
साप्ताहिक संवाददाता
-१५६७
पुरुषको 'व्यक्तित्व', 'पौरुषत्व' वा भनौं पहिचान तथा आत्मसम्मानसँग जोडिएकाले अन्य अंगभन्दा यसको सांकेतिक महत्त्व बढी छ। लिंगका सम्बन्धमा धेरै जनाको चासो र चिन्ता भए पनि यसको संरचनाका बारेमा कमै मानिसलाई मात्र पर्याप्त जानकारी हुन्छ।
लिंग के हो ?
लिंग पुरुषको शरीरको बाहिरतिरबाट सजिलै देख्न सकिने प्रजनन अंग हो। सन्तान उत्पादनका लागि वीर्य महिलाको योनिमा राख्नु तथा 'यौन' आनन्द दिनु यसको मुख्य कार्य हो। लिंग मुख्यतया तीनवटा स्पन्जजस्तो संरचनाले बनेको हुन्छ। लिंगको माथिल्लो भागमा दुईवटा कर्पस क्याभरनोसा भनिने भाग हुन्छन् भने तलतिर कर्पस स्पञ्जिओसम। लिंग उत्तेजित हुँदा यिनै संरचनाहरूमा रगत भरिन्छ र लिंग लामो, मोटो र कडा हुन्छ। उत्तेजित नभएका बेला लिंग लचिलो हुन्छ र बाङ्गोपनको खासै आभास हुँदैन, उत्तेजित हुँदा मात्र यसको बाङ्गोपन देखिन्छ।
के लिंग एकदमै सीधा हुन्छ ?
उत्तेजित नभएका बेला लचिलो अंगका रूपमा रहने हुनाले बाङ्गोपनको खास आभास नहुने भए पनि उत्तेजित हुँदा यो बाङ्गोपन वा लिंग केही घुमाउरोजस्तो देखिन्छ। तपाईंले आफ्नो लिंग कुन आधार वा अर्थमा बाङ्गो मान्नुभएको हो तथा कसरी आफ्नो लिंग सामान्यभन्दा बाङ्गो भएको थाहा पाउनुभयो भन्ने कुरा स्पष्ट हुनु आवश्यक छ। को वा केसँग तुलना गरेर तपाईंले आफ्नो लिंग बाङ्गो मान्नुभएको हो, ध्यान पुर्याउनुपर्ने हुन्छ। सम्पूर्ण शरीर देखिने ऐनामा केही दूरीबाट हेर्दाको भन्दा आफूले माथिबाट सीधै हेर्दा लिंगको बाङ्गोपन बढी देखिन्छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ।
व्यक्ति-व्यक्तिअनुसार लिंगको नाप र आकारमा पर्याप्त भिन्नता हुन्छ र यो लिंगको विकासक्रममै हुने कुरा हो। हाम्रो शरीरको पनि दायाँ-बायाँ ठयाक्कै बराबर हुँदैन, केही फरक हुन्छ। शरीरको बीचमा परेको भए पनि शरीरको विकासक्रममा देखा पर्ने प्रभाव लिंगमा पनि देखिन्छ। उत्तेजित अवस्थामा एकदम सीधा नभै लिंग आफैंमा केही मात्रामा टेढो (बाङ्गो) हुन्छ। यो सामान्य कुरा नै हो। यस्तो बाङ्गोपन दायाँ, बायाँ, माथि वा तल जता पनि हुन सक्छ। यस्तै ३० डिग्रीसम्मको घुमाउरो वा बाङ्गोपनलाई सामान्य मानिन्छ भने ४५ डिग्रीभन्दा बढीको नभएसम्म विरलै मात्र उपचारको आवश्यकता पर्छ। कतिपयले लिंग उत्तेजित हुने कोणको कुरालाई लिएर बाङ्गोपनको कुरा गर्छन्। कतिपयले लिंग उत्तेजित हुँदा शरीरबाट सीधा बाहिर निस्किएको वा भुइँसँग समानान्तर (उभिएको अवस्थामा) हुनुपर्छ भन्ने सोच्छन्, तर यथार्थ त्यस्तो हुँदैन। लिंग उत्तेजित हुँदा केही छड्के भएको हुन सक्छ। लिंगको कर्पस क्याभरनोसा भन्ने भाग जघनास्थीसम्म जोडिएको हुन्छ। त्यसैले उत्तेजित लिंगको कोणलाई निर्धारित गर्छ।
के यौनसन्तुष्टि दिन सकिएला ?
