कृतिक उत्सवको पहिलो दिन गरिने शुभारम्भको साइत मानिने उत्सव घटस्थापनाको बिदा काटिएको छ । हो, देशमा परिवर्तन भएको छ । त्यसको अर्थ उत्सवहरूको महत्व घटेको होइन । भर्खरै मात्र गुठी विधेयकका विरुद्ध भएको विरोध प्रदर्शनलाई सरकारले बिर्सिएजस्तो छ । अहिलेको सरकार आफ्नो सांस्कृतिक सम्पदाको महत्व स्थापित गर्नुमा भन्दा विदेशी चरित्रको चर्चामा बढी चासो देखाउँछ ।

हाम्रा सांस्कृतिक अवयवहरू खुस्किए भने देश कति फुस्रो र कुरुप देखिएला ? त्यसको चिन्ता कसैलाई छैन । विभिन्न कालखण्डमा, नेपाली जनताले दसैं अर्थात् विजयादशमीलाई ठूलो उत्सवका रूपमा मनाउँदै आएका छन् । समयको अन्तरालमा दसैंको रौनक हराउँदै गएको छ । जनताले दसैंको महत्व बुझन छाडेको छ । उहिलेको कुरा छाडौं, जब जनताको टिप्पणी हुन्थ्यो, ‘आयो दसैं ढोल बजाइ, गयो दसैं ऋण बोकाइ ।’ अहिले पनि दसैं आउँछ । ढोल बजाएरै आउँछ, तर जनसंख्याको बढ्दो चापले दसैंको आगमनमा बजेको ढोलको आवाज सुनिँदैन वा मन्द सुनिन्छ । चाड मनाउने सुरमा मानिसहरू बजारभरि निरुद्देश्य बतासिएका छन् । कसैलाई के पुगेको छैन, कसैलाई के ? पैसाको मूल्य खस्किएको छ । मानिसका लागि चाड–पर्वको गरिमा राख्ने भन्दा जीवन धान्ने प्रश्न अहम् भएको छ । यस्तो परिस्थितिमा कता मनाउने दसैं ?

हो, त्यो एक समय थियो जब सहर सानो थियो । मानिसहरू सामान्य थिए । चाहना बढी भए पनि सन्तोषमा बाँच्थे मानिसहरू । दसैंका लागि सरकारका एजेन्सीहरूले रासनमा उसिनेको चामल, नैनसुतको कपडा, सुपथमूल्यको पसल खोलेर नुन, तेल र चिनी उपलब्ध गराउँथे सहरका गरिब जनतालाई । राजाले आफ्नो नेतृत्वको निर्दलीय राजनीतिक व्यवस्थाका कारण सहरका सामान्य जनता नभड्किउन् भनेर दसैं–तिहारजस्तो चाड–पर्वमा आफ्नो खुबी देखाउने प्रयत्न गर्थे । त्यो जमाना अर्कै थियो । अहिलेको जमाना अर्कै छ । त्यतिबेलाको दसैंले मानिसलाई ऋणको भारी बोकाउँथ्यो । त्यो भारी अपेक्षाकृत सानो हुन्थ्यो । यति बेलाको दसैंले पनि भारी त ऋणकै बोकाउँछ, यो भारीले धेरैजसो मानिस उठ्नै नसक्ने गरी थिचिन्छ ।

मानिस प्रजाबाट जनता र जनताबाट उपभोक्तामा रूपान्तरित भैसकेका छन् । संसारका अन्य देशमा उपभोक्ताले आफ्नो रुचिअनुसारको सामान खरिद गर्न पाउँछ । चित्त नबुझे फर्काउन पाउँछ । त्यतिले नपुगे उपभोक्ताको आफ्नै अदालत हुन्छ । त्यहाँ गएर मुद्दा लड्न पाउँछ । त्यो अधिकार यहाँ यो देश र यो देशका कुनै पनि सहरमा उपलब्ध छैन । यहाँ त उपभोक्ता अहिले पनि प्रजा नै हो । राजाको शासनमा त विशेष अवसरहरूमा विशेष व्यवहार हुन्थ्यो । अहिले त त्यस्तो व्यवहार पनि हुँदैन ऊसँग । उपभोक्ताका पक्षमा बोल्नेहरू बिचौलिया बढी अधिकारकर्मी कम छन् । 

