२०६८ सालयता मात्रै अन्तरजातीय विवाह र जातीय विभेदका कारण २५ जना दलितले ज्यान गुमाइसकेका छन्
सिंगो देश कोरोना भाइरसविरुद्धको लडाइँमा रहेका बेला मुलुकलाई नै तरंगित बनाउने गरी रुकुम पश्चिमको चौरजहारी नगरपालिका—०८ सोतीमा अमानवीय घटना भयोे । जहाँ १० जेठको साँझ आफ्नी प्रेमिकालाई लिन गएका जाजरकोट भेरी नगरपालिका—४ रानागाउँका २१ वर्षीय नवराज विक र उनका अरु तीन जनाले साथीले ज्यान गुमाए । १९ जना साथीसहित मल्ल थरकी प्रेमिकाकै आग्रहमा सोती पुगेका नवराज र उनका दुई साथीले गैरदलित युवतीसँगको प्रेमसम्बन्धकै कारण ज्यान गुमाए । उक्त घटनामा उनका अरु दुई जना साथी अझै बेपत्ता छन् । सोती पुगेका नवराजसहित उनका साथीहरू गैरदलित समुदायका मानिसको नृशंस आक्रमणमा परेका हुन् ।
दलित–गैरदलित प्रेम सम्बन्धसँग जोडिएको अर्को घटना घट्यो, १० जेठमै रूपन्देहीमा । जहाँ १३ वर्षीया किशोरीले ज्यान गुमाउनु प-यो । यसको मुल कारण पनि गैरदलित युवासँग उनको सम्बन्ध नै रहेको छ । ९ जेठ राति देवदह नगरपालिका—११ की किशोरी अंगीरा पासी हराइन् । राति अचानक छोरी विस्तारामा नदेखेपछि उनकी आमा शान्ति पासीले गाउँलेलाई गुहारिन् । गाउँले खोजी गर्दा अंगीरा छिमेकी वीरेन्द्र भरसँगै खोलामा भेटिइन् । वीरेन्द्रले आफ्नी छोरी बलात्कार गरेको उनकी आमा शान्ति बताउँछिन् । वीरेन्द्रसँगै भेटेपछि शनिबार छिमेकीले अंगीरालाई वीरेन्द्रको जिम्मा लगाएका थिए । गैरदलित भर समुदायका वीरेन्द्रका परिवारले दलित पासी समुदायकी अंगीरालाई स्वीकारेन । गाउँलेले जिम्मा त लगाए तर वीरेन्द्रको परिवारले दुवैलाई घर पस्न दिएनन्, परिणाम त्यही दिन साँझ अंगीरा रोहिणी खोलामा झुण्डिएको अवस्थामा भेटिइन् ।
शिक्षित र आधुनिक समाजका लागि लज्जाबोध हुने खालका यी दुई अमानवीय घटना त पछिल्ला उदाहरण मात्रै हुन् । आधुनिकीकरणको बाटो नापिरहेको र संविधानतः समाजवादोन्मुख व्यवस्था भएको भनिने नेपाली समाजमा अझै पनि दलित—गैरदलित प्रेम र विवाहले बेहोर्नु परेका थुप्रै हिंसाका कारुणिक दृश्य भेटिन्छन् । प्रेम सम्बन्ध भत्काइने, मन परेको मान्छेसँग विवाहमा गर्न नपाइने, गाउँनिकाला हुनुपर्ने, घाइते बनाइने, कुटपिट गरिने त कतै सामाजिक रूपमा नै बहिष्करणमा पर्ने नियति अहिले पनि समाजमा दलित–गैरदलित प्रेम र विवाह गर्नेहरूले भोगिरहेका छन् । कतिपय घटनाहरूमा पारिवारिक र सामाजिक अस्वीकृतिका कारण दलित—गैरदलित प्रेम सम्बन्धमा रहेकाहरूकाले आत्महत्याको बाटो रोज्न बाध्य भएका देखिन्छन् । कतिसम्म भने विवाह सम्बन्ध कायम गरिसकेका दलित गैरदलित जोडीहरूलाई एकअर्काबाट अलग्याउने घटना पनि समाजमा दोहोरिइरहेका छन् ।
दलित—गैरदलित प्रेम र विवाह सम्बन्धका यस्ता दर्दनाक हिंसात्मक दृश्यहरू दोहोरिने क्रम रोकिएको छैन । नत्र २०७३ पुसमा श्रीमतीको मृत्युपछि गैरदलित महिलासँग प्रेममा परेका गुल्मी अर्वेनीका ७५ वर्षीय वृद्ध लालबहादुर सुनार गाउँलेहरूबाट बहिष्करणमा परेर ओडारमा बस्नुपर्ने बाध्यात्मक अवस्था आउने थिएन । न त ०७३ कै असारमा गैरदलित युवतीसँग विवाह गरेकैले काभ्रे पाँचखालका अजित मिजारको ज्यान जाने थियो । न सुर्खेतका बलबहादुर विकले गैरदलितकी छोरी बिहे गरेका कारण मध्यरातमा सिंगो परिवारमाथि आक्रमण खेप्नुपर्ने थियो । यतिमात्र होइन, दलित—गैरदलित प्रेम र विवाहमाथि सामाजिक र पारिवारिक हिंसाका घटनाको फेरिहस्त अझ लामो हुन जान्छ । एक अनौपचारिक आँकडाअनुसार २०५९ यता मात्रै दलित—गैरदलित प्रेम र विवाहसँग जोडिएर १३ भन्दा बढी हिंसात्मक घटना भएको देखाएको छ ।
