म पुष्पलालको नेतृत्वमा बनारसमा बसेको थिएँ । मदन भण्डारी त्यतिबेला दाइसँग बृन्दावनमा हुनुहुन्थ्यो । दुई दाजु–भाइबीच खटपट भएपछि उहाँ बनारस आउनुभयो । मैले सो कुराको चाल पाएँ । उहाँले बनारसकै विश्वविद्यालयमा नाम लेखाएको थाहा पाएपछि उहाँसँग भेट्ने इच्छा ब्यक्त गरेँ । जगन्नाथ आचार्यले एक दिन उहाँलाई मेरो डेरामा लिएर आउनुभयो । उहाँले साहित्यिक क्षेत्रमा कलम चलाउन थाल्नुभएको रहेछ । पहिलो भेटमा हामीलाई उहाँले आफ्ना गीतहरू पनि सुनाउनुभयो ।
उहाँले मलाई भन्नुभयो, ‘मैले तपाईंका किताबहरू पढेको छु । आफै पनि एउटा काव्य लेखेको छु । हेरिदिनुस् है ।’ पछि उहाँले मलाई त्यो काव्य ल्याएर दिनुभयो । मैले त्यसको सम्पादन गरिदिएँ । त्यसपछि हाम्रो सम्पर्क बढ्न थाल्यो । त्यतिबेला पुष्पलालको नेतृत्वको पार्टीले एउटा सांस्कृतिक मोर्चा गठन गर्न लागेका थियौँ । मैले विभिन्न मानिसलाई छनोट गर्दै गएँ । सो क्रममा मदन भण्डारीलाई पनि त्यो मोर्चामा समावेश गर्ने सोच बनाएँ ।
मदनजीलाई पार्टी वा सांस्कृतिक मोर्चामध्ये कुनै एकमा आउनुस् भनेर प्रस्ताव राख्यौँ । पहिला उहाँको बुबालाई मनाउनुपर्ने भयो । बुबा देवीप्रसाद र आमा चन्द्रकुमारीलाई भेट्न हामी मोरङको इटहरी पुग्यौँ । बुबाले भन्नुभयो, ‘हामी अहिले अलि अफ्ठयारो परिस्थितिमा छौँ । तपाईंहरूले जे उचित ठान्नुहुन्छ, त्यही गर्नुहोला । छोराले पनि साहित्यमा रुची रोखेकाले मिलेर काम गर्नुस् ।’
मदनजीको घर पुगेर आएपछि बनारसमा उहाँको दाइसँग पनि भेट भयो । मदनजीको दाइ कांग्रेसको विचारसँग नजिक हुनुहुँदो रहेछ । विस्तारै उहाँमा जोगी बन्ने सोच आएछ । र, बृन्दावनमा बस्न थाल्नुभएको रहेछ । उहाँसँग पार्टी र राजनीतिको कुरा हुँदा उहाँले आफ्नो भाइ वाम विचारधारको भएको, विषयवस्तुमा राम्रो ज्ञान भएको र भविष्यमा नेतृत्वसम्म पुग्न सक्ने क्षमता भएको हुनाले उहाँलाई पार्टीमा समेट्न आग्रह गर्नुभयो ।
त्यतिबेला बुबाको सहमतिमा हामीले मदनजीलाई सांस्कृतिक मोर्चामा राख्ने भइसकेका थियौँ । मोर्चाको नाम जनवादी सांस्कृतिक मोर्चा थियो । म मोर्चाको महासचिव भएँ । मदनजी सदस्य रहनुभयो । यो २०२९ सालको कुरा हो । मोर्चामा आबद्ध भएपछि उहाँले कविताहरू लेख्न थाल्नुभयो । उहाँको गायन पनि राम्रो थियो । प्रवचन पनि परिष्कृत खालकै थियो । २० वर्षको उमेरमा उहाँको यस खालको प्रतिभा असामान्य नै मान्नुपर्छ । मोर्चामार्फत मदनजी विभिन्न साहित्यिक तथा सांस्कृतिक गतिबिधिमा सहभागी हुनुभयो । उहाँको साहित्यमा निकै रुची थियो । गीत लेखन र गायन राम्रो थियो । बनारसमा मोर्चामा रहँदा उहाँले लेखहरू पनि लेख्न थाल्नुभयो । साहित्य र विचार गोष्ठीमा आएर बोल्न थाल्नुभयो । उहाँको भाषण निकै प्रभावशाली थियो । कविता लेखन पनि सामान्य थिएन । क्रान्तिकारी कविताहरू मीठो गरी लेख्नुहुन्थ्यो । गीत सुनाएरै धेरैलाई आकर्षित गर्नुहुन्थ्यो । उहाँको कामको सबैले प्रशंसा गरे ।
