साप्ताहिक संवाददाता
बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आफ्नै निवासमा आईतवार आत्महत्या गरेका छन् । उनले आत्महत्या गर्नुको कारण नखुले पनि उनी पछिल्लो केही महिना देखि डिप्रेसनको शिकार भएको बताईएको छ । यसकै कारण उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक वयान दिएका छन् ।
कोठाको पंखामा झुण्डिएर आत्महत्या गरेका राजपुतले कुनै पनि सुसाइड नोट नलेखेको मुम्बाई प्रहरीले जनाएको छ । तर उनको कोठवाट बरामद गरेको समानहरुमा डिप्रेसनका औषधिहरु रहेका थिए । राजपुतका साथीहरुका अनुसार उनी पछिल्लो ६ महिना देखि डिप्रेसनमा रहेको र औषधि नियमित सेवन गरिरहेको बताएका छन् ।
सुशान्तका साथीहरुका अनुसार उनको पूर्व प्रेमिका अंकिता लोखंडेले एक ब्यापारीसंग एक साता अघि विवाह गरेको कारण राजपुत तनावमा थिए । यसैविच उनको पूर्व मेनेजर दिशा सालियनले पनि केही दिन अघि आत्महत्या गरेपछि राजपुत थप तनावमा रहेको बताए ।
बिहारको पटनामा ३४ बर्ष अघि जन्मिएका सुशान्तले बलिउडको फिल्म क्षेत्रमा प्रबेश गर्नु अगाडी ‘पवित्र रिश्ता’ र ‘किस देश में हैं मेरा दिल’ नामक हिन्दी धारावाहिकमा अभिनय गरेका थिए । पवित्र रिश्तामा सुशान्तसंग अभिनय गरेकी अंकिता लोखंडेसंग उनको लामो समय लभ एफेर रहेको थियो । इन्जिनियरिङको पढाईलाई विचमै छोडेर अभिनयको क्षेत्रमा लागेका राजपुतले यही धारावाहिकमा राम्रो अभिनय गरेको कारण बलिउड फिल्म क्षेत्रमा अवसर पाएका थिए । उनले ‘काय पो चे’ मा अभिनय गरेर बलिउड फिल्म क्षेत्रमा डेब्यु गरेका थिए । यो फिल्ममा राम्रो अभिनय गरेपछि उनलाई ‘शुद्ध देसी रोमांस’, ‘पिके’, ‘केदारनाथ’, सोनचिडैया, ‘डिटेक्टिभ ब्योमकेश बक्शी’, ‘एमएस धोनी: द अनटोल्ड स्टोरी’, ‘राब्ता’, ‘छिछोरे’ जस्ता फिल्ममा अभिनय गर्ने अवसर पाएका थिए ।