साप्ताहिक संवाददाता
मानिसको मृत्यु भएपछि पार्थिव शरीरलाई आ–आफ्नो धर्म परम्पराअनुसार अन्तिम संस्कार गरिन्छ । संस्कार जे–जसरी पूरा गरिए पनि शरीर नष्ट नै हुन्छ । मानिस मरेपछि पनि खास परिस्थितिमा शरीरका अंगहरूले काम गर्न सक्छन् । ती अंग अरूको शरीरमा प्रत्यारोपण भए उपकार नै हुन्छ । मरेपछि पनि उपकार ? यो कुराले बिनिता कँडेलको मन छोयो ।
बिनिता भरतपुर महानगरपालिका–११ बसेनी कोलटाँडीमा बस्छिन् । भरतपुरमा युवाहरूको समूह छ, हामी युवाहरू अर्थात् वी आर युथ । छोटकरीमा यसलाई वे (डब्लूएवाई) ग्रुप पनि भनिन्छ । वे ग्रुप भरतपुर क्षेत्रमा सरसफाइका लागि नाम कमाएको युवाहरूको समूह हो । विनिता त्यही समूहमा आबद्ध छिन् । सरसफाइ मात्र नभएर यसले विभिन्न सामाजिक काम पनि गर्दै आएको छ ।
बिनिताले रक्तदान, आँखा दान, मिर्गौला दान आदिका सम्बन्धमा सुन्दै आएकी थिइन् । उनले अंगदानका बारेमा पनि जानकारी बटुल्न थालिन् । अध्ययन गर्दै जाँदा अंगदानजस्तो ठूलो दान केही होइन जस्तो लाग्न थाल्यो । त्यसपछि कँडेलले गएको वैशाख २९ गते चितवन मेडिकल कलेजमा गएर अंगदानसम्बन्धी घोषणामा औपचारिक सहीछाप गरिन् ।
उनी अंगदानको औपचारिक घोषणा गर्ने चितवनकै पहिलो व्यक्ति भइन् । भरतपुरको सप्तगण्डकी क्याम्पसमा पत्रकारीता विषय लिएर स्नातक पहिलो वर्षमा अध्ययनरत बिनिता बाबु विष्णु तथा आमा मायादेवीका तीन सन्तानमध्ये जेठी हुन् । उनका दुई भाइ छन् ।
‘त्यस्तो ठूलो कुरा सोचेर–सम्झेर भन्दा पनि राम्रो काम गरौं भनेर यो निर्णय लिएकी हुँ । अरूले गरेका, अरू देशमा भएका राम्रा कामहरू गर्न किन हिचकिचाउने भन्ने लाग्छ । मेरो यो भावनामा परिवारले पनि साथ दिएको छ । त्यसैले आँट गरेकी हुँ,’ बिनिताले भनिन् । बिनिताले मृत्युपछि आफ्ना अंगहरू मृगौला, मुटु, फोक्सो, कलेजो तथा सानो आन्द्रा दान गर्ने इच्छापत्रमा औपचारिक हस्ताक्षर गरेकी हुन् ।
रमेशकुमार पौडेल