मैले उहाँलाई अब पार्टीमा काम गर्नुपर्छ भन्थेँ । उहाँ भन्नुहुन्थ्यो, ‘म अहिले समर्थक मात्रै हो । पार्टीमा आउन सक्दिन ।’ तर, यस्तो प्रतिभालाई हामीले सही बाटो देखाउनुपर्छ भन्ने सधै लागिरहन्थ्यो ।
पार्टी यात्रा
मदनजी बनारसको पढाइ सकेपछि घर फर्किनुभयो । पुष्पलालले भण्डारीको तीक्ष्ण लेखन शैली भएको र माक्र्सवाद बुझेको हुनाले उनलाई अब पार्टीमा ल्याउनुपर्छ भन्नुभयो । त्यसपछि म फेरि उहाँको घरमा गएँ । मैले पुष्पलालको कुरा उहाँको बुबा–आमासामू राखेँ । मदनजी आफूहरू ६–७ भाइ भएको, पहाडबाट भर्खरै तराई झरेको, घरसमेत बनिनसकेको, दाइ जोगी भएर हिँडेको कुरा बताउँदै आफूलाई पूर्णकालिन राजनीतिक कार्यकर्ता भएर हिँड्न अफ्ठयारो भएको धारणा राख्नुभयो । त्यसपछि म त्यहाँबाट फर्किएँ । पछि फेरि २–३ पटक उहाँलाई मनाउन गएँ । मदनजीले अझै मान्नुभएको थिएन । उहाँको बुबाले सम्झाउँदै भन्नुभयो, ‘यसरी तेरै साथीहरू आएर भन्नुभएको छ । अहिलेलाई घरभन्दा धेरै टाढा नजाने गरी जिम्मेवारी लिएर काम गर् न त ।’ बुबाले त्यसो भनेपछि उहाँ राजी हुनुभयो । उहाँमा पनि राजनीतिमा लाग्ने इच्छा त थियो तर, पारिवारिक जिम्मेवारीले गर्दा आफै अघि बढ्न सक्नुभएको थिएन । बुबाको साथले हौसिनुभयो ।
पार्टीमा जोडिएपछि स्थानीयस्तरमा उहाँले राम्रो काम गर्न थाल्नुभयो । कामबाट प्रभावित भएर हामीले उहाँलाई केन्द्रीय समितिमा ल्याउने विषयमा सल्लाह गर्यौँ । जीवराज आश्रित र म फेरि उहाँको घरमा गयौँ । परिवार र स्थानीय साथीहरूसँग कुराकानी गरेपछि सबैले उहाँलाई राजनीतिलाई अगाडि बढाउन सल्लाह दिनुभयो । सबैको सल्लाहलाई मानेर उहाँ घरबार छाडेर पार्टीमा क्रियाशील सदस्यको रुपमा पूर्णकालीन रुपमा भूमिगत हुनुभयो । यसरी २०३५ सालमा स्थापना भएको नेकपा (माले) मा उहाँ केन्द्रीय सदस्य बन्नुभयो ।
उहाँ लगनशील भएर आफ्नो काम गर्नुहुन्थ्यो । जनताको मन जित्न निकै सिपालु । भाषण गरेर धेरैलाई आफ्नो प्रभावमा पार्न सक्ने । उहाँको सोही क्षमताका कारण २०४१ सालमा पार्टीको पोलिटब्यूरो सदस्य र २०४६ मा महासचिव बन्न सफल हुनुभयो । ३७ वर्षको उमेरमा उहाँले हासिल गरेको उपलब्धि चानचुने थिएन ।
राष्ट्रिय परिचय र सम्मान
बनारसमा हुँदा पहिलो पटक मदनजीले मलाई आफूले लेखेको किताब सम्पादन गर्न दिनुभएको थियो । उहाँको नेपाली भाषा कमजोर रहेछ । मैले सम्पादन गरिदिएँ र त्यो प्रकाशनमा आयो । बनारसमा हामीले प्रगतिशील अध्ययन मण्डल गठन गरेका थियौँ । त्यतिबेला मैले उहाँलाई प्रशिक्षण दिएको थिएँ । उहाँले पुष्पलालको पनि संगत गर्नुभयो । यसरी उहाँको लेखन पनि निखारिँदै गयो । उहाँ भूमिगत नामबाट आफ्ना लेख, रचना छपाउनुहुन्थ्यो । उहाँले त्यतिबेला लेखेका प्रकाशनहरू हेर्दा अहिले उन्नतस्तरका भेटिएका छन् ।
उहाँको बोली प्रखर थियो । धेरै अरुका कुरा सुन्नुहुन्थ्यो । ती कुराको विश्लेषण गरेर ‘मलाई यस्तो लाग्यो’ भन्नुहुन्थ्यो । उहाँ गम्भीर स्वाभावको हुनुहुन्थ्यो । उत्ताउलोपन मन पराउनु हुँदैनथ्यो । निरन्तर अध्ययन गर्ने, साथीहरूसँग विचारको आदान–प्रदान गर्ने गर्नुहुन्थ्यो । उहाँमा कुनै कुराको भय, चिन्ता र दु:ख मैले कहिल्यै देखिन । कुनै काममा लागेपछि लागेको लाग्यै गर्नुहुन्थ्यो । सम्पन्न गरेर मात्र छाड्नुहुन्थ्यो ।
एक पटक प्रशिक्षणका क्रममा म उहाँसँग पूर्वी नेपालका केही स्थानमा गएको थिएँ । त्यहाँ जाँदा के बुझेँ भने उहाँले त्यताका मानिसमा आफ्नो व्यापक प्रभाव पार्नुभएको रहेछ । यसरी लेखन र प्रवचनमा अब्बल मदनजी प्रशिक्षणमा पनि अब्बल बन्दै जानुभयो, जसको बलमा उहाँले राष्ट्रियस्तरमा आफ्नो परिचय बनाउनुभयो र सम्मान प्राप्त गर्नुभयो । पार्टीभित्र होस् या बाहिर उहाँको तारिफ गर्नेहरूको कमी थिएन । म ६–७ वर्ष जेल परेर निस्किएपछि उहाँसँगै विभिन्न कार्यक्रम, प्रशिक्षण र सभामा सहभागी हुन थालेँ । उहाँको राजनीतिक चेत निकै प्रखर भएको रहेछ । मेरो विचारमा, म जेल जानुअघिको मदन भण्डारी राजनीतिभन्दा बढी साहित्यिक चेत भएका थिए । म जेलबाट निस्कँदा साहित्यभन्दा राजनीतिक चेत बढी भएको पाउँदा उहाँ अब राजनीतिमै केन्द्रित हुनुहुन्छ भन्ने लाग्यो । चारैतिर उहाँको वाहवाही थियो । यस्तो मान्छेले अब कम्युनिष्ट आन्दोलन हाँक्छ र हामीलाई गाह्रो पर्छ भनेर नै विरोधी शक्तिले उहाँको हत्या गर्यो ।
मैले मदनजीका कमजोरीहरू त्यति देखिन । तर, राजनीतिमा माथि–माथि चढ्दै गएपछि अलिकति अहम् बढेको हो कि भन्ने महसुस हुन्थ्यो । लोकप्रिय भएपछि उहाँ अलिकति आफू सबै कुरामा जान्ने भएको ठान्नुभयो कि सायद ! सधै प्रशिक्षणमा जाँदा, भाषण गर्दा मसँग सल्लाह गर्ने मदनजीले पछिल्लो समयमा सल्लाह गर्न छाडेपछि मेरो मनमा आएको भावना पनि हुन सक्छ त्यो । त्यतिबेला त मलाई त्यस्तो लागेको थिएन । पछि विचार गर्दा सोचेँ । आफूले नै धेरै प्रयत्न गरेर ल्याएको मान्छे अगाडि बढ्दा म खुसी नै थिएँ । उहाँ जति लोकप्रिय भए पनि उहाँलाई प्रेरणा र प्रोत्साहन दिन मैले कहिल्यै कञ्जुसाई गरिनँ । उहाँ सधैँ मेरो प्रिय पात्र रहरिहनुभयो ।
(कृष्ण आचार्यसँगको कुराकानीमा आधारित)