कोरोना महामारीबाट सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो चलचित्र क्षेत्र । तर यसले चलचित्र क्षेत्रलाई जति चुनौती दिएको छ, त्यति नै अवसर पनि । दयाराम दाहाल, रेखा थापा, आकाश अधिकारी, रविन्द्र खड्का, अनुप बराल, माओत्से गुरुङ र निकेश द्धालाई सुन्दा यस्तै लाग्छ ।
कोरोनाको कारण चलचित्र उद्योग ठप्प भइरहेको बेला अबको बाटो के हुन सक्ला भन्ने सन्दर्भमा सरोकारवालाबीच भिडियो छलफल भयो । जसमा सहभागी भए- चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता तथा कलाकार दीपकराज गिरी, रेखा थापा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले आयोजना गरेको कार्यक्रममा प्रत्यक्ष उपस्थित थिए कलाकार तथा निर्देशक अनुप बराल, माओत्से गुरुङ र हल सञ्चालक निकेश द्धा । प्रस्तुत छ सहभागीले व्यक्त गरेकोे मतको सम्पादित अंशः
मौलिक सिनेमा नै अबको बाटो
लकडाउनपछि नेपाली चलचित्रको चुनौती भनेकै यसको व्यासायिक प्रर्दशन हो । निर्माण भइसकेका चलचित्र कसरी प्रर्दशन गर्ने र आर्थिक जोखिम न्यूनिकरण गर्ने भन्ने चुनौती छ । चलचित्र निर्माणलाई कसरी अगाडि लैजाने भन्ने अर्को चुनौती छ । सबै कुरालाई ध्यानमा राखेर चलचित्र विकास बोर्डले समिति निर्माण गरेको छ । म बोर्ड अध्यक्ष भएर आएको भोलिपल्टबाट नै समितिले काम थालेको छ । विभिन्न पेशागत संघसंगठनसँग अवधारणा लिने काम भइरहेको छ ।
चलचित्र विकास बोर्डले आफ्नो आन्तरिक श्रोत र क्षेत्राधिकारभित्र रहेर गर्न सकिने काम तुरुन्तै गर्ने तयारीमा छौँ । श्रमजीवी चलचित्रकर्मीको जीवनयापनलाई सहजता प्रदान गर्न के कसरी जान सकिन्छ भनेर पनि छलफल भइरहेको छ ।
सबैभन्दा पहिला मानिस बाँच्नुपर्यो, हाम्रो ध्यान त्यतातिर छ । अब नेपाली चलचित्रको बाटो आफ्नै मौलिक निर्माण शैली स्थापित गर्नु हो । यसलाई अन्तराष्ट्रिय क्षेत्रमा पहिचान दिनु हो । अन्तराष्ट्रिय बजार विस्तारसँगै आफ्नौ मौलिक शैलीलाई स्थापित गर्नुपर्छ भनेर मौलिक, कलात्मक र राष्ट्रियताले ओतप्रोत चलचित्रको कथा छनोट गरेर त्यसलाई निर्माणमा सहयोग गर्ने कार्यक्रम ल्याउदैछौँ । नयाँ पुस्ताका पढिरहेका र पास भइसकेका विद्यार्थीका साथै सक्रिय चलचित्रकर्मीका लागि स्क्रिप्टमा फण्डिङ गर्ने कार्यक्रम पनि ल्याउन खोजेका छौँ । श्रमजीवी चलचित्रकर्मीका लागि सामाजिक सुरक्षा कोषमार्फत उत्तरार्धको जीवनमा पेन्सनयुक्त होस् भनेर विशेष पहल गरिरहेका छौँ । सँगसगै, नेपाली चलचित्र क्षेत्रको प्रोत्साहन र प्रबद्र्धनका लागि अन्तराष्ट्रिय बजार विस्तृतिकरणको योजना बनिरहेको छ । राष्ट्रिय रूपमा नेपाली चलचित्रलाई बलियो बनाउनका लागि मध्यपहाडी लोक मार्गभन्दा माथि र महेन्द्र राजमार्ग भन्दा तलको क्षेत्रमा विशेष कार्यक्रमहरू ल्याइरहेका छौँ । यसपालिको कार्यक्रम नयाँ प्रतिभा र पुस्ताका युवालक्षित हुनेछ । अवधारणा बनाइरहेका छौँ, चाँडै घोषणा गर्छौं । पहिलो प्राथमिकता भनेको महामारीबाट मुक्ति पाउनु नै हो ।
अझ प्रचुर सम्भावना
कोरोनाका कारण चलचित्र क्षेत्रलाई पारेको प्रभावबारे विभिन्न कोणबाट मूल्यांकन भइरहेको छ । मैले त चलचित्र क्षेत्रमा चुनौतीभन्दा पनि अवसर देखिरहेको छु । हिजोको जस्तो पुरानो शैलीमा काम गर्ने भन्दा पनि चलचित्रलाई विश्वव्यापी रूपमा प्रर्दशन गर्ने तरिका खोज्न सकिन्छ ।