लेखक तथा अभियन्ता शिवहरि ज्ञवालीकाअनुसार सन् २००५ देखि २०१४ सम्म जम्मा २ सय ४४ अन्तरजातीय विवाहसम्बन्धी मानवअधिकार उल्लंघनका घटनाहरू दस्तावेजीकरण भएका थिए । जसमध्ये १ सय ५७ दलित र ब्राह्मण, क्षेत्रीबीच अन्तरजातीय विवाहका थिए भने ६१ दलित र जनजाति र ४ ब्राह्मण, क्षेत्री र जनजातिबीचका अन्तरजातीय विवाह थिए । जसमध्ये १ सय ३६ घटनामा विस्थापितसँग सम्बन्धित थिए (१०२ जोडी, ३० परिवार, ४ वस्ती), १३८ बहिष्कार र १४ गम्भीर आक्रमण र ३ हत्या थिए । ज्ञवालीकाअनुसार २०६८ देखि २०७६ सम्म अन्तरजातीय विवाह र जातीय विभेदका कारण २५ जना दलितले ज्यान गुमाएका छन् ।
आखिर दलित—गैरदलित प्रेम र विवाहमा समाज किन यति अनुदार छ ? समाजशास्त्री डा. मृगेन्द्र्रबहादुर कार्की यस्ता घटनामा देखिएको छुवाछुतको धारणा सदियौंदेखिको ज्ञान प्रणालीको उपजको मान्छन् । ‘समाजको कानुन सदियौंदेखि विद्यमान हुन्छ । तसर्थ, समाजको ज्ञान प्रणाली समाजशास्त्रीय कोणबाट हेर्दा यसको ‘कोर इन्स्टिच्युसनल अर्डर’का आधारमा हेर्नुपर्ने हुन्छ । हाल यस्ता घटनामा देखिएको छुवाछुतको धारणा सदियौंदेखिको ज्ञान प्रणालीको उपजको हो,’ उनी भन्छन्, ‘यसो भनेर मैले यस्ता अमानवीय घटनाहरूलाई जायज भन्न खोजेको होइन् । तर, प्रेमले सामाजिक समूहहरूको फरक—फरक अस्तित्वका जीवन पद्धति मान्दैन ।’ विगतका दिनहरूमा चलिआएको ज्ञान प्रणालीको उपजमा रूपमा देखिएका भए पनि यस्ता घटनाका दोषीमाथि राज्यले निर्मम भएर कठोर कानुनी कारवाही गर्नुपर्ने उनी बताउँछन् ।
लेखक तथा राजनीतिज्ञ आहुति दक्षिण एसियाली र नेपाली समाज जातमा आधारित समाज भएकाले जातीय अहंकारका कारण यस्ता घटनाहरू दोहोरिइरहेको बताउँछन् । ‘जात व्यवस्थामा हुनेबित्तिकै माथिल्लो जातको मान्छेमा जातीय अहंकार विकास हुन्छ,’ उनी भन्छन्, ‘जसले तल्लो जातको सबै चीजलाई नराम्रो र घटिया देख्छ ।’ त्यही जातीय अहंकारका कारण पछिल्ला ८ वर्षमा १८ देखि २२ युवायुवतीको हत्या भएको उनी बताउँछन् । ‘चार वर्षदेखि अजित मिजारको शव शिक्षण अस्पतालमा छ,’ उनी थप्छन्, ‘राज्यले एकाधबाहेक कुनै पनि घटनामा दृढतापूर्वक काम गरेको छैन । राज्यले नै यस्ता घटना निरुत्साहित गर्न दृढतापूर्वक नलागेका कारण घटना बढिरहेका छन् ।’
समता फाउण्डेसनका अध्यक्ष तथा युवा अभियन्ता प्रदीप परियार परिवर्तित विश्व परिदृश्यलाई पनि यसको कारण मान्छन् । परिवर्तित विश्व देखेको नेपाली युवापुस्ताले पनि जातभात केही होइन भन्ने बुझेर आत्मसात गर्ने क्रममा यस्तो द्वन्द्व देखिएको तर्क उनको छ । ‘नेपाली युवापुस्ताले आफ्नो जीवनमा प्रयोग गर्न थाल्यो,’ उनी भन्छन्, ‘युवापुस्ताले परिवर्तनलाई आत्मसात ग-यो । नेपाली समाजको जातीय बनावट र दक्षिण एसियामा खास जात र वर्गबीच मात्रै विवाह गर्ने भन्ने छ । तर, युवापुस्ताले त्यसलाई मानेनन् र अन्तरपुस्ता द्वन्द्व देखियो ।’
