भारतको मणिपुरमा जन्मिएर सानै उमेरदेखि संगीतमा सक्रिय मीना निरौलालाई मात्र एउटा गीतले स्थापित गायिका बनाइदिएको मान्नेहरू प्रशस्तै छन् । यद्यपि वास्तविकता अलि भिन्न छ । भारतमै शास्त्रीय संगीतमा स्नातक (विशारत) गरेर नेपाल आएकी मीनाले यो अवधिमा नेपाली सांगीतिक क्षेत्रमा प्रशस्त काम गरिन् । तैपनि उनलाई सेलिब्रेटी गायिका बन्ने श्रेय जम्मा एउटा गीतले दियो । चलचित्र ‘लुट–२’ को ‘ठमेल बजार...’ गीत लोकप्रिय भएपछि मात्र उनी धेरैभन्दा धेरै श्रोतामाझ पुगिन्, सञ्चारमाध्यमको आकर्षकको केन्द्र बनिन् ।
‘ठमेल बजार...’ लोकप्रिय हुनुभन्दा धेरै वर्षअघिदेखि मीना सांगीतिक क्षेत्रमै सक्रिय थिइन् । नेपालयले आयोजना गरेको सांगीतिक श्रृंखला ‘पलेँटी’ मा दिग्गज संगीतकर्मीहरूसँगै प्रस्तुत भएर नेपालका सबैजसो अग्रज गायिकाका गीत गाउने क्रममै मीनाले सांगीतिक क्षेत्रमा बेग्लै स्थान बनाइसकेकी थिइन् । त्यस क्रममा उनले अमर गुरुङ, प्रेमध्वज प्रधान, फत्तेमान, बच्चु कैलाशदेखि दीप श्रेष्ठसँग कुम जोडेर प्रत्यक्ष वाद्ययन्त्रको तालमा आफ्नो स्वरको जादु छरिन् । आधा दशकअघि नै संगीतकार कालीप्रसादको एकल संगीतमा एकल एल्बम तयार पारिसकेकी मीनालाई यतिबेला चर्चित गायिका बनाउने श्रेय पनि संगीतकर्मी कालीप्रसादलाई नै जान्छ । कालीप्रसादले नै उनलाई ‘ठमेल बजार...’ गाउने प्रस्ताव राखेका थिए । उक्त गीत सुनेपछि मीनाले आफू त्यस्तै गीतको प्रतीक्षामा रहेको बताइन् । दुई दिनपछि गीत रेकर्ड भयो । कालीप्रसाद तथा भानुभक्तको पुरुष स्वर रहेको उक्त गीतमा मीनाको महिला स्वर रेकर्ड भयो ।
‘गीत रेकर्डिङका क्रममै यो गीतले श्रोताहरूको मन जित्छ जस्तो लागिसकेको थियो, साप्ताहिकसँगको भेटमा मीनाले भनिन्— ‘तर यसरी भाइरल भएर युट्युबमै लाखौं पटक हेरिन्छ भन्ने सोचेकी थिइनँ ।’ ठमेल बजार सार्वजनिक भएपछि अधिकांशले यसलाई ‘आइटम गीत’ पनि भने, तर मीना यो गीतलाई आइटम गीत मान्न तयार छैनन् । ‘भिजुअलका कारण आइटम भनिएको हुन सक्छ, मीना भन्छिन्— ‘तर यो लोकशैलीमा आधारित फास्ट बिटको एउटा रमाइलो गीत हो ।’ यो गीत लोकप्रिय भएपछि मीनाको व्यस्तता पनि ह्वात्तै बढेको छ । अहिले उनले थुप्रै गीतका लागि प्रस्ताव पाउन थालेकी छिन् भने चलचित्रको पाश्र्व गायन तथा स्टेज कार्यक्रममा पनि उनको सहभागिता बाक्लिएको छ ।
‘धेरैलाई मैले ठमेल बजार गीतबाटै सांगीतिक यात्रा प्रारम्भ गरेजस्तो लाग्दो रहेछ, मीना भन्छिन्— ‘सांगीतिक क्षेत्रमा डेढ दशकभन्दा लामो समय बिताइसकेकी गायिकाका रूपमा मैले उक्त गीत गाएकी हुँ ।’ ठमेल बजारको लोकप्रियतापछि आमश्रोताले आफूलाई यूट्युब तथा फेसबुकमा खोज्न थालेको तथा आफ्नो विगतका बारेमा जानकारी राख्न थालेकोमा मीनालाई असाध्यै खुसी लागेको छ । ‘बल्ल मेरो सांगीतिक यात्राका बारेमा खोजी हुन थालेको छ,’ मीना भन्छिन्— ‘पलेँटी’ श्रृंखलामा उनले प्रस्तुत गरेका गीत बल्ल युट्युबमा सुन्न थालिएको छ । एउटा संगीतकर्मीका लागि योभन्दा ठूलो उपलब्धि अरू हुन नसक्ने मीनाको तर्क छ ।
मीनाले नेपाल आउनुअघि मणिपुरमा निर्माण भएका स्थानीय भाषाका एक दर्जन चलचित्रमा गीत गाइसकेकी थिइन् । नेपाल आउनुअघि नेपाली गीत कम सुनेकी मीनाले हिन्दी तथा मणिपुरी भाषाका थुप्रै गीत गाएकी थिइन् । सितारवादन तथा हार्मोनियममा पारंगत मीना मणिपुरमै छँदा दुई भिन्न सांगीतिक समुहमा समेत आबद्ध रहिन् । झन्डै एक दशकअघि सम्पन्न नेपाल तारा–२ मा सहभागिता जनाएर उत्कृष्ट १० सम्म पुग्न सफल गायिका पनि हुन् मीना । स्वास्थ्यका कारण मीनाले उत्कृष्ट १० मा पुगेपछि नेपाली ताराको प्रतिस्पर्धालाई बीचमै रोक्नुपरेको थियो । ‘ठमेल बजार...’ गीतले युट्युबमा झन्डै ६० लाख दर्शक पाउँदा मीना भने ‘पलेँटी’ को चाँडै प्रारम्भ हुने नयाँ श्रृंखलाको तयारीमा जुटेकी छिन् ।

