साप्ताहिक संवाददाता
कलाकार : दयाहाङ राई, यशराज गराच, बिक्की मल्ल, सम्भव श्रेष्ठ, हषिर्का श्रेष्ठ, सुरभी जैन विष्ट तथा रमेश फुयाँल।
संगीतकार : बीबी अनुरागी, शीतल मोक्तान तथा रुद्र बोहोरा।
नेपाली चलचित्र 'नागबेली' को देशव्यापी प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ। नृत्य निर्देशनमा स्थापित भैसकेका गोविन्द राई यही चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्दैछन्। निर्माण भएको करिब एक वर्षपछि प्रदर्शन हुन लागेको यो चलचित्रमा मानिसको जीवनको घुम्तीलाई नागबेलीसँग तुलना गरिएको छ। चलचित्रमा मानिसको जीवन नै घुम्तीजस्तो भएको तथा यसका अनेक मोडमा गर्नुपर्ने संघर्षलाई चित्रण गरिएको छ। रोमियन लिम्बू चेम्जोङ (वनेम फागो) ले निर्माण गरेको यो चलचित्रको लेखन सञ्चारकर्मी दीपेन्द्र लामाले गरेका हुन्। चलचित्रमार्फत युवापुस्तालाई जीवनमा आइपर्ने संकट समाधानको सन्देशसहित जीवनमा आउने विभिन्न मोड पार गर्न अपनाउनुपर्ने उपायहरू चित्रण गरिएको छ। चेलीमाइती इन्टरनेसनल फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रको छायांकन काठमाडौं उपत्यकासहित काभ्रे जिल्लामा गरिएको छ। रामशरण उप्रेतीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा कमल राई र गोविन्द राईको नृत्य निर्देशन रहेको यो चलचित्रमा मोहित मुनालको पाश्र्व संगीत सुन्न सकिन्छ।