परियारका अनुसार पढेलेखेका, बुझेका भनेका मान्छे बाहिर कुरा गर्ने तर आफ्नै जीवनमा नस्वीकार्ने र व्यवहारमा परिवर्तन गर्न नसक्नाले पनि यस्ता घटनाहरू समाजमा घटिरहेका छन् ।
कानुन कार्यान्वयनमा फितलोपन, समाजको जातमा आधारित पुराना सामाजिक संरचना, सचेतनाको अभावजस्ता विभिन्न कारणले अहिले दलित गैरदलित प्रेम र विवाह समाजको कोपभाजनमा पर्ने गरेका छन् । भलै, सरकारले २०६६÷०६७ देखि अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन भत्ता दिन थालेको थियो । केही वर्षपछि नै उक्त प्रोत्साहन भत्ता कार्यान्वयनमा छैन । समाज फेरिएपनि अहिले पनि समाजमा दलित—गैरदलित प्रेम सम्बन्धलाई सहज रूपमा पचाउन नसकिएको देखिन्छ । भलै, केही दलित गैरदलित प्रेम र विवाहहरू उदाहरणीय नै किन नहुन् ।
छुवाछुत कागजमा मात्रै उन्मुलन
कानुनी रूपमै वर्जित छुवाछुतका घटनामा पनि समाजमा पटकपटक दोहोरिइरहेका देखिन्छन् । नेपाल प्रहरी केन्द्रीय कार्यालयको तथ्यांकअनुसार पछिल्ला ५ वर्षमा छुवाछुतसम्बन्धी अपराधका १२० वटा मुद्दा दर्ता भएका छन् । जब कि नेपालको संविधान २०७२ को प्रस्तावनामै सबै प्रकारका जातीय छुुवाछुुत अन्त्य गर्ने उल्लेख छ । संविधानको धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हकको व्यवस्था गरिएको छ ।
यस्तै, २०६३ जेठमा नेपाललाई छुुवाछुुतमुक्त राष्ट्र घोषणा गरिएको थियो । त्यहीअनुसार कानुनी प्रबन्धहरू पनि गरिएको छ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को पहिलो संशोधन, २०७५ मा जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई कसुरका आधारमा तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजार रूपैयाँदेखि दुई लाख रूपैयाँसम्म जरिवानाका साथै दुई लाखसम्म क्षतिपूर्ति पीडितलाई भराउने व्यवस्था गरिएको छ । सोही अपराध दोहोरिए कसुरैपिच्छे दोब्बर सजाय हुने कानुनी व्यवस्था छ ।
‘समाजको सदियौं पुरानो ज्ञान प्रणालीको उपज हो’
आधुनिक आँखाबाट हेर्दा यस्ता घटना सर्वथा अनुचित कार्य हुन् । यस्तो काम कानुनी रूपमा दण्डनीय छन् । समाज र राज्य फरक—फरक अस्तित्वहरू हुन् । प्रत्येक समाजको आफ्नै मूल्य, मान्यता र कानुन पनि हुन्छ । राज्यको कानुन र समाजको कानुनको बीचमा द्वन्द्व हुन्छ । समाजको कानुन सदियौंदेखि विद्यमान हुन्छ । तसर्थ, समाजको ज्ञान प्रणाली समाजशास्त्रीय कोणबाट हेर्दा यसको ‘कोर इन्स्टिच्युसनल अर्डर’ का आधारमा हेर्नुपर्ने हुन्छ । हाल उक्त घटनामा देखिएको छुवाछुतको धारणा उक्त सदियौंदेखिको ज्ञान प्रणालीकै उपजको हो ।
यसो भनेर मैले यस्ता अमानवीय र नृशंस घटनाहरूलाई जायज भन्न खोजेको होइन । प्रेमले सामाजिक समूहहरूको फरक—फरक अस्तित्वका जीवन पद्धति मान्दैन । तसर्थ, रुकुममा यस्तो दुःखद् घटना भएको छ । हजारौं वर्षदेखि चलिआएको वर्णव्यवस्थामा आधारित उक्त ज्ञान प्रणालीलाई बदल्न आवश्यक छ । हाम्रो समाजको अहिलेको गति हेर्दा यो परिवर्तनका लागि अझ धेरै वर्ष लाग्ने देखिन्छ । अहिले भएका घटनामा यो वा त्यो बहानामा उन्मुक्ति दिने गर्नु हुँदैन । कानुनी राजमा कानुनी शासनलाई मान्नुपर्छ । दोषीलाई कानुनअनुसार दण्ड, सजाय हुनुपर्छ ।