हो, बजारको विस्तार भएको छ संसारमा । हाम्रो बजारमा मित्रराष्ट्र चीनका उत्पादनहरूको थुप्रो लागेको छ । फेसनका एकसे एक आइटम उपलब्ध छन् । गला खुलेका, गला बन्द भएका । कुम खुलेका र कम्मर छिनेका । सस्तो पनि उत्तिकै छ । नेपाली रुपैयाँ ६ सयमा लिंगरीदेखि लेहंगासम्म । कमिजदेखि कोटसम्म । मात्र ६ सय रुपैयाँ । पसलमा मानिसको भीड छ । च्यात्तिएको, टुटेको, फुटेको सामान पर्न सक्छ । राम्रोसँग हेर्छ ग्राहकले । एक त ‘मेड इन चाइना, आज छ भोलि छैन’ भन्ने भनाइ व्यापक छ । त्यसमा पनि रु. ६ सयको सामान पसलेले फिर्ता लिँदैन । साहुजी भन्छ, ‘चीन पनि उस्तै हो । राम्रा सामान उता अमेरिका–बेलायत पठाउँछ । हामीले त किलोमा जोखेर ल्याउने हो । घडी ल्याए पनि, कपडा ल्याए पनि ।’ साहूलाई थाहा छ, नेपालीहरूले राम्रो र दह्रो सामान खोज्छन् । चीनले त्यस्तो सामान बनाउँदैन । आखिर चीन समाजवादी देश भए पनि उपभोक्ता समाज हो, कन्ज्युमर सोसाइटी । यो सोसाइटीले एकातिर समाजवादलाई अक्षुण्ण राख्नु छ भने अर्कातिर देशको व्यापार–व्यवसाय बढाउनु छ । चीनले हाम्रो सहरमा हाईस्पिड रेल चलाउने सम्भावना छ । उसको बीआरआई योजनाले हामीलाई सम्पन्न बनाउने सपना देखाएको छ ।

हो, परिवर्तन भैसक्यो । धेरै कुरामा आमूल परिवर्तन भैसक्यो । हामीले हाम्रो तन्नेरी उमेरमा जसरी दसैं मनायौं, त्यसको परिकल्पना नै नगरौं अहिले । त्यो 

दन्त्यकथाजस्तो सुनिन्छ आजको सन्दर्भमा । हो, नवरात्रि त आज पनि मनाइन्छ । अहिले हामीले नौ दिन लगाएर गर्ने शक्तिपीठको दर्शन एकै दिनमा हुन्छ । उतिबेला गुह्येश्वरी, भुवनेश्वरी, नवदुर्गा, वनकाली, मंगला गौरी हुँदै भद्रकाली, संकटा, महांकाल, शोभा भगवती र इन्द्रायणीको दर्शन गरेर फर्कंदा बिहान बित्थ्यो । अहिले मन्दिरको लाइनमा जीवन बित्ला भन्ने डर हुन्छ मानिसको मनमा । उतिबेला झिसमिसेमा नवरात्रि भ्रमणको उद्देश्यसँग मानिसको मन र मोह टाँसिएको हुन्थ्यो । फूलहरूले ढकमक्क छोपेको कान्तिपुर सहरको रौनक हेर्न लायक हुन्थ्यो । त्यतिबेलाको मिर्मिरे उषामा धेरैले औंठी साटेका हुन्थे । समाज खुला नहुँदा तीमध्ये अधिकांश औंठीको प्रयोग हुँदैनथ्यो । 

अहिलेको छटा बेग्लै छ । प्रेम गर्नकै लागि दसैंको नौरथाको मिर्मिरे उषा पर्खनु पर्दैन । प्रेम बजारभरि उपलब्ध छ । यत्ति हो, त्यसको परिभाषा छैन । सबै कुरा बेलायती भएपछि प्रेम बेलासपुरी कसरी होस् त ? चाड–पर्वका चमत्कारिक विशेषता ओझेलमा परेका छन् । गुठीहरूको आम्दानी सुकेको छ । बाजा–गाजाका साथ नौ दिनसम्म नवरात्रिको खुसी मनाउने चलन बिरानो भैसकेको छ । अब त चाड–पर्वका दृश्यहरू प्राइभेट शो बन्दैछन् । टिकटमा दसैंको नजरा देखाएर मौलिकताको खिल्ली उडाउने चलन बढ्दैछ सहरमा । यो दु:खद विम्ब हो । यति रमाइलो चाडका बेला यस्ता विम्बहरूको चर्चा नगरेकै बेस । महाकाली, महालक्ष्मी तथा महासरस्वतीले तपाईं–हामी सबैको कल्याण गरुन् । दसैंको शुभकामना ।

 

प्रकाशित :आश्विन १९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×