खासमा अहिले ब्रेक चाहिएको थियो हरेक व्यक्तिलाई, हरेक क्षेत्रलाई । प्रकृतिले नै एउटा ब्रेक दिएको छ– आफ्नो आत्मआलोचना गर्न, आफ्ना कमीकमजोरीबारे महसुस गर्न । चिन्तन–मनन गर्ने समय मिलेको छ भनेर अगाडि बढ्न सक्यौं भने हरेक क्षेत्र भोलि राम्रो हुनेछ ।
एक–अर्कालाई हात दिऔं
प्राथमिकताका हिसाबले हामी सबैभन्दा तल छौं । सिनेमालाई न सरकारले प्राथमिकतामा राखेको छ, न कुनै संस्थाले । यो त्यति ठूलो उद्योग पनि हैन । सबैभन्दा ठूलो चुनौती नै यही हो । यसै पनि नेपाली चलचित्रले व्यापकता पाउन सकेको थिएन । त्यसमाथि अहिले झन्सास फेर्न गाह्रो हुने खालको समस्यामा छ ।
रिलिजको लागि तयार चलचित्र थिए, मिति घोषणा भइसकेको थियो । तर तोकिएको मितिमा रिलिजको सम्भावना रहेन । त्यसैले अब निर्माण भइसकेको चलचित्र पहिले रिलिज गर्नुपर्यो । हलमा मान्छे आउने वातावरण तयार गर्नुपर्यो । यो हामी सबैको दायित्व हो । अब हामीले आफूलाई सिनेमा मेकरको रूपमा भन्दा पनि म्यासेन्जरको रूपमा अगाडि ल्याउनुपर्छ । त्यसका लागि स्वस्थ प्रतिष्पर्धा आवश्यक छ । यसअघि हामीमा अर्काको चलचित्र प्रबद्र्धन गर्ने संस्कार थिएन । अबको दिनमा एकले अर्कोलाई सपोर्ट गर्दै अगाडि बढ्नुपर्छ ।
सिमाना भन्दा संस्कृति ठूलो हो । संस्कृतिबाट चिनिन्छ मुलुक । सिमाना जहाँकतै हुनसक्छ । तर त्यसभित्र नेपाली संस्कृति छ कि छैन महत्वपूर्ण हुन्छ । त्यो संस्कृति बचाउने काम नेपालका गीतसङ्गीत तथा चलचित्रले गर्छन् भन्ने कुरालाई स्थापित गर्नको एक अर्कालाई सहयोग गर्नुपर्छ । सरकारले सहयोग गर्ला, अरू कसैले सहयोग गर्ला भनेर अपेक्षा नगरे हुन्छ । हामी आफैंले नै यसलाई पुर्नजीवन दिनुपर्छ ।
राज्यको साथ चाहियो
५० चलचित्र सुटिङ सकेर, पोस्ट प्रोडक्सनमा छन् । सुटिङ सकेर सेन्सरपछि मिति लिइसकेका दुई दर्जनहाराहारी चलचित्र छन् । यसरी झण्डै १ अर्ब १५ करोड लगानी फ्रिज भएर बसेको छ । त्यसैले चलचित्र रिलिज कसरी गर्ने भन्ने ठूलो चुनौतीे छ ।
रिलिज गर्न सिनेमा भवन खुल्नुपर्यो । खुले पनि सामाजिक दूरी कायम गर्नुपर्यो । एउटा सिट वा ‘रो’ टिकट बेच्ने एउटा उपाय हुन सक्छ, तर अकुपेन्सी घटेर ३३ प्रतिशतमा झर्छ । त्यसैले राज्यले चुनौतीलाई सहज बनाइदिनुपर्छ । अति संवेदनशील समस्या परेको उद्योगको रूपमा नेपाली चलचित्रलाई पनि राख्नुपर्छ भन्ने हाम्रो आग्रह छ । यस उद्योगमा प्रयोग भइरको बिद्युत महसुल घटाइयोस् । यो क्षेत्रले लिएको कजाएको कम्तीमा ७५ प्रतिशत ब्याज मिनाहा होस् । तिर्ने म्याद असार मसान्तबाट कमसेकम पुस मसान्तसम्म पुर्याइयोस् । मनोरञ्जन करदेखि स्थानीय करसम्म कमसेकम दुई वर्षका फ्री बनाइयोस् । जसले निर्माता र चलचित्र भवन बाँच्न सक्ने अवस्था बन्छ ।
निर्माण भएर प्रर्दशनमा जान लागेका चलचित्रको हकमा चुनौती कम गर्न यी बिषय समेटेर चलचित्र विकास बोर्ड, सूचना, संचार तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयमा हामीले बजेटभन्दा पहिल्यै निवेदन पेश गरेका थियौँ ।
लागतको कम्तीमा २० प्रतिशत राज्यले व्यवस्था गर्ने हो भने हामी तब रिलिजमा जान सक्छौँ । ८० प्रतिशतको जोखिम हामी लिन सक्छौं । त्यसका साथै पब्लिसिटी हामीले निःशुल्क पाउनुपर्यो । यसको व्यवस्थापन चलचित्र विकास बोर्डले गरिदिनुपर्छ ।