पुरुषलाई निकै चिन्ता हुने भए पनि हल्का किसिमको लिंगको बाङ्गोपनले यौनसम्पर्कलाई कुनै किसिमको बाधा पुर्याउँदैन र यौनसुख लिन तथा दिन दुवै सकिन्छ। त्यसैले अनावश्यक रूपमा चिन्ता लिनु आवश्यक छैन। कतिले त यस किसिमको हल्का बाङ्गोपनका कारण योनिमा घर्षण राम्रै हुने भएकाले थप यौनआनन्द आउने कुरा पनि गरेका छन्। अर्को, एकदम महत्वपूर्ण कुरा छ। तपाईंलाई थाहै होला कि महिलाको प्रमुख यौन संवेदनशील अंग अर्थात् भगांकुर हो र यो भगांकुर वास्तवमा योनिभित्रतिर नभै भगक्षेत्रको बाहिर हुन्छ। यसको घर्षण गरेर यौनआनन्द प्रदान गर्न लिंगको आवश्यकता नै पर्दैन। अब त पक्कै बुझ्नुभयो होला, हल्का किसिमको बाङ्गोपनका कारण भविष्यमा विवाह गर्नबाट तर्सनुपर्ने कुनै कारण छैन।
धेरै नै बाङ्गो भएको अवस्थामा
हल्का किसिमको बाङ्गोपन सामान्य नै भएकाले खासै पीर गर्नु नपरे पनि गम्भीर प्रकृतिको बाङ्गोपनमा उपचार गराउनुपर्ने हुन्छ। केही त जन्मजात हुन्छन्। मूत्रनलीको विकासमा गडबडी भएर टेढोपन भएको स्थितिमा लिंग तलतिर बाङ्गो हुन्छ। लिंग स्थायी रूपमा बाङ्गो भएको अवस्थालाई कर्डी भनिन्छ। मूत्रद्वारको गम्भीर संक्रमण पनि लिंगको बाङ्गोपनको कारण हुनसक्छ। पाइरोनिज रोगमा सामान्य लिंग अकस्मात निकै बाङ्गो भएर यौनसम्पर्क गर्न नसक्ने हुन्छ र दुख्छ पनि।
लिंग तन्काउनेदेखि लिंग सोझ्याउने तरिकाका रूपमा शल्यचिकित्सालाई नै लिइन्छ। सामान्यत: गम्भीर प्रकृतिको लिंगका बाङ्गोपनलाई शल्यक्रियाद्वारा नै सोझो बनाइन्छ। त्यसका लागि शल्यचिकित्सकसँग सम्पर्क गर्नुपर्छ। शल्यक्रियाका हानि पनि हुनसक्छन्, त्यसैले त्यसका प्रक्रिया, सफल हुने सम्भावना तथा सम्भावित जटिलता सबैका बारेमा राम्रोसँग छलफल गर्नुहोला। हल्का बाङ्गोपन हुँदा वा भनौं समस्या गम्भीर नहुँदा आफ्नो लिंग सोझ्याउनेतिर लाग्नुभन्दा पहिले महिलाले कसरी यौन आनन्द प्राप्त गर्छन् भन्ने कुरा बुझ्नतर्फ लाग्नु बुद्धिमानी हो।
तपाईंले यौनसम्पर्क गर्दा कत्तिको अप्ठयारो परेको छ भन्ने कुरा लेख्नुभएको छैन, यसका बारेमा अनि शल्यचिकित्साको आवश्यकताका बारेमा पनि चिकित्सकको परामर्श लिनुहोला, जसले गर्दा आवश्यक नभै हल्का किसिमको बाङ्गोपनलाई सोझ्याउन खोज्दा फाइदाको सट्टा बढी नै हानि हुने सम्भावना नहोस्।