हरेस खानुपर्ने अवस्था छैन
चलचित्र क्षेत्र यहीँ नै अन्त्य भयो भनेर हरेस खानुपर्ने अवस्था पक्कै पनि छैन । तर यथार्थ हो कि आज हामी अप्ठ्यारो परिस्थितिमा छौँ । विशेषगरी प्राविधिकको कुरा गरौँ । राम्रा प्राविधिकले अरू क्षेत्रमा पनि काम पाउन सक्नुहुन्छ । त्यसो भएमा चलचित्र क्षेत्रले चाहिँ राम्रा प्राविधिक गुमाउनुपर्ने अवस्था आउनसक्छ । त्यसैले उहाँहरूलाई जोगाइराख्न हामीले दैनिक जीवनमा सहज बनाउने तहमा व्यवस्था गर्न सक्नुपर्छ । खानको लागि पनि धौ–धौ परेको अवस्थामा स्वास्थ्य उपचार कसरी गर्नुहुन्छ, त्यसमा पनि हेर्नुपर्ने हुन्छ । यसका लागि राज्यलाई अनुरोध गर्नुपर्छ । जहाँसम्म लाग्छ, हामी सबै एक भयौँ भने समस्याको समाधान अवश्य हुनेछ ।
बजार खुम्चँदैन, अझ बढ्छ
अहिले जनमानसमा जुन डर बसेको छ, त्यसबाट कसरी बाहिर निकाल्ने भन्ने नै सबैभन्दा ठूलो चुनौती छ । मानिसहरू हलमा गइहाले भने पनि डर मान्दै चलचित्र हेर्दा इन्जोय गर्न सक्दैनन् । त्यसैले सुरक्षित रूपमा हलमा गएर सिनेमा हेर्ने वातावरण बनाउन पहिलो सर्त हो । त्यसको मापदण्ड कस्तो बनाउने भन्ने विषयमा राज्यले काम गर्नुपर्छ । नत्र, दर्शकको मनोविज्ञान छिट्टै परिवर्तन हुन सक्दैन ।
कोरोनाप्रतिको डर घटाउनु पर्छ । सुरक्षित भएर हल खोल्नुपर्छ । यसरी नै बस्ने हो भने त अनिश्चितता रहिरहन्छ । अब जुधेरै भए पनि अगाडि बढाउनुपर्छ । होइन भने आर्थिक भारले राज्यको कर अनि चलचित्र क्षेत्रमा आश्रित सबैलाई असर पार्छ । पलायन हुने स्थिति बन्छ ।
हुन त हलमा चलचित्र हेर्नुको मज्जा घरमा मिल्दैन । तथापि अवस्था अनुसार चलचित्र हेर्ने बानीमा पनि परिवर्तन भएको छ । त्यसैले चलचित्रको बजार खुम्चदैन, बढ्दै जान्छ । त्यसैले डिजिटल प्ल्याटफर्मसमेत प्रयोग गर्न सकिन्छ ।
मोफसलमा बढी असर
कोरोनाका कारण प्राविधिकलाई बढी मार परेको छ । यसका अलावा मोफसलमा बसेर संघर्ष गरिरहेका कलाकारलाई पनि असर परेको छ । नेपालका अन्य भाषाभाषीका चलचित्रमा पनि उस्तै समस्या परेको छ । सम्भावना भने अझै बाँकी छ । हामीले सामूहिकतामा विश्वास गर्नुपर्छ । अब स्टोरीटेलिङ, प्रचारशैली आदिमा फरकपन आउला भन्ने आशा छ । कलाकारले नै अब कलाकारको रक्षा गर्नुपर्ने स्थिति छ । समस्यासँग जुझिरहेका छन् कलाकार । उनीहरूको समस्या समाधानतर्फ हामी सबै लाग्नुपर्ने आवश्यकता छ ।
डिजिटल प्ल्याटफर्ममात्रै विकल्प होइन
डिजिटल प्ल्याटफर्मबाट मात्रै चलचित्र प्रर्दशन गर्नु हुँदैन । चलचित्र प्रर्दशन हलमा नै गर्नुपर्छ । हामी राज्यले बनाएको मापदण्डमा बसेर हल सञ्चालन गर्न तयार छौँ । अहिलेको अवस्थामा स्थानीयलगायतका कर घटाइदिए सजिलो हुने थियो । चलचित्र सफल हुन कन्टेन्ट राम्रो त हुनुपर्छ नै । स्टारडमले चल्ने पहिलो र दोस्रो दिनमात्रै होे, त्यसपछि कन्टेन्ट नै हेरिन्छ । कस्तो ब्यानरको, कस्तो टिम भन्ने पनि हेरिन्छ । त्यसैले राम्रो सिनेमा बन्नु आवश्यक छ । त्यसो हुँदा हल चलाउन गाह्रो हुँदैन । नेपालको सन्दर्भमा पूरै डिजिटल प्ल्याटफार्म तत्काल सम्भव छैन । त्यसैले हल सञ्चालनलाई नै जोड दिनुपर्